जिल्ला समाचार

ग्राहकसंग आत्मियता जोडदै बिद्युत

टोपलाल अर्याल

गुल्मी, २२ कार्तिक। रुरु क्षेत्र गाउँपालिका ४ बलेटक्सारका शोभाखर ज्ञवाली ८७ बर्षका भए । उनी बलेटक्सार सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समितिका ग्राहक हुन् । बलेटक्सार सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समितिको बिद्युत प्रयोग गर्छन् । बिद्युत प्रयोग गरे बापत युनिटका आधारमा महसुल बुझाउँछन् । केहि दिन अघि श्रीमति ६५ बर्षीया हरिकला ज्ञवालीको मृत्यु भयो । ग्राहकको दुखमा समवेदना दिन समितिका प्रतिनिधी ज्ञवालीको घर पुगे । त्यति मात्रै गरेनन् । एक बर्षको बिद्युत महसुल समेत मिनाह गरे । ग्रहाकको मन जित्नकै लागि बलेटक्सार सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समितिले गरेको यो नमुना काम हो ।

बलेटक्सार सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समितिको कार्यालय ।

एक सय ७४ ग्रहाकको बार्षिक शुल्क मिनाह

बलेटक्सार सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समितिले ग्राहकको मन जित्न १२ बर्षदेखि दिवंगत परिवालाई बार्षिक बिद्युत शुल्कमा छुट दिदै आएकोे छ । ०६४ सालबाट कुनै ग्रहाकका सदस्यको मृत्यु भएमा एक बर्षसम्मको बिद्युत महसुल मिनाह गर्दै आएको संस्थाका अध्यक्ष चक्रपाणी गौतमले बताए । पाल्पाको लघुवामा सडक दुर्घटनामा परेर ज्यान गुमाएकी बलेटक्सारकै सावित्रादेवी सडकाको परिवारलाई ०६४ साल भदौ ३ गते पहिला यो सुविधान प्रदान गरिएको थियो । रुरु क्षेत्र गाउँपालिका ५ बम्घा सौरीबोटका भिम बहादुर विक पनि सोहि बिद्युत उपभोक्ता समितिका ग्राहक हुन् ।

चौरासी बर्ष पुगेपछि बलेटक्सार सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समितिबाट सम्मानीत रुरु क्षेत्र गाउँपालिका ४ का शोभाखर ज्ञवाली ।

बिद्युतले अहिलेसम्म झुपडी उज्यालो थियो । एक महिना अघि श्रीमति देवकला खसिन । विक दुखमै थिए । समिति पदाधिकारी घरमै पुगे, समवेदना र एक बर्षको बिद्युत महसुल छुट दिए । त्यो सहयोगले आफुलाई मनमा ठुलो उर्जा थपेको विकले बताए । सोहि ठाउँका गीर बहादु विकले पनि समिति मार्फत कालो तार पाएका छन् । जसको सहयोगले घरमै बक्ति बालेका छन् । बलेटक्सार सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समितिका पाँच सय ४० ग्राहक छन् । समितिका ग्राहक मध्येका परिवारका एक सय ७४ जना दिवंगत भएका छन् । उनीहरुको एक बर्षको बिद्युत महसुल एक लाख ३९ हजार दुई सय समितिले खर्च गरेको अध्यक्ष गौतमले बताए ।

चौरासी पुजा गर्ने ग्रहाक सम्मान

बलेटक्सार सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समितिले ग्राहक माझ अर्को उदाहरणीय कार्य गरेको छ । त्यो हो जेष्ठ नागरिक सम्मान । समितिले ग्राहक मध्ये चौरासी पुजा गर्ने बृद्धबृद्धालाई घरमै पुगेर अभिनन्दन गर्ने गरेको छ । जसका कारण उपभोक्ताहरुमा संस्था प्रतिको माया र सद्भाव बृद्धि हुदै गएको शोभाखर ज्ञवालीले बताए । ज्ञवालीले चौरासी पुजा गरेका पनि दुई बर्ष भए । घरमा सम्मान पत्र झुण्डिएको छ । त्यसैले पनि संस्था प्रति मनमा आत्मसम्मान पलाएको छ । ‘बाँचेकाले घरमै सम्मान मिल्यो, बिद्युत उपभोक्ता समिति सुख र दुखमा संगै पाएँ,’उनले भने,‘ अझै प्रगती भएको देख्न पाइयोस् ।’ बलेटक्सार सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समितिले ०६६ सालबाट जेष्ठ नागरिक सम्मान थालेको हो । अहिलेसम्म ३० जना जेष्ठ नागरिकलाई संस्थाले सम्मान गरेको बलेटक्सार सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समितिका कार्यालय सहायक दुर्गा प्रसाद ज्ञवालीले जानकारी दिए ।

घरदैलोको सेवाले उपभोक्ता खुसी

बलेटक्सार सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समितिले ग्राहकहरुलाई घर–घरमै बिद्युत महसुल बुझाउने सुविधा समेत प्रदान गरेको छ । घरमै मुहसुल बुझाउन पाउँदा एकातिर उपभोक्ताको समयको समेत बचत भएको छ । भने अर्कोतर्फ समयमै महसुल बुझाउँदा बिलम्ब शुल्क तिर्नु पर्दैन् । पछिल्लो समय गाउँमा महिलाहरुलेनै व्यावहार चलाएका छन् । घरमै बिद्युत महसुल बुझाउँन पाउँदा काम बिताएर दुई÷तीन घण्टाको बाटो कार्यालय जानु नपर्ने बलेटक्सारकी रमा थापाले बताइन् । उनले बलेटक्सार सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समितिले ठुलै समस्या बाहेक कहिल्यै पनि बिजुलीको बारेमा हेलचेक्रयाइँ गरेको नपाएको प्रतिक्रिया दिइन् ।

चुस्त दुरुस्त लेखा प्रणाली

बलेटक्सार सामुदायिक ग्रामीण बिद्युतिकरण उपभोक्ता समिति ०६० सालमा स्थापना भएको हो । यो संस्थाले औपचारिक रुपमा ०६३ सालमा तत्कालिन पर्यटन मन्त्री प्रदिप कुमार ज्ञवालीले उद्घाटन गरेपछि नियमित सेवा प्रबाह थालेको हो । यो संस्थाले नियमित सेवा प्रवाहसंगै लेखा प्रणालीलाई पनि चुस्त दुरुस्त राखेको लेखा परिक्षक कर्ण बहादुर जिसीले बताए । आम्दानी र खर्चको विवरण महिनैपिच्छे सार्वजनिक गर्ने गरिएको परिक्षक जिसीले जानकारी दिए । समितिले बिद्युत खरिद बिक्री, शाखा लाइन तथा ग्रहाकका बिद्युतीय समस्या मर्मत संभार र बिद्युत महसुल उठाउने लगायतका काम गर्दै आएको छ । समिति मार्फत बिद्युत उपभोग गर्दा सामान्य तार मर्मत गर्न परे पनि प्राधिकरण गुहार्नुपर्ने बाध्यता र महसुल बुझाउन सदरमुकाम पुग्ने बाध्यताको अन्त्य भएको स्थानीय क्रृङ्गेश्वर एफएमका स्टेशन म्यानेजर दामोदर ज्ञवालीले बताए ।

क्षमता विकासमा सघाउँदै महासंघ

साुमदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघले स्थानीय समुहहरुलाई क्षमता विकासमा सघाउ पुराउँदै आएको छ । महासंघका केन्द्रिय अध्यक्ष नारायण ज्ञवालीले ग्रामीण विद्युतिकरण उपभोक्ता समितिलाई नीतिगत कुरासंगै कार्यसंचालनमा जवाफदेहिता, पारदर्शिता र अन्य क्षमता विकासको क्षेत्रमा सहयोग पुराउँदै आएको बताए । उनले अध्ययन अवलोकन भम्रण, तालिम, गोष्ठि तथा बिद्युतीय सामग्रीहरुको खरिदमा समन्वयात्मक भुमिका महासंघको रहेको ज्ञवालीले बताए । ‘सवै ग्रामीण विद्युतिकरण उपभोक्ता समितिलाई सहयोग गरेका छौ,’ उनले भने,‘केहिको कार्यसंचालन अब्बल छ, केहि सकेनन् ।’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D