जिल्ला समाचार

दक्षिण कोरियाबाट इस्माका पहिरो पीडितलाई आर्थिक सहयोग, बिदेशबाट मात्र झन्डै १० लाख रुपैँया सहयोग जुट्यो

मनोज कार्की
गुल्मी, भाद्र २ । गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले गुल्मीको इस्मा गाउँपालिका वडा न १ का पहिरो पीडितलाई राहत तथा आर्थिक सहयोग गरेको छ ।

समितिको पहलमा संकलन गरिएको २ लाख ८४ हजार रुपैँया मंगलबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । गत असार १८ गते अविरल वर्षाले गएको पहिरोका कारण इस्मामा २ जनाको मृत्यु भएको थियो भने करिब २०० घर बिस्थापित भएका थिए ।

गुल्मी स्थाई घर भई हाल रोजगारीको सिलसिलमा दक्षिण कोरियामा रहेका यम खत्री र चन्द्र रानाको पहलमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्वारा संकलन गरि पठाइएको रकम रेडियो रेसुङ्गाकी स्टेशन म्यानेजर अनिता खत्री मार्फत वडा अध्यक्ष चुरा बहादुर खत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

दक्षिण कोरियाबाट संकलनगरी पठाइएको रकम बाढि पहिरो पीडितहरुलाई क, ख र ग बर्गमा वर्गीकरण गरि हस्तान्तरण गरिएको वडा अध्यक्ष चुरा बहादुर खत्रीले जानकारी दिनुभयो । “क” वर्गका २ घरलाई ८ हजार रुपैँया, “ख” वर्गका ३४ घरलाई ५ हजार ५ सय रुपैँया र “ग” वर्गका २३ घरलाई ३ हजार ५ सयका दरले नगद २ लाख ८४ हजार रुपैँया प्रदान गरिएको छ ।

वडाध्यक्ष खत्रीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा त्यस वडाका वडा सचिव भिमकान्त शर्मा रेग्मीको स्वागत मन्तव्यमा नेकपाका स्थानीय नेता नारायण कुँवरले कार्यक्रम सञ्चालन गरेका थिए ।

कहाँ बाट कति आर्थिक सहयोग

इस्माका बाढि पहिरो पीडितलाई हाल सम्म प्रवासमा रहने नेपालीहरु र संघसँस्थाहरुबाट झन्डै १० लाख रुपैँया सहयोग जुटिसकेको छ । इस्माली समाज जापनबाट २ लाख ९२ हजार, दक्षिण कोरियाबाट दिपेश खत्री, वसन्त खत्री र विकल्प महतको पहलमा २ लाख ९४ हजार रुपैँया सहयोग जुटेको छ । त्यस्तै वामी सेवा समाज जापान मु.न.पाबाट २२ हजार, गुल्मी सेवा समाज कतारबाट ५१ हजार १ सय १५, यु.के खेलकुद समाजबाट ३२ हजार र दक्षिण कोरियाबाट यम खत्री र चन्द्र रानाको पहलमा २ लाख ८४ हजार गरी हालसम्म जम्मा ९ लाख ७५ हजार १ सय ११ रुपैँया आर्थिक सहयोग भएको वडा कार्यालयले जानकारी दिएको छ।

नेपाली कांग्रेस गुल्मी जिल्ला कार्य समिती, नेपाली कांग्रेस गुल्मी काठमाडौ सम्पर्क समिती, आपत्कालिन उद्वार सँस्था इस्मा २ छल्दिटार, जिल्ला बिपत ब्याबस्थापन समिती, नेपाल सिभिल बैंक प्रदेश ५ र इस्मा गाउँपालिका लगाएतले बाढी पहिरो पीडितलाई खाद्यान्न, त्रिपाल, पानी लगायतका बन्दोबस्तीका सामान बितरण गरेका छ्न् । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले यस्तो बिपत्तिको समयमा सहयोग गर्न्नुहुने सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D