जिल्ला समाचार

नागरिक मन जित्दै गुल्मी अस्पताल, ८२ बर्षे बृद्धको हर्नियाको सफल शल्यक्रिया

टोपलाल अर्याल
गुल्मी, ८ जेठ। मालिका गाउँपालिका ५ छापहिलेका ८२ बर्षीया मान बहादुर घर्ति दुई महिनादेखि पेट दुख्ने समस्याले पीडित थिए । गाउँमै घरेलु उपचार बाहेक अरु गरेनन् । समस्या झन बल्झिदै गएपछि गुल्मी अस्पताल तम्घास आए । स्वास्थ्य परिक्षणको क्रममा चिकित्सकहरुले हर्नियाको भएको पत्ता लगाए । समस्या समाधानको लागि शल्यक्रिया बाहेक अन्य विकल्प थिएन । तर घर्तिको उमेर धेरै भएकाले शल्यक्रिया धेरै जोखिमपूर्ण थियो । उनले दुखाइको पीडाले सहन नसकेर शल्यक्रिया गर्ने निधो गरे ।

गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यासहितको चिकित्सकको टोलीले जेठ १ गते सफल शल्यक्रिया गरे । हर्नियाको समस्याले पीडित घर्ति अहिले अस्पतालमै आराम गरिरहेका छन् । ‘शल्यक्रिया राम्रो भयो बुढेशकालमा सजिलोसंग बाँच्ने आश पलाएको छ,‘उनले भने,‘स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।’ घर्तिको ७५ प्रतिशत छुटमा स्वास्थ्योपचार भएको अस्पतालले जनाएको छ ।

गुल्मी अस्पताल तम्घासमा एक महिलाको अण्डबाहिनी नलीको शल्यक्रिया गर्दै चिकित्सकको टोली ।

रेसुङा नगरपालिका २ बागमारेकी शुसिला श्रेष्ट पनि अण्डबाहिनी नलीको शल्यक्रिया गरेर घरमा आराम गरिरहेकी छन् । अचानक पेट दुखेपछि बैशाख अन्तिम साता श्रेष्ट गुल्मी अस्पताल भर्ना भइन । स्वास्थ्य परिक्षणको क्रममा अण्डबाहिनी नली फुटेको पत्ता लागेपछि शल्यक्रिया गर्न परिवारको सहमत भए । डाक्टर उत्तम पच्या लगायतको टोलीले श्रेष्टको अण्डबाहिनी नलिको सफल शल्यक्रिया गरे ।

केहि महिलाहरुमा गर्भधारणपछि गर्भ आमाशयमा नगएर अण्डबाहिनी नलीमै विकसित हुने गर्दछ । जसलाई मेडिकल भाषामा ‘एक्टपिक प्रेग्नन्सी’ भन्ने गरिन्छ । बिस्तारै गर्भ विकसित भएपछि अण्डबाहिनी नली फुट्ने र अत्यधिक रगत बगेर आमाको ज्यान जान सक्ने खतरा भएकाले समयमै उपचार गर्नुको विकल्प नभएको गुुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । शल्यक्रियापछि एक पटक फलोअप समेत भएकाले अहिले शुसिलाको अवस्था राम्रो भएको उनका श्रीमान बालकृष्ण श्रेष्टले जानकारी दिए । यो आर्थिक बर्षमा श्रेष्टको जस्तै समस्या भएका तीन जना महिलाको सफल शल्यक्रिया गरिएको गुल्मी अस्पतालका सूचना अधिकारी कासीराम विकले बताए ।

गुल्मी अस्पताल तम्घासमा अहिले विभिन्न रोग र प्रसुतिका जटिल शल्यक्रिया भइरहेका छन् । केहि बर्ष पहिले रेफर सेन्टर जस्तै रहेको गुल्मी अस्पतालले आफुलाई अब्बल बनाउँदै लगेका कारण अस्पतालप्रति आम नागरिको विश्वास बढ्दै गएको छ । रेसुंगा बहुमुखी क्याम्पसका स्वबियु सभापति श्रीराम महतले पहिलो सन्तानको लागि जिल्ला बाहिर लगेर श्रीमतिको शल्यक्रिया मार्फत प्रसुति गराएका थिए । अहिले उनले गुल्मी अस्पतालमै प्रसुति गराउने निर्णय गरे । आइतबार डाक्टर उत्तम पच्यासहितको चिकित्सकको टोलीले जटिल शल्यक्रिया गरेपछि छोरा जन्मिएको महतले बताए ।

नेकपाका नेता हिरा एसीले पहिलो सन्तानका लागि श्रीमतिलाई लुम्बिनी मेडिकल कलेज प्रभास पुराएर प्रसुति गराए । पहिले प्रभास पुगेका एसीले अहिले बाहिर गएनन् । गुल्मी अस्पतालमै जटिल शल्यक्रिया मार्फत छोरी जन्मिइन् । उनले अस्पताल प्रमुख डाक्टर उत्तम पच्या र उनको टोलीको सक्रियाताको कारण अस्पतालको सेवा प्रबाह अब्बल भएको बताए । उनले त्यहि विश्वासको कारणनै आफुहरु जस्तै थुप्रैको गुल्मी अस्पताल प्रति आकर्षण बढ्दै गएको बताए । ‘अस्पतालको स्वास्थ्योपचार र अन्य सेवा प्रबाहबाट प्रभावित भएकै कारण मैले पनि श्रीमतिको प्रसुति गराएँ,’ उनले भने,‘ अहिले गाउँबाट पाल्पा बुटवल भनेर हिडेकाहरु पनि एक पटक गुल्मी अस्पताल पसेको पाएका छौ ।’

डाक्टर उत्तम पच्या नेतृत्वको टोलीले अहिले अण्डबाहिनी नली, हाइड्रोसिल, हर्निया, एपेन्डिस तथा जटिल प्रसुतिको धमाधम शल्यक्रिया गरिरहेका छन् । लकडाउनको समयमा मात्रै पनि सामान्य अवस्थामा प्रसुति नभएका २८ जना गर्भवतिहरुको शल्यक्रिया मार्फत प्रसुति गराएको अस्पतालको अन्तरङ शाखा प्रमुख सिता कार्कीले बताइन् । यो आर्थिक बर्षमा गुल्मी अस्पतालबाट पाँच सय आठ गर्भवति आमाहरु प्रसुति भएका छन् ।

गुल्मी अस्पताल तम्घासका प्रमुख उत्तम पच्याले आफुसंगै कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, समिति, जनप्रतिनिधी, दल तथा सवै माध्यमबाट सहयोग गर्ने संघ–संस्था र व्यक्तिहरुको कारण अस्पताललाई अहिलेको अवस्थामा ल्याउन सकिएको बताए । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले गुल्मी र अर्घाखाँचीका नागरिकको बिचमा अस्पतालले कमाएको विश्वासनै सवैभन्दा ठुलो सम्पति भएको बताए । यो सेवा प्रबाहलाई अझै नागरिक मैत्री बनाउँदै थप स्वास्थ्य सेवा बिस्तारको लागि सुविधा सम्पन्न अस्पताल निर्माणको काम अगाडी बढेको पराजुलीले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D