जिल्ला समाचार

गुल्मीमा २१ बर्षदेखि ११ परिवार लालपुर्जा विहिन, आधारभुत आवश्यकताबाट समेत बञ्चित

हुमाकन्त पोख्रेल
गुल्मी, माघ १२ । गुल्मीको मालिका गाँउपालिका ७ घमिर सिलादीका ११ दलित परिवार लालपुर्जाबिहिन भएका छन् । २१ बर्षअघि घमिरबाट टुनिखोला हुँदै अर्जै जाने सडक खन्दा सबै जग्गा मोटरबाटोले सकेपछि उनीहरु सिलादीको सार्वजनिक चउरमा बसेका थिए । त्यसयता उनीहरु सिलादीको सार्वजनिक चउरमा नै बस्दै आएका छन् । त्यसबेला जुठे सुनार सहित कुल तीन घर–परिवार सिलादी बसेका थिए ।

अहिले परिवार सङ्ख्या बढेर ११ पुगेको छ । उमेर पुगेकाको नारिकता पनि बनेको छ । तर अझैसम्म पनि आफ्नो जग्गाको स्वामित्व भएको लालपुर्जा पाउन सकेका छैनन् । जसले गर्दा ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने दलित बस्तिका लालपुर्जाविहिन परिवारले स्थायीरुपको घर बनाउन समेत सकेका छैनन् ।

आधारभुत आवश्यकताबाट बञ्चित

खरका छाना विस्थापन गरी टिनका छाना, बिजुली, एक घर–एक धारा लगायतका कार्यक्रमहरु सरकारका लोकप्रिय तथा नागरिकका आधारभूत आवश्यकता मानिन्छन् । तर जग्गाको लालपुर्जा नहुँदा सिलादीका दलित नागरिक आफ्ना आधारभूत आवश्यकताबाट समेत बञ्चित हुनुपरेको छ । ‘एक घण्टाको दुरीमा रहेको खोल्साको पानीबाट गुजारा चलाएका छौ ।’ माया विकले भनिन्, ‘सेवा–सुविधाको आशमा जिन्दगी जाने भयो ।’ त्यसका साथै उनले बिजुलीका मिटरबक्स, टिन लगायतका आधारभूत सेवाबाट सरकारले बञ्चित गराएको गुनासो गरिन् । सोहि ठाउँका जुठे सुनारले तत्कालिन अवस्थामा गाउँका ठुलाबडाकै सल्लाहम सिलादिमा बसेको भएपनि अहिलेसम्म लालपुर्जा नपाउनुमा दुःख लागेको गुनासो गरे ।

‘सरकारले खरका छाना विस्थापन गरी जस्ता पाताले घर छाउने अभियान चलाएको छ, तर लालपुर्जा नहुँदा टिन पाउन सकेका छैनौ ।’ उनले भने, ‘बर्षायाममा छाना चुहिएर निद्रै पुग्दैन् ।’ आफुहरु धेरैपटक टिनको लागि वडा कार्यालय पुगेपनि वडाले रित्तो हात पठाएको उनले दुखेसो पोखे । उनले भएको केहि जग्गामा खेति गरेपनि लालपुर्जा नहुँदा समस्या परेको बताइन् ।

नेताले भोट माग्ने थलो बनाए

सुन्तली वि.क. अहिले ६७ बर्षकी भइन् । सिलादी बस्न सुरु गरेदेखि नै उनले लालपुर्जा पाउने आशमा धेरैपटक भोट हालिन् । निर्वाचनमा राजनीतिक दलले लालपुर्जा दिने आश्वासन पनि नदिएका होइनन् । उनले भोट दिएयता धेरैले जितेर सत्तामा पनि पुगे । तर उनको पिडा जहाँको त्यहि छ । ‘गाउँका नेताहरुबाट निर्वाचनका बेला धेरै आश्वासन आउँछ, भोट दिइन्छ ।’ उनले भनिन्, ‘भोट दिएपछि अहिलेसम्म कोही पनि अहिलेसम्म फर्केर आएका छैनन् ।’ अर्की ६० बर्षिय कुमारी नेपालीका १० छोराछोरी छन् । जसमध्ये जेठा छोराले नजिकै चउरमा अलग्गै घर बनाएर बसेका छन् । अहिलेसम्म लालपुर्जाको लागि धेरैपटक आफुले जिताएकासँग अनुरोध गरे । तर तर उपलब्धि शुन्य भएपछि निराश भएका छन् । ‘भोट माग्ने बेला ठुलाठुला आश्वासन देखाउछन्, त्यसपछि फर्केर हेर्दैनन् ।’ वि.क.ले भनिन्, ‘नेताले खोला तरेर लौरो बिर्सेझै गरेका छन् ।’ त्यसका साथै उनले आफ्ना सन्तान तथा अन्य पुस्ताको भविष्यको समेत कुनै निश्चितता नभएको बताइन् ।

प्रदेश सरकारको आशमा स्थानीय सरकार

यससम्बन्धमा वडाध्यक्ष वेद प्रसाद पन्थीले आफुहरु प्रदेश सरकारको बाटो कुरेर बसेको प्रतिक्रिया दिए । ‘प्रदेशले आयोग बनाएर पठाउछ भनेर कुरेका छौ ।’ उनले भने, ‘त्यस्ते नभए हामीले जग्गा खोजेर भएपनि व्यवस्थापन गछौँ ।’ अझै पनि आफुहरुले जग्गा खोजेको तर उचित ठाउँ नभएकोले समस्या परेको बताए । उक्त बस्तीमा खानेपानी पु-याउन डिपिआर भइरहेको उनले बताए । तर टिन भने लालपुर्जा बनेपछि मात्र दिने वडाध्यक्ष पन्थीको भनाई छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D