जिल्ला समाचार

गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्थाद्वारा दुई पत्रकार सम्मानित

गुल्मी, मंसिर २८ । गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लि.(सकोस) ले जिल्लामा क्रियाशिल दुई जना पत्रकारलाई सम्मान गरेको छ । नेपाल प्रेस युनियन गुल्मीका सचिव रमेश विश्वकर्मासँगै रेडियो रेसुङ्गामा कार्यरत पत्रकार एवम नेपाल प्रेस युनियन गुल्मीका सदस्य मनु सुनारलाई समेत सम्मान गरेको छ ।

गुल्मी युनाइटेड सकोसले आफ्नो १३ औं वार्षिक साधारणसभाको अवसरमा पत्रकारद्वय विश्वकर्मा र सुनारलाई दोसल्ला र प्रशंसापत्र सहित सम्मान गरेको हो । नव जनचेतना दैनिकका गुल्मी जिल्ला संवाददाता विश्वकर्मा र रेडियो रेसुङ्गामा कार्यरत पत्रकार सुनारलाई यहाँबाट जनचासोका विषयहरुलाई उजागर गर्दै मोफसलको पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याएको र गुल्मी युनाइटेड साकोसको सहकारी भूमिकालाई महत्वकासाथ जनसमक्ष पुर्याउन महत्वपूर्ण सहयोग पुर्याएकाले सम्मान गरिएको गुल्मी युनाइटेड साकोसका सचिव रामप्रसाद पन्थीले जानकारी दिनुभयो ।

गुल्मी युनाइटेड साकोसले आफ्नो १३ औँ वार्षिक साधारणसभाको अवसरमा आफ्ना दुई जना जेष्ठ शेयर सदस्यलाई समेत सम्मान गरेको थियो । रेसुङ्गा नगरपालिका–१ तम्घासकी बसुन्धारा सुवेदी र सुरेशचन्द्र भुसाललाई दोसल्ला र प्रशंसापत्र सहित सम्मान गरिएको थियो । २०७६ सालको एसईई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरि उत्तीर्ण हुने शेयर सदस्य किशोरप्रसाद मरासिनीकी छोरी शीला मरासिनी, शेयर सदस्य टेकलाल पाण्डेका छोरा कुशल पाण्डे, शेयर सदस्य परशुराम पन्थीकी छोरी प्रभा पन्थी, शेयर सदस्य सूर्य बस्नेतकी छोरी आकृति बस्नेत र शेयर सदस्य लक्ष्मण अर्यालका छोरा समुन्द्र अर्याललाई सम्मान गरिएको छ ।

उत्कृष्ट बचतकर्ता शेयर सदस्यलाई पनि सम्मान गरिएको छ । नियमित बचततर्फ रेसुङ्गा नगरपालिका–१ का राजिब श्रेष्ठ, कारोबार बचततर्फ रेसुङ्गा नगरपालिका–८ का नरेन्द्र बहादुर बस्नेतलाई सम्मान गरिएको छ । उत्कृष्ट ऋणी शेयर सदस्य तर्फ आर्थिक वर्ष २०७५÷०७६ मा नियमित तथा छुट सुविधा उपभोग गरी म्यादभित्र ऋण नियमित गर्दै अधिकत व्याज बुझाउने ऋणी सदस्यहरुमध्येबाट रेसुङ्गा नगरपालिका–७ का युवराज पाण्डेलाई सम्मान गरिएको बताईएको छ । संस्थाबाट वितरित युवा स्वरोजगार कोषको रकम लिई व्यवसायिक कृषि व्यवसाय गर्ने शेयर सदस्यमध्ये उत्कृष्ट कृषि उद्यमीतर्फ रेसुङ्गा नगरपालिका–६ का मुमाराम अधिकारी तथा व्यवसायिक तरकारी खेतीतर्फ रेसुङ्गा नगरपालिका–८ की लक्ष्मी भलामीलाई सम्मान गरिएको छ । संस्थाको उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम अन्तर्गत संस्थामा कार्यरत कम्प्युटर सहायक सावित्रा पाण्डेलाई पनि सम्मान गरिएको छ ।

‘‘भेदभावरहित सहकारी आवद्धता, समुदायको उन्नति हाम्रो प्रतिवद्धता’’ भन्ने मूल नाराका साथ स्थापना भएको गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गुणानिधी शर्मा पाण्डेले संस्थाको वार्षिक प्रतिवेदनको सार्वजनिक गर्दै सहकारीले देशको कुल ग्राहास्थ उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । यस जिल्लामा पनि आर्थिक क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको भन्दै शर्माले एक सय जना राजनितिज्ञ उत्पादन गर्नुभन्दा एक जना उद्यमी उत्पादन गर्न सके देशले समृद्धि हाँसिल गर्ने बताउनुभयो । संस्थाका उपाध्यक्ष रामप्रसाद पन्थीले २०६४ साल भाद्र १२ गते संस्था दर्ता भई औपचारिक रुपमा कारोबार सञ्चालन गरेको बताउनुभयो । स्थापनाको १३ वर्ष भित्र यस संस्थाले कारोबार तथा सदस्य सेवा सहज बनाउन सुविधा सम्पन्न भवन खरिद गरी सम्पूर्ण वित्तिय कारोबार सञ्चालन गरेको उल्लेख गर्नुभयो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D