जिल्ला समाचार

धुर्कोट गाउँपालिका बिपन्नलाई गाउँमै खाद्यान्न संकलन गर्दै

टोपलाल अर्याल
गुल्मी, १६ चैत। धुर्कोट गाउँपालिकाले विपन्न नागरिकका लागि खाद्यान्न संकलन गर्न सुरु गरेको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न देश लक डाउन भएको एक हप्ता पुग्न थाले । यो अवधि अझै एक हप्ता थपिएको छ । जसका कारण विपन्न नागरिकलाई पर्न सक्ने असरलाई मध्ये नजर गरेर गाउँमै खाद्यान्न संकलनको अभियान थालिएको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले बताए । उनले आफुले सक्ने गाउँको उत्पादन सहयोग गरेर कोरोनाको बिपद् न्यूनिकरणमा राज्यले गरेको लक डाउनलाई सहयोग पुराउन सवैलाई आग्रह गरेका छन् ।

नगदसहित नुन, तेल, चाम, गौ, जौ लगायतका दैनिक उपभोग्य वस्तुहरु सहयोग गर्न सकिने पोख्रेलले बताए । गाउँपालिकाले बिपद् व्यावस्थापन कोष निर्माण गरेको छ । जसमा प्रमुख र उपप्रमुखले १५ दिनको पारिश्रमीक, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यले १५ दिनको पारिश्रमीक, अधिकृत स्तरका कर्मचारीले ५ दिनको पारिश्रमीक, शिक्षकहरुले दुई दिन र सहायक स्तरका कर्मचारीले तीन पारिश्रमीक कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए ।

धुर्कोट गाउँपालिकाले कोरोना संक्रमणको न्यूनिकरणको लागि अन्य काम पनि व्यवस्थित गर्दै आएको छ । प्रत्येक वडामा क्वारेन्टाइन संचालनमा छन् । गाउँपालिकाघर एक सय वेडको क्वारेन्टाइ निर्माण गरेर आवश्यक सवै प्रबन्ध मिलाएको गाउँपालिकाका उपप्रमुख शिव बहादुर केसीले बताए । उनले अहिले भर्खरै २० सेट पिपिइ, आवश्यक माक्स, क्वारेन्टाइनमा खाद्य, सरसरफाई, स्वास्थ्योपचार लगायतका काम भएको बताए । साथै गाउँपालिकाले प्रत्येक दिन गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा उपचार गर्न आएका बिरामीको तथ्यांक संकलन गरेर सार्वजनिक गर्दै आएको छ ।

महामारी सूचना अधिकारी तोकेर स्वास्थ्यका सवै सूचना अभिलेख गर्ने तथा प्रकाशन र प्रसारण गर्ने गरिएको केसीले बताए । धुर्कोट गाउँपालिकामा भारत लगायत अन्य मुलुकबाट दुई सय १० जना नागरिक गाउँ आएको धुर्कोट गाउँपालिकाको महामारी सूचना अधिकारी डिल्लीराज पराजुलीले जानकारी दिए । अहिलेसम्म परमानन्द बहुमुखी क्याम्पसमा ५ र निन्यूखर्क माविमा ५ गरेर १० जना भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ । प्रत्येक वडामा भारतबाटै आएका धेरै भएकाले उनीहरुलाई घरमै व्यावस्थापन गर्ने काम चुनौतिपूर्ण रहेको बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D