जिल्ला समाचार

गुल्मी सदरमुकाम तम्घासमा खानेपानीको हाहाकार

गुल्मी, चैत १४ । जिल्ला सदरमुकाम तम्घासमा खानेपानीको हाहाकार भएको छ। सदरमुकाम रहेको रेसुंगा नगरपालिकाको अन्य वडामा खानेपानी सामान्य उपलब्ध भए पनि वडा नम्बर ९ मा चरम अभाव रहेको छ।

धारामा खानेपानी नआएपछि मुहान खोज्दै हिँड्न बाध्य भएका छन्। नगरपालिका समक्ष हारगुहार गरेका छन्। दैनिक ३० हजार लिटर खानेपानीको माग भए पनि नगरपालिकाले १२ हजार लिटर मात्रै खानेपानीको व्यबस्था गर्न सकेको रेसुंगा नगरपालिकाका सूचना अधिकृत शंकरप्रसाद गौतमले जानकारी दिए।

‘दिनमा ३० हजार लिटरभन्दा बढी माग आउँछ तर पूर्ति गर्न सकिएको छैन,’ उनले भने, ‘छल्दीदेखि पानी ल्याउन परेको र एउटा मात्रै ट्याङकर भएकाले माग थेग्न समस्या परेको छ।’ नगरपालिकाले आफ्नै ट्याङ्करबाट ल्याएको पानी प्रतिलिटर ५० पैसामा उपलब्ध गराउँदै आएको छ।

खानेपानीको समस्यालाई दीर्घकालीन समाधान गर्न मझेङ खानेपानीको बिकल्प नरहेकोे नगरपालिकाका कार्यक्रम अधिकृत विनोद मरासीनी बताउँछन्। उनले भने, ‘तत्कालको समस्या समाधान गर्न ट्याङ्करबाट ल्याएर प्रतिलिटर ५० पैसाका दरले पानी वितरण गर्दै आएका छौं।’

नगरपालिकाका प्रवक्ता पदम अर्यालले एउटा ट्याङ्करले मात्रै माग थेग्न नसकेकाले अर्को ट्याङकर थप गर्ने बताए। टाढाबाट पानी ल्याउनु पर्दा पानीको माग थेग्न नसकिएकाले नजिकमा रहेको वडा नम्बर ३ को मुहानलाई संरक्षण गर्ने गरी प्रक्रिया अगाडि बढाएको बताउँदै उनले नगरबासीलाई सहज रुपमा पिउने पानीको व्यबस्था गरेरै छाड्ने दाबी गरे। -थाहा खबर

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D