जिल्ला समाचार

झण्डै १८ घण्टापछि रेसुङ्गा क्षेत्रको आगोलागी नियन्त्रणमा

टोपलाल अर्याल
गुल्मी, ३० फागुन। गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा भएको भीषण आगलागी झण्डै १८ घण्टामा नियन्त्रणमा आएको छ । रेसुङ्गा नगरपालिका १४ पराल्मीको फुलबारी सामुदायिक वनबाट शुरु भएको आगो अहिले नियन्त्रणमा आएको शसस्त्र प्रहरी वल गुल्म, गुल्मीका शसस्त्र प्रहरी निरिक्षक बासुदेव कुवरले बताए । रेसुंगा नगरपालिका ३ भाडगाउँका अध्यक्ष थम्मन केशीका अनुसार मंगलबार साँझ ५ बजेबाट लागेको आगोले रेसुंगाको साउने क्षेत्रको अधिकांश वन क्षेत्र नष्ट गरेको छ ।

आगोले एक सय ५० बढि गाई भएको रेसुङ्गाको गौशाला समेत उच्च जोखिममा रहेको थियो । राती सवै शक्ति केन्द्रित गरेर अग्नी रेखा निर्माण गरि गौशाला क्षति हुनबाट जोगाएको केशीले बताए । सुख्खा मौसम, पानी तथा जनशक्तिको अभाव, हावाहुरी र सल्लेरी क्षेत्र भएकाले बुधबार बिहानसम्म आगो नियन्त्रण बाहिर रहेको उनले जानकारी दिए । मंगलबार साँझ देखिनै प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधी, जिल्ला वन कार्यालय र स्थानीयको आगोलागी नियन्त्रणको प्रयास गरेका थिए ।

बर्षैपिच्छे आगोलागी तर समाधान छैन

तीन हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुंगा क्षेत्रको अधिकांश भू–भाग प्रत्येक बर्ष डढेलोले ध्वस्त भएको हुने गरेको छ । आगोले प्रत्येक बर्ष वन क्षेत्रभित्रका पशुपंक्षी, महत्वपूर्ण जडीबुटी, रुख विरुवा जलेर नष्ट हुने गरेका छन् । रेसुंगा क्षेत्रबाट प्रत्यक्ष लाभ उठाने बलिथुम, गौडाकोट, तम्घास, सिमीचौर र दुबीचौर, भाडगाउँ, पराल्मी, अर्खलेका अधिकांश स्थानीय बासिन्दा रमिते बनेर बस्ने गरेको सुरक्षाकर्मीहरुले बताउने गरेका छन् ।

प्रत्येक पटक आगोलागीले रेडियो नेपाल, एनसेल, भ्यु टावर तथा यज्ञशाला लगायतका महत्वपुर्ण मन्दिर र भौतिक संरचना जोखिममा पर्ने गरेको रेसुङ्गा संरक्षण समितिका पूर्व अध्यक्ष रुद्र बहादुर भुजेलले बताए । आगोले रेसुङ्गा धरोहर वरिपरिका सम्पूर्ण भाग डढाएर कुरूप बनाउँछ । आगोलागी सम्बन्धी जनचेतना अभाव र हेलचेक्रयाईँका कारण हरेक वर्ष आगलागी हुने गरेको छ । रेसुंगामा ऐतिहासिक मन्दिर, पौवालगायत संरचना रहेपनि प्रत्येक वर्ष लाग्ने आगोको कारण बचाउन मुस्किल परेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसालले बताए ।

खानेपानी र बन्यजन्तुको अस्थित्व नै संकटमा

लागो लागेपछि धेरै समय नियन्त्रणमा नआउने रेसुङ्गामा समस्या पनि रहँदै आएको छ । धेरै समय नियन्त्रणमा नआउँदा कैयौँ जडीबुटी तथा बन्यजन्तुको अस्तित्व संकटमा परेको छ । जिल्लाका धेरै फोरममा रेसुंगा क्षेत्रलाई प्रयोग गरेर मनग्य पर्यटक ल्याउने बिषयमा छलफल भएपनि ठोस निकास आउँदैन । रेसुंगाको मुहानको पानीबाट वरिपरिका एक दर्जनबढी साविकका गाविस र करिब ३१ किमि टाढा वलेटक्सार सम्मका ७० हजार बढी जनता आश्रित रहेको भए पनि जंगल नष्ट हुँदै जाँदा खानेपानीको समस्या पर्न थालेको स्थानीय ओम बहादुर थापा क्षेत्रीले बताए ।

६५ हजार प्रकारका फूल फूल्ने प्रजातिका वनस्पति, एक हजार आठ सय २२ प्रजातिका ढुसी, चार सय ६५ प्रजातिका झ्याउ, छ सय ८७ प्रजातिका एलगी, ६२ प्रजातिका चरा, छ सय ४० प्रजातिका पुतली, छ हजारभन्दा बढी प्रजातिका मछाहरु, एक सय ४७ प्रजातिका घस्रिने जीवजन्तु, ४३ प्रकारका उभयचर, एक सय ४४ प्रकारका माकुराहरू, एक सय ८१ प्रकारका स्तनधारीहरू र अन्य किटपतंगहरू पाइने रुरु रेसुङ्गा संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी निर्देशक नरेश भण्डारीले बताए । जैविक विविधताको धनी रेसुंगामा बर्सेनि लाग्ने आगोले यिनीहरूको अस्तित्वमा संकट परेको छ । यस क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरे पनि अहिलेसम्म आगो लगाउनेलाई प्रसासनले पक्राउ गर्न सकेको छैन ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D