जिल्ला समाचार

चन्दा उठाएर गुल्मीको गाउँमा एम्बुलेन्स

बुटबल, फागुन २० । गुल्मी मालिका गाउँपालिका ४ अर्खबाङ रुपन्देही सम्पर्क समाजले एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । समाजको सकृयतामा १ सय ७० भन्दा बढी सहयोग दाताहरुबाट रकम संकलन गरी १२ लाख ५० हजार लागतमा एम्बुलेन्स खरिद गरिएको समाजका अध्यक्ष विरेन्द्र अर्यालले जानकारी दिए ।

गाउँमा सुत्केरी हुने महिला, भीरबाट लड्ने तथा तत्काल अस्पताल पुर्याउनुपर्ने बिरामीहरुका लागि गाउँमा एम्बुलेन्स सुविधा नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले एम्बुलेन्स सञ्चालनमा ल्याउन थालिएको अध्यक्ष अर्यालले बताए ।

एम्बुलेन्स अर्खबङ स्वास्थ्य चौकीले व्यवस्थापन गर्नेगरी हस्तान्तरण गरिने समाजका सल्लाहकार उमेश रेग्मीले बताए । समाजले फागुन २५ गते बृहत् सांस्कृतिक कार्यक्रम गरी एम्बुलेन्स हस्तान्तरण गर्ने भएको छ । गाउँमा पहिलोपटक एम्बुलेन्स सुविधा पुगेको खुसियाली साट्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरी राष्ट्रिय स्तरका कलाकारहरुबाट मनोरञ्जन प्रदान गरिने अध्यक्ष अर्यालले बताए ।

अर्खबाङमा एम्बुलेन्स सेवा नहुँदा बिरामीहरु बस तथा जीपमा कष्टकर यात्रा गरेर स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता थियो । अर्खबाङ गुल्मीको सदरमुकाम तम्घासबाट ४० किलोमिटर पश्चिममा पर्छ । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा एम्बुलेन्स किन्नका लागि आर्थिक सहयोग गर्ने सबै सहयोगदाता र अर्खबाङ ४ का ९४ वर्षीय वृद्ध सविराम बुढालाई पनि सम्मान गर्ने समाजका उपाध्यक्ष प्रेमबहादुर अर्यालले बताए । -लोकान्तर डट कमबाट

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D