कृषीजिल्ला समाचार

धुर्कोट गाउँपालिका मासुमा आत्मनिर्भर, यो बर्ष बेच्यो १७ सय खसी बोका

टोपलाल अर्याल
गुल्मी, १८ असार। धुर्कोट गाउँपालिका मासुमा आत्म निर्भर भएको छ । खसी, बोका र कुखुराको मासुमा आत्म निर्भर भएपछि मंगलबार भुमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मासुमा आत्म निर्भर धुर्कोट गाउँपालिका घोषणा गरिन् । गाउँपालिका भित्र आवश्यक मासुको व्यावस्थापनसंगै बाहिर समेत निर्यात हुन थालेपछि मासुमा आत्म निर्भर भएको घोषणा गरिएको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए । गाउँपालिका प्रमुख पोख्रेलले आगामी तीन बर्षमा अन्डा र दुधमा समेत गाउँपालिका आत्मनिर्भर बन्ने गरि योजना अगाडी बढेको बताए ।

यो बर्ष १७ सय खसी बोका बिक्री

गाउँपालिकाले मासुमा आत्म निर्भर बन्दै खसी बोकामा बाहिर निर्यात बढाउन थालेको छ । सबै वडाहरुबाट समुह तथा सहकारी मार्फत यो बर्षमा १७ सय खसी बोका तम्घास तथा बुटबल निर्यात गरेको गाउँपालिका पशु शाखा संयोजक श्याम कार्कीले बताए । जसबाट एक करोड ३६ हजार रुपैया किसानहरुले प्राप्त गरेका छन् । अहिले धुर्कोट गाउँपालिकामा चार सय ३३.८१ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । मंगलबार पनि १८ सय १८ किलोको खसी बोका बिक्री गरि सात लाख २५ हजार रकम किसानले प्राप्त गरेका छन् ।

अनुदानले किसान उत्साहित

धुर्कोट गाउँपालिकाले जिल्लामै पहिलो पटक कृषकलाई उत्पादनमा आधारित अनुदान वितरण ग¥यो । गाउँपालिकाले दुघमा पनि अनुदानको व्यावस्था गरेको छ । एक सय लिटर भन्दा बढि दुध उत्पादन गरि सहकारी मार्फत बिक्रि गर्ने किसानको लागि प्रति लिटर चार रुपैयाँ अनुदान पाउँछन् । भने बार्षिक रुपमा तीन वा सो भन्दा बढि खसी बोका उत्पादन गरि सहकारी मार्फत जिउदो तौलको आधारमा बिक्री गर्ने किसानलाई प्रति किलो रु २० गाउँपालिकाले अनुदान प्रदान प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले बताए । घिउ, घाँसका बिउ बेर्ना उत्पादन गर्ने किसानका लागि पनि अनुदानको व्यबस्था गाउँपालिकाले मिलाएको छ ।

पशुलाई पनि पोषण भत्ता

धुर्कोट गाउँपालिकाले दुध उत्पादन बढाउन नयाँ तरिका अपनाएको छ । जसका लागि कृत्रिम गर्भाधान गरी व्याएका पशुलाई पोषण खर्च बापत दुई हजार र बाख्रालाई एक हजार गाउँपालिकाले दिने गाउँपालिकाले जनाएको छ । त्यस्तै गाउँपालिकाले सबै वडामा बाख्रापालन कार्यक्रम संचालन गरि खोर सुधार, बोका बितरण, मासु पसल सुधार, घाँसका बिउ बेर्ना बितरण, गाई भैसीमा कृत्रिम गर्भाधान कार्यक्रम संचालन गरेको गाउँपालिका उपप्रमुख शिव बहादुर खत्रीले बताए । यस बर्षमा किसानहरुको पशु धनको सुरक्षाको लागि पशु बिमा कार्यक्रम लागु गरेको छ । जसमा किसानले तिर्नुपर्ने प्रिमियम रकमको ५० प्रतिशतले हुन आउने रकम बाख्रामा बढिमा रु ६०, गाइ भैसीमा तीन सय उपलब्ध गराई कुल १६ सय ६५ बाख्रा र पाँच सय गाई भैसीमा बिमा गराएको खत्रीले जानकारी दिए ।

व्यावसायी बन्ने होड चल्दै

धुर्कोट गाउपालिकामा किसानहरु व्यावसायीक रुपमा अगाडी बढ्ने क्रम बढ्दो छ । जसका लागि ६४ वटा बाख्रा फार्म, २१ वटा कुखुरा पालन फार्म, सात वटा मासु पसल, छ वटा गाईभैसी पालन फार्म रहेका छन् । त्यस्तै धुर्कोट गाउँपालिकामा १५ वटा समुह सहकारी रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक श्याम कार्कीले बताए । दुई वटा घाँसे नर्सरी र दुई वटा बंगुर नर्सरी दर्ता भएर संचालन रहेका छन् । त्यस्तै गाउँपालिकाले व्याबसायी किसानहरुको पहिचानको लागि किसान परिचय पत्र समेत बितरण गरेको छ । कार्कीका अनुसार परिचय पत्रमा छुट तथा थप हुन गएका किसानलाई पनि आगामि बर्ष बितरण गर्ने निति लिएको छ ।

बिचौलिया रोक्न सहकारी : मन्त्री पौडल

भुमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री आरतीले पौडेलले मासुमा आत्म निर्भर गाउँपालिका घोषणा तथा मैत्री बहुउदेश्यीय सहकारी संस्थाले संचालन गरेको सुपथ मुल्य पसलको शुभारम्भ गर्दै किसानले आफ्नो उत्पादनको मुल्य पाएकोमा दुख व्यक्त गरिन् । ‘कृषकले उत्पादनको मुल्य नपाउने, उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने, उनले भनिन,‘ बिचको बिचौलिया रोक्न सहकारी र सुपथ मुल्य पसल संचालन गर्नु परेको हो ।’ मन्त्री पौडेलले अनुदान दिएर सहयोग गर्ने स्थानीय तह र सुपथ मुल्य पसल संचालन गरेर सहयोग गर्ने मैत्री बहुउदेश्य सहकारी संस्थालाई धन्यवाद दिइन् । उनले हिजो घरको चुलो चौकोमा सिमित महिलाले अहिले समूह सहकारी खोल्ने, नेतृत्व गर्ने तथा कृषि र उद्यम मार्फत गाउँपालिकालाई विभिन्न क्षेत्रमा आत्म निर्भर गराउने पक्ष अत्यन्तै सुखद भएको बताइन् । उनले कामकाजी महिलाको काँधमा बालबालिका, बृद्धबृद्धा र कृषि भएकाले त्यस्ता महिलाका बालबालिका हेरचाह प्रदेश सरकारले शिशु स्याहार केन्द्र संचालन गर्ने बताइन् । त्यस्तै प्रदेश सांसद दिनेश पन्थी र खडग केसीले अवको आवश्यकता विकास र समृद्धि भएकाले सवै एक जुट भएर लाग्नुको बिकल्प नभएको बताए । उनीहरुले प्रदेश सरकार आवधिक, केन्द्रको १५ वार्षिय योजनासंग स्थानीय सरकारको समन्वयसंगै जनताको सपना र चाहना पुरा गर्दै लगिने बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D