हुमाकान्त पोखरेल
गुल्मी, २८ फागुन । जिल्लाको मुसिकोट नगरपालिकामा गत वैशाखमा बन्दाबन्दै भत्किएको पुल पुनः बन्न सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर ३ र ७ जोड्ने बडिगाढ खोलामाथिको पुल बन्न सुरु भएको हो । पुस महिनाबाट निर्माण सुरु भएको पक्कि पुलको अहिलेसम्म बिम बोरिङ, रड विच्छ्याउने लगायतका काम भएका छन् । यदि अहिलेकै गतिमा पुलको काम अगाडी बढेमा जेठको अन्तिम हप्तासम्म काम सकिनेछ ।

नयाँ बर्षमा भत्कियो पुल
बडिगाढ खोलामाथि बन्दै गरेको पुल गत वैशाख १ गते आइतबार साझँ भत्किएको थियो । ढलान गरेको दुई दिनपछि भत्किएको पुलको वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले निर्माणको जिम्मा लिएको थियो । कुल ५८ मिटर लामो पुल बडिगाढ खोलामा आएको बाढीले भत्काएको हुनसक्ने अनुमान गरिएको थियो । त्यसपछि पुलको अनुगमन र अध्ययन गर्न वैशाख ३ गते मंगलबार काठमाडौबाट विज्ञ समुह गुल्मी आएको थियो । वि.स. ०७३ साल असारमा सम्झौता भएको पुल ०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । तर काम गर्दा खोलामा बाढी आउने लगायतका कारणले निर्माण सामग्री नै बगाउन थाले । अनि काठमाडौबाट समुह आई पुलको डिजाईन नै परिवर्तन गरि फेरी बनाउदा ढिलाई भएको थियो । त्यसैमाथि बाढीले बगाउदा झन एक बर्ष ढीलो भएको थियो ।
पाचँ करोडको लगानी
निर्माणको काम धमाधम सुरु भएसँगै पुल कसले र कहिले बनाउछ भन्ने बहस सकिएको छ । पहिले नै पुल बनाउने जिम्मा पाएको वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले नै पुल निर्माणको काम अगाडी बढाएको छ । कम्पनीका अनुसार पुलको नेको इन्स्योरेन्समा बीमा गरेका कारण केहि रकम इन्स्योरेस्ले बेहोरेको छ । स्वीस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रमअन्तरगत कुल पाचँ करोड १७ लाखको लागतमा पुल बन्न लागेको शव इन्जिनियर इन्द्र विलास पोख्रेलले बताए । जसमध्ये दुई करोड ७३ लाखभन्दा बढी भुक्तान भइसकेको छ ।
सदरमुकामदेखि नगरकेन्द्रसम्म १० किमि दुरी छोटो
पुल निर्माण सकिएसँगै साविकको मुसिकोटदेखि वामीसम्म आवाज–जवतमा निकै सहज हुन्छ । अहिले नगरपालिकाको केन्द्र वामिदेखि जिल्ला सदरमुकाम तम्घाससम्म पुग्न ३४ किलोमिटर यात्रा गर्नुपर्छ । तर पुल बनेसँगै उक्त यात्रामा १० किलोमिटर कमि भई २४ किलोमिटरको यात्रामा तम्घास पुगिनेछ । त्यसका साथै मुसिकोट नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा ५, ६, ७, ८ र ९ का नागरिकलाई जोड्ने मार्गको रुपमा बडिगाढ खोलाको पुल रहेको नगरप्रमुख सोमनाथ सापकोटाले बताए । जसमध्ये वडा नम्बर १ देखि ४ सम्मका नागरिकलाई नगरपालिका केन्द्रसम्म यसै पुलले जोड्ने गर्दछ । नगरप्रमुख सापकोटाले निर्माण कम्पनीले पोहोरको कमजोरी सच्याएर काम गरेकोले यस बर्ष सहजै पुल निर्माण हुनेमा आफु विश्वस्त रहेको बताए ।
स्थानीयमा आशा पलाउदै
यस बर्षको सुरुबाट नै पक्कि पुलमा आवात–जावत गर्ने सपना देखेका स्थानीय नयाँ बर्षको दिन नै पुल भत्किएपछि निराश बने । तर अहिले त्यसको एक बर्ष नपुग्दै पुल निर्माणको काम अगाडी बढेपछि स्थानीयको निराशा आशामा बदलिएको छ । ‘धेरैमा पुल बन्न केहि बर्ष लाग्छ भन्ने थियो, तर सोचेभन्दा छिटो नै काम सुरु भयो ।’ स्थानीय ६१ बर्षिया गणेशालाल भण्डारीले भने, ‘सकेसम्म छिटो बने सहज हुन्थ्यो ।’ अर्का स्थानीय खडानन्दा भण्डारीले अहिले र गत बर्षको बनोटमा फरक भएको बताए । ‘पोहोर सालको सेटिङ राम्रो थिएन, यो बर्ष केहि सुधार भएको छ ।’ उनले भने, ‘बर्षायाम सुरु नहुँदै काम सक्नुपर्छ ।’