जिल्ला समाचार

जनताको सुरक्षा गर्ने प्रहरीको भवन छैन, गुल्मीका १ दर्जन चौकी अर्काको घरमा

शिवलाल सुवेदी
गुल्मी, १२ माघ । इलाका प्रहरी कार्यलय चन्द्रकोट गुल्मीलाई बस्नको लागि आफ्नै भवन छैन । कार्यालयले स्थानीय एक ब्यक्तिको घरमा मासिक ३ हजार भाडा तिर्दै आएको छ । चन्द्रकोट जस्तै प्रहरी चौकी भुर्तुङ्गले पनि मासिक तिन हजार रुपैँया भाडा तिरेर स्थानियको घरमा गुजारा चलाइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मी अन्र्तगत जिल्लामा अहिले १८ वटा इलाका प्रहरी चौकी तथा प्रहरी चौकि छन् । जसमध्ये १२ वटाको आफ्नै भवन छैन भने ६ वटा चौकीहरुको मात्रै आफ्नै भवन छ ।

प्रहरी कार्यलयहरु कसैको निजी घरमा भाडा तिरेर, कुनै सार्वजनिक जग्गामा बनाइएका भवनमा वा कुनै स्थानियले बनाइदिएका घरमा गुजारा चलाइरहेका छन् । अहिले ४ वटा प्रहरी कार्यलयले भाडामा कार्यलय चलाईरहेका छन् भने पाचँ वटा प्रहरी कार्यलयहरु विभिन्न गाविस भवन, कृषि भवन आदिमा बस्दै आइरहेका छन् ।

शान्ति सुरक्षा दिने प्रहरीको आफ्नै भवन नहुदाँ कार्य सम्पादनमा समस्या परेको छ । आफ्नै भवन नहुदाँ जनताको सुरक्षा गर्ने प्रहरीहरु भाडाका घरमा बसेर काम गर्न वाध्य छन । त्यसैगरि प्रहरी चौकी पूर्तिघाट मासिक दुई हजार पाचँ सय र प्रहरी चौकी इश्माले मासिक तिन हजार पाचँ सयमा घर भाडामा लिइ शान्ति सुरक्षा दिने काम गरिरहेका छन् । प्रहरी चौकी चारपाला भने स्थानियले जनश्रमदानमा बनाइदिएको एकछाप्रे भवनमा बस्दै आइरहेको छ ।

प्रहरी चौकी हस्तिचौर पनि त्यहाँको कृषि भवन, प्रहरी चौकी श्रृङ्गा स्वास्थ्य केन्द्रको भवन र प्रहरी चौकी मजुवा स्थानिय स्वास्थ्य चौकीको भवनमा आफ्नो गुजारा चलाएको डिएसपी गंगा बहादुर थापाले जानकारी दिए । प्रहरी चौकी पौदी अमराईको पनि आफ्नै भवन नहुँदा तत्कालिन गा.वि.स. भवन अर्थात अहिलेको वडा कार्यलयमा बसेर काम गरिरहेको छ ।

यसरी संचालन गरिएका इलाका प्रहरी चौकी तथा प्रहरी चौकिले मासिक कुल १३ हजार घरभाडा बुझाउदै आएका छन । बार्षिक एक लाख ५६ हजार प्रहरीले घर भाडा बुझाउने गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

आफ्नै घर नभएका इलाका प्रहरी चौकी र प्रहरी चौकिको आफ्नै जग्गा भएपनि आर्थिक अभावले उनीहरुले भवन बनाउन सकिरहेका छैनन् । यसरी घर भाडामा बसेका प्रहरी कार्यलयहरु पनि सुरक्षित छैनन् । गाउँघरमा पुरानो पुरानो शैलीमा बनेका ढुङ्गा, माटोले बनेका घरहरु निकै जिर्ण अवस्थामा रहेका छन् । यसरी आफ्नै भवन नहुदाँ प्रहरी आफै असुरक्षित भएको प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D