जिल्ला समाचार

नेकपाको एकता तोरी र कोदोको मिश्रण जस्तो, न रोटी खान मिल्छ न तेल निस्कन्छ: भलामी

गुल्मी, १९ माघ । नेपाली काँग्रेस गुल्मीले सदरमुकाम तम्घासमा बिरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक संसद विघटन विरूद्व कालो झण्डा सहित विरोध प्रर्दशन गरेको हो । नेपाली काँग्रेसको जिल्ला स्थित पार्टी कार्यालय बीपी स्मृति भवन देखि नारा, जुलुस प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि आई कोण सभामा परिणत भएको थियो ।

नेपाली काँग्रेसका सम्पूर्ण भातृ संगठनहरूको संयुक्त आयोजनामा भएको विरोध प्रर्दशनको सभालाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद भलामीले संविधानको रक्षाका लागि लोकतन्त्रको हिमायती, प्रजातन्त्रको पर्याय नेपाली काँग्रेस सडकमा आउनु परेको बताउनुभयो ।

विश्व कोभिड–१९ संग जुधिरहेको बेला प्रधानमन्त्रीले संसद विघटन गरि संविधानको अपव्याखा गरेको आरोप लगाउनुभयो । प्रमुख अतिथि समेत रहनुभएका भलामीले नेकपाको एकता तोरी र कोदो मिश्रण जस्तो भएको उल्लेख गर्दै भन्नुभयो ‘देख्दा उस्तै–उस्तै देखिने तोरी र कोदोलाई संगै मिसाए न रोटि खान मिल्छ, न तेल निस्कन्छ।’ भलामीले कोडिभ–१९ को खर्च जुटाउन नसक्ने सरकारबाट चुनाव हुन्छ भन्ने आस गर्न नसक्ने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस क्षेत्रिय सभापति भगतसिङ खड्काले संविधानको रक्षाका लागि आन्दोलन गर्नु परेको बताउनुुभयो । वर्तमान सरकार विभिन्न काण्डै काण्डमा चुर्लुम्म डुबेकाले नेपाली जनताको शिर लज्जाले झुकेको बताउनुभयो । साथै नेकपाका नेताहरूलाई जनताको घरमा गएर माफि माग्न सुझाव दिनुभयो । काँग्रेस नेता प्रेम पुन तथा नेपाल दलित संघका जिल्ला अध्यक्ष लुम बहादुर सुनारले जनताले पाँच वर्षका लागि दिएको अभिभारा सरकारलाई पूर्णमा काम गरि पूरा गर्न आग्रह गर्नुभयो ।

नेपाल महिला संघका जिल्ला अध्यक्ष लक्ष्मी पाण्डेको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन नेपाल बिद्यार्थी संघका कार्वाहक जिल्ला अध्यक्ष राम्जी पन्थीले गर्नुभएको थियो । विरोध प्रर्दशनमा नेपाली कांग्रेसका जिल्ला स्थित नेता, विभिन्न भातृ संगठनका पदाधिकारीहरू, नेता कार्यकर्ताहरूको सयौं संख्यामा उपस्थिति रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D