जिल्ला समाचार

दुर्घटना न्यूनिकरणमा सरोकारवालाहरुको प्रतिवद्धता, कार्यान्वयनमा चुनौती

हुमाकान्त पोखरेल
गुल्मी, २२ मंसिर । सवारी दुर्घटना न्यूनिकरणमा गुल्मीका सरोकारवाहरुले प्रतिवद्धता जनाएका छन् । जिल्लामा हुने सवारी दुर्घटनाको स्थिति र न्यूनिकरणका उपायका सम्बन्धमा सदरमुकाम तम्घासमा गरिएको छलफलमा जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, विभिन्न संघ संस्था, पत्रकार, यातायात व्यवसायी लगायतका सरोकारवालाहरुले दुघटना न्यूनिकरणमा प्रतिवद्धता जनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्लामा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरणको लागि विभिन्न निर्णयहरु समेत गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सहयोगमा गाउँ, समुदाय र विद्यालय स्तरमा ट्राफिक चेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ । ट्राफिक नियमको पूर्ण पालना गर्दै छत्रमा यात्रु नराख्ने, सवारी चलाएको समयमा मोबाइल फोनको प्रयोग नगर्ने, ट्रक लगायतका ढुवानीका सवारीमा यात्रु नराख्ने, सवारीलाई आवश्यक मर्मत गरेर मात्र चलाउने निर्णय गरिएको छ ।

त्यस्तै रुट परमिट नलिएका कुनैपनि प्रकारका सवारी साधनहरुको संचालनमा पूर्ण रोक तथा घुम्ति बाटोहरुमा सवारी साधन पार्कीन नगराउने, जिल्लाका सडकहरुमा राखिएका जथाभावी निर्माण सामग्री र छाडा चौपायाहरुलाई नियन्त्रण गर्ने लगायतका निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत लक्षमण पाण्डेले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख लक्षमण पराजुलीले सानो–सानो लाहावरवाहिले पनि दुर्घटना हुने गरेको भन्दै चालक र व्यवसायीलाई तालिम आवश्यक रहेको बताए ।

रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लिराज भुसालले दुर्घटना न्यूनिकरणमो आ–आफ्नो ठाउँबाट सबैले प्रयास गर्नुपर्ने धारणा राखे । पैसाले किनेको सवारी चालक अनुमति पत्रले कहिल्लै पनि राम्रो नगर्ने भन्दै उनले चालक र यातायात व्यवसायीले अनुशासनपूर्वक काम गर्नुपर्नेमा जोड दिए । नेपाली काङ्ग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठले सवारी चालकहरुलाई अनिवार्य रुपमा पोशाकको व्यवस्था गर्नुपर्ने बताए । त्यसका साथै उनले मापसे वा ट्राफिक नियम जो–सुकैले उल्लघंन गरेपनि छुटाउन कसैलाई पनि दवाव नदिएर अनुसन्धानमा सहयोग पु¥र्याउने प्रतिवद्धता जायर गरे ।

दुर्घटनामा चालक मुख्य दोषी

कार्यक्रममा धारणा राख्ने अधिकाशं व्यक्तिहरुले अधिकाशं दुर्घटनामा चालक नै मुख्य दोषि रहने धारणा राखे । गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले गल्ति गर्ने चालकलाई ठाउँमै कारवाहिको व्यवस्था हुनुपर्ने बताए । क्षमताभन्दा बढी यात्रु राख्ने, एक हजार तिरेपछि छुट पाइन्छ भन्ने मान्यताले पनि नागरिकले असुरक्षित यात्रा गर्नु परेको उनले बताए । तम्घासमै मोटरसाइकल वर्कसप संचालन गरेका भेषराज पन्थीले सवारी चालकहरुले अगाडी दुईजना यात्रु र चालक बस्न मिल्ने भएपनि चालकहरुले आफुसहित तीनजना राख्ने गरेको बताए । त्यसका साथै उनले तम्घासमा अव्यवस्थित ट्राफिक व्यवस्थापन, अव्यवस्थित लोड–अनलोडले पनि समस्या परको बताए ।

कार्यान्वयनमा चुनौती

कुनै पनि विषयवस्तु वा समस्यामाथि निर्णय गर्नु र त्यसको कार्यान्वयन नगर्नु कुनै नौलो कुरा होइन् । गुल्मीको सन्दर्भमा प्रशासन कार्यालयको अगुवाईमा भएको ट्राफिक र यातायात व्यवस्थापनका सम्बन्धमा भएको निर्णय पनि यसैको सिकार बन्न पुगेको छ । गुल्मीमा गत भदौमा जिल्लाको रिडी–तम्घास सडक बाहेकका सडकमा चल्ने सवारीको भाडादर घटाइयो । त्यस्तै विद्यार्थीलाई छुट, सामान ढुवानी गर्ने उदेश्यले खरिद गरिएका सवारीले यात्रु बोक्न नपाउने लगायतका निर्णय पनि जिल्लाका सरोकारवालाहरुकै रोहवरमा प्रशासन कार्यालयले गरेको थयो । तर अहिले केहि ठाउँमा भाडादर लागु हुनुभन्दा बाहेक अन्य निर्णयहरु कार्यान्वयन हुन सकेका छैनन् । ‘कार्यान्वयन गर्नेभए निर्णय गरौँ, नभए कर्तव्य नै पुरा गरेजस्तो नगरौँ ।’ पश्चिम नेपाल बस व्यवसायी समितिका प्रतिनिधि महेश काउछाले भने, ‘गत भदौमा गरेका धेरै निर्णय अलपत्र छन् ।’ काउछाले सबै आ–आफ्नो ठाउँबाट सक्रिय नभए यो निर्णय कार्यान्वयनमा पनि चुनौति रहेको धारणा राखे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D