जिल्ला समाचार

धुर्कोटको नीति तथा कार्यक्रम पेश: के-के छन् प्राथमिकतामा ?

हुमाकान्त पोखरेल
गुल्मी, ०७ असार । धुर्कोट गाउँपालिकाले आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिका प्रमुख भुपाल पोखरेलले गाउँपालिकाले हालसम्म गरेका कार्यप्रगती जानकारी गराउदैँ आगामी बर्षका लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् । गाउँपालिकामा हालसम्म ८० प्रतिशत घरलाई खरको छानामुक्त गराइएको र यसै बर्ष गाउँपालिकालाई नै खरको छानामुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ । गाउँपालिकाको वडा नंं ५ वस्तुमा जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमलाई दीगो रुपमा संचालन गर्ने, सहकारी र निजि क्षेत्रबाट विकास गरिएका फर्महरुलाई कृषिश्रम रोजगारी प्रदान गर्ने नीति तथा कार्यक्रममा समेटिएका छन् । कृषि क्षेत्रको विकासका लागि प्रत्येक वडामा माटो परिक्षण शिविर संचालन गर्ने, सुन्तला र आलुको स्टोरको लागि प्रदेश सरकारको सहकार्यमा गाउँपालिकाको केन्द्रमा ‘शित भण्डार’ निर्माण गरि यसै बर्ष संचालनमा ल्याउने तयारी रहेको छ ।

अण्डा उत्पादनमा आत्मनिर्भर
गैर सरकारी संस्थाहरुको साझेदारीमा वडा नंं १, २, ३ र ७ मा मासु उत्पादन बृद्धिका लागि बाख्रा विकास परियोजना सञ्चालन गर्ने, ३ वर्ष भित्र अण्डा उत्पादनमा जोड दिई अण्डा उत्पादनमा आत्मनिर्भर गाउँपालिका घोषणा गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । कृषि र पशुपालन क्षेत्रमा बीमाको व्यवस्थालाई निरन्तरता दिने, कृषि उत्पादनका लागि आवश्यक प्रविधि, मेसिन तथा औजारहरुलाई ५० देखि ८० प्रतिशत सम्म छुटमा किसानलाई उपलब्ध गराउने, कृत्रीम गर्भाधानबाट सुत्केरी बनेको पशु अन्तर्गत गाई र भैसीलाई दुई-दुई हजार र बाख्रालाई एक हजार बराबरको पोषण कार्याक्रमलाई निरन्तरता दिने कार्यक्रम पनि धुर्कोट गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएका छन् ।

धुर्कोटले भ्रमण बर्ष मनाउने
आगामी आर्थिक बर्षमा गाउँपालिकाले हाडहाडे स्थित धनमुडा होम स्टेलाई संचालन गर्ने, वडा नं. ७ वाग्लामा रहेको घार्मिक तथा ऐतिहासीक ‘अस्कुना’ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, वडा नं. ५ वस्तु स्थीत विचित्र गुफाको प्रचार प्रसारलाइ तिब्रता दिने र उक्त क्षेत्रको भौतिक पूर्वाधारको विकास गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएका छन् । त्यस्तै वि.सं. २०७८ लाई धुर्कोट भ्रमण वर्षका रुपमा मनाउनका लागि गाउँपालिका भित्रका पर्यटकीय, धार्मिक, ऐतिहासीक क्षेत्रको पूर्वाधार विकासमा जोड दिने गाउँपालिकाले जनाएको छ ।

२४ सै घण्टा प्रसुती सेवा
गाउँपालिकाले प्रत्येक वर्ष गाउँपालिका स्तरीय विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्ने, धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा र भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने, जैसीथोक, नयाँगाउँ, वस्तु र वाग्ला स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुती सेवा ल्याउने गाउँपालिका अध्यक्ष पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । उपभोक्ता समिति गठन गर्दा अध्यक्ष वा सचिवमध्ये एक मुख्य पद सहित समितिमा महिलाको ४५% सहभागिता सुनिश्चित गर्ने र खाता सञ्चालनमा एक जना महिलाको दस्तखत अनिवार्य गर्ने व्यवस्था गाउँपालिकाले गर्ने भएको छ ।

निश्चित समयसम्म काम सुरु नगर्ने योजनाको रकम कट्टी
गाउँपालिकाले उपभोक्ता समितिमार्फत हुने कामलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि उपभोक्ता समितिहरुलाई योजनाको सुरुमा अभिमुखिकरण र योजनाको अन्तमा अनिवार्य खर्च सार्वजनिक गर्ने व्यवस्थालागु गर्ने भएको छ । त्यस्तै दोस्रो चौमासिक सम्ममा ७० प्रतिशत भुत्तानी भएका वडा मध्येबाट उत्कृष्ट वडालाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गर्ने जनाएको छ । भने खानेपानी र भवन निर्माणको लागि ३३ प्रतिशत पेश्कि उपलब्ध गराउने पनि गाउँपालिकाले जनाएको छ । असारे विकासको परम्परालाई अन्त्य गर्नका लागि दोश्रो चौमासिकमा सम्पूर्ण योजनाहरुको अनुगमन गरि काम सुरु नगर्ने योजनाहरु खारेज गर्ने तथा दोश्रो चौमासिक सम्म लक्षित कार्य नगर्ने योजनाहरुको निश्चित रकमकट्टी गर्ने पनि गाउँपालिकाले नीति लिएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker