कृषीजिल्ला समाचार

जागिर भन्दा कृषि प्यारो

गंगा खड्का
गुल्मी । आजभोली धेरैजसोले सानोतिनो भएपनि जागिर होस् भन्ने चाहान्छन् । अधिकांशले पैसा थोरै भएपनि अफिसको जागिरको सपना देखेर भौंतारिएका भेटिन्छन् । तर,त्यस्ता उदाहरण हुन् तारा बहादुर राउत । जसले दिनभर विद्यालयमा काम गर्छन् । विहान सांझ कृषि खेतीमा समय दिन्छन् ।

तरकारी खेतीमा व्यस्त तारा बहादुर राउत । तस्विर : गंगा खड्का

मालिका गाउँपालिका–५ छापहिलेका राउत गाउँकै जमलपोखरा माध्यामिक विद्यालयमा कर्मचारीको रुपमा कार्यरत छन् । उनले उक्त विद्यालयमा काम गर्न थालेको झण्डै दुई दशक हुन थालेको बताए । विद्यालयको जागिरले उनको परिवार पाल्न समेत मुश्किल पर्छ । पत्नी विष्णु ,४ छोरी र एक छोरा सहित उनको परिवारमा ६ जनाको परिवार छ । ६ जनाको परिवारका लागि विद्यालयको जागिरले छेउ नसुनेपछि उनले व्यवसायिक कृषि खेती गर्ने सोंच बनाएको बताउँछन् ।

तरकारी खेतीमा व्यस्त तारा बहादुर राउत । तस्विर : गंगा खड्का

४२ वर्षिय राउतले व्यवसायिक कृषि खेती गर्न थालेको ३ वर्ष भयो । चाडपर्व आउँदा कसरी मिठो खुवाउने र छोराछोरीको रहर पुरा गर्ने भन्ने चिन्ताले विरक्तिएका राउतलाई यो तिन वर्षमा खुसीले चाडवाड मनाउन पाएको सुनाए । ‘स्कुलको जागिरले खान पनि पुग्दैन,राउत भन्छन्,‘कृषितिर लागेपछि चाडवाड पनि खुसीले मनाएका छा ैं ।’ मेहनत गरे आफ्नै ठाउँमा सुन फलाउन सकिन्छ भन्ने सोंचले अगाडी बढेका राउतले झण्डै २ रोपनी जग्गामा बन्दा गोपी,फुलगोपी,लसुन,प्याज,काउली,भण्टा,खुर्सानी लगायतका तरकारी फलाएका छन् । वेमौसमी तरकारी उत्पादन गरेर गाउँमै बेच्ने गरेको उनले सुनाए ।

२० हजार लगानी गरेर व्यवसायिक कृषि खेतीमा लागेका उनले हाल वार्षिक ३ देखी ४ लाखसम्म आम्दानी हुने गरेको बताए ।

दिनभर राउत विद्यालयमा हुन्छन् । विहान सांझ घर अगाडीको तरकारी खेतीमै समय विताउँछन् । उनको यो मेहनतमा साथ पत्नी विष्णुले दिन्छिन् । उनीहरु दुवै जनाले कृषिखेतीमा गरेको मेहनत देखेर गाउँले पनि दंग पर्ने गर्छन् । राउतले तरकारी खेती मात्रै होईन् । केराखेती गरेर मनग्गे आम्दानी गर्ने गरेको बताए । उक्त केराखेती भित्रै उनले फुलगोपी,सेमी लगायत अन्य तरकारी फलाउने गरेका छन् । शुरुमा अन्यठाउँबाट विउ किनेर ल्याएका उनले अहिले आफै विउ उत्पादन गर्ने गरेका छन् ।

जग्गाको खोला किनारमा अम्रिसोखेती छ । अम्रिसोको कुचोलाई प्रतिकुचो एक सय रुपैयाँमा बेच्ने गरेको सुनाए । उनले २ वटा राँगा समेत पालेका छन् । राँगा पालनबाट समेत वार्षिक आधा लाख कमाउने गरेको बताए । उनका अनुसार आफ्नो जग्गाले नपुगेर छिमेकीको बाँझो जग्गा बन्दकी किनेर अदुवा,वेसार,मकै र कोदो खेती गर्ने गरेको सुनाए । ‘सरकारी निकायको केही सहयोग छैन,उनले भने,‘सहयोग भए सजिलो हुने थियो ।’ उनका अनुसार विद्यालयको अस्थायी जागिरभन्दा कृषिखेतीमै मन लोभिएको सुनाए । राउतले गाउँपालिकाबाट ४२ हजार पाँच सय रुपैयाँ तिरेर ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर प्राप्त गरेका छन् । उक्त ट्याक्टरले जोत्दा माटो धुलो हुने भएकाले खेती राम्रो भएको उनको अनुभव छ । उत्पादन गरेका तरकारी बेच्न उनलाई बजार खोज्न पर्देन । तरकारी,केरा,बेसार लगायतका कृषिजन्य सामग्री गाउँमै विक्रि हुने गरेको राउतले बताए । अर्गानिक तरकारी गाउँमै पाउँदा खुसी लागेको स्थानीय सावित्री केसीले बताउँछिन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D