जिल्ला समाचार

घरघरमा जेष्ठ नागरिक स्वास्थ्य सेवा सुरु

टोपलाल अर्याल
गुल्मी, २५ माघ । गुल्मीमा घरघरमा जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम पुन संचालनमा आएको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालय मार्फत १२ जिल्लामा यो कार्यक्रम लागू भएको छ । प्रदेश ५ का १२ जिल्लालाई तीन बर्गमा बिभाजन गरिएको छ ।

‘क’ बर्गमा रुकुम पुर्व, ‘ख’ बर्गमा रोल्पा, प्युठान, दाङ, अर्घाखाँची, गुल्मी र पाल्पामा यो कार्यक्रम कार्यान्वयन गरिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानिश्वर प्रसाद शर्माले बताए । त्यस्तै ‘ग’ बर्गमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियामा यो कार्यक्रम संचालक हुने शर्माले बताए । ‘ख’ र ‘ग’ बर्गका जिल्लामा भने सदरमुकामको स्थानीय तहमा यो कार्यक्रम संचालन हुने छैन । प्रदेश ५ को समाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा कार्यक्रम संचालन सम्बन्धि निर्देशिका ०७६ जारी गरेर कार्यक्रम अगाडी बढाएको छ । यो कार्यक्रमले ८४ बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई घरघरमा निशुल्क स्वास्थ्य सेवाको पहुँच पुराइ उनीहरुको जीवनलाई सुबिधायुक्त बनाउने उदेश्य लिएको छ ।

यो कार्यक्रम मार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीले प्रत्येक ८४ बर्ष पुगेका जेष्ठ नागरिक घरमा पुगेर सवै प्रकारका स्वास्थ्य परामर्श, स्वास्थ्य जाँच र औषधी वितरण हुने कार्यक्रम संयोजक लक्ष्मण पन्थीले बताए । अहिले अभिमुखिकरण र अन्य व्यावस्थापकीय काम भइरहेको छ । दुई चरण जेष्ठ नागरिकले सेवा प्राप्त गर्नेछन् । पहिलो चरणमा चैतको पहिलो र दोस्रो हप्ता तथा दोस्रो चरणमा जेठको पहिलो र दोस्रो हप्ता जेष्ठ नागरिकहरुको घरघरमा गएर सेवा प्रदान गरिने पन्थीले बताए ।

कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण प्रदेश स्तरबाट मन्त्रालय, स्वास्थ्य निर्देशनालय,स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित आवश्यकताको आधारमा जनप्रतिनिधिले गर्ने निर्देशिकामा उल्लेख गरिएको छ । यो कार्यक्रम गत बर्ष करिब डेढ महिना मात्रै संचालन भएको थियो । कार्यक्रम अत्यन्तै प्रभाबकारी भए पनि निरन्तरता नपाएको प्रती स्वास्थ्यकर्मी र जेष्ठ नागरिकहरुको गुनासो रहेको छ । लोकप्रियताको लागि मात्र कार्यक्रम संचालन हुने तर निरन्तर अगाडी बढाउन नसक्ने स्थितिले जेष्ठ नागरिकलाई निराश बनाएको गुल्मी दरवार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण प्रसाद अर्यालले बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी उद्धव पन्थीले सेवा प्राप्त गर्ने प्रक्रियासंगै अधिकतम उदेश्य प्राप्त गर्न स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले स्थानीय तहको समन्वयले मात्र यो कार्यक्रम प्रभाबकारी हुने बताए । जनतासंग सवैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले यो कार्यक्रममा आफ्नै नीति कार्यक्रममा समावेश गर्न स्थानीय तहलाई सुझाव दिए । उनले यो कार्यक्रम दुरदराजमा अत्यन्तै आवश्यक भएकाले स्वास्थ्यकर्मीले आफ्नो सुबिधालाई मात्रै नभए कार्यक्रमको उदेश्य अनुसार जेष्ठ नागरिकको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर काम गर्न अनुरोध गरे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D