जिल्ला समाचार

गुल्मीमा सेनाको व्यारेकभित्र पाचँवटा गजुर रहेको २ सय बर्ष पुरानो मन्दिरमा सरायँ

गुल्मी । रेसुगां नगरपालिका २ स्थित धागिथुममा नेपाली सेनाको व्यारेक । व्यारेक छेउमा भगवती मन्दिर । जसलाई २४ सै घण्टा नेपाली सेनाले आफ्नो घेराभित्र राखेजस्तै गरी सुरक्षा दिन्छ । असौज २६ गते आइतबार, बेलुकी करिब ९ बजे युवाहरुले खुकुरी, घुडाँ, तरवार जस्ता हतियार प्रदर्शन गरिरहेका थिए । नेपाली सेनाको व्यारेकभित्र युवाहरुले खुकुरी प्रदर्शन गरे भन्दा अचम्म लाग्न सक्छ । तर गुल्मीको सन्दर्भमा यो कुनै नौलो र अनौठो विषय होइन् ।

गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु लगायतका पश्चिम नेपालका क्षेत्रहरुमा दशैँको एकादशीदेखि पूर्णिमासम्म सरायँ नाच हुने गर्दछ । दशैँको अवसरमा गुल्मीका थुप्रै शक्तिपिठहरुमा सारायँ नाच हुने गर्दछ । तर बेलुकापख सेनाको व्यारेकनजिक मन्दिरमा भएको सरायँ नाच फरक देखिन्थ्यो ।

पहिले–पहिले शक्तिपिठहरुमा सरायँ नाच खेल्दा नेपाली हातहतियारहरुको प्रदर्शन गरिन्थ्यो । विशेषगरी नेपाल एकिकरणका पालामा पृथ्वीनारायण शाहका पालादेखिका हतियार सरायँ नाचमा प्रदर्शन गरिन्थ्यो । तर पछिल्लो समय अपराधिक घटना बढ्न थालेपछि प्रशासनले हतियार प्रदर्शनमा रोक लगायो । यसले एकातर्फ सँस्कृति लोप हुने चिन्तासमेत थपिएको छ । भने अर्कोतर्फ सरायँ नाचप्रति युवाहरुको आकर्षण घट्दै गएको छ । तर सेनाकै व्यारेकभित्र भने युवाहरुले परापूर्वकालदेखिका हतियारहरु नचाई सरायँ खेलिरहेका थिए ।

धागिथुमस्थित भगभति मन्दिरमा प्रत्येक बर्षको दशैँको पूर्णिमाको दिन बेलुकापख देखि मध्यरातसम्म सरायँ नाच र पट्टा नाँच हुने गर्दछ । सरायँ र पट्टा नाँच हेर्न र खेल्नका लागि जिल्लाका साथसाथै छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने गर्दछन् । अहिले त झन तम्घासको बाख्रेछेडादेखि पैदल मार्ग समेत निर्माण गरिएकोले मन्दिरमा आउने जो–सुकैलाई सहज हुने गरेको छ । जसले गर्दा मध्यान्नसम्म पनि हजारौँ दर्शनार्थीहरुको उपस्थिति थियो ।

रेसुगां नगरपालिका उदिनढुङ्गाका रामप्रसाद खनालले विगतका दिनहरुमा भन्दा यसबर्ष अलि व्यवस्थित रुपमा सरायँ नाच भएको बताए । ‘विगतका बर्षहरुमा भन्दा युवाहरुको राम्रो सहभागिता देखिएपनि व्यवस्थापकिय पक्ष भने अझै राम्रो बनाउनुपर्छ ।’ उनले भने, ‘मन्दिरको संरक्षण र प्रचार–प्रसारमा ध्यान दिन सके पर्यटक भित्राउन सक्ने सम्भावना छ ।’ गुल्मीदरबार गाउँपालिकाकी कमला परियारले सँस्कृति बचाउनको लागि आफु सरायँ खेलेको बताइन । मन्दिरमा कडा सुरक्षाका बिच खेलाइएका विभिन्न नाचले आफुहरुलाई थप आकर्षित बनाएको उनले बताइन् ।

यसरी सुरु भयो सरायँ र पट्टा

घटस्थापनादेखि नौ दिनसम्म देवीको पुजा गर्दा महाकाली उत्पति भइन । पछि महाकाली ठूली हुँदै गइन् र राक्षसलाई मारिन पनि । त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे । नौ दिनसम्म पुजा गरी राक्षसलाई मारेको उत्सवस्वरुप दसैँको टिका लगाउने प्रचलन बस्यो । भने राउण्डेलाई मारेको उत्सवमा हजारौँ बर्ष अघि द्धापरयुगमा सरायँ खेल्न थालिएको इतिहास छ ।

त्यसका साथसाथै शत्रुसँग भिड्ने तरिका सिक्ने तालिमस्वरुप पनि सरायँ नाच खेल्ने गरेको किम्बदन्ती छ । पट्टा नाच पनि सरायँ नाचसँगसँगै नाच्न सुरु गरिएको किम्बदन्ती छ । तर यति बर्ष अगाडीदेखि सरायँ र पट्टा नाच खेल्न सुरु गरियो भन्ने अहिलेसम्म कुनै आधिकारिक तथ्य फेला परेको छैन । एकादशीका दिन गुल्मीको इश्मा मैदान र धुर्कोट वस्तुमा सरायँ नाच्ने गरिन्छ । द्धादशिको दिन बुल्म, त्रायोदशिको दिन जैसिथोकको बाहुनगाँउ, चर्तुदशीको दिन छिलिम्टे तथा पूर्णिमाको दिन धुर्कोट कोत, चोयघा, अर्जै लगायतका क्षेत्रमा सरायँ नाच्ने गरिन्छ ।

दुईसय बर्ष पुरानो मन्दिर

धागिथुम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर थापाका अनुसार आजभन्दा करिब दुईसय बर्षअघि अर्थात १८ औँ शताब्दिको अन्त्यतिर मन्दिर निर्माण गरिएको हो । पहिले स्थानीयले नै मन्दिरको संरक्षण गरेपनि अहिले भने नेपाली सेनाले त्यसको रेखदेखि गर्दै आएको छ । तीन तले मन्दिर प्यागोडा शैलिमा निर्माण गरिएको छ । जसमा छत्रसहित पाचँवटा गजुरसमेत रहेका छन् । भने मन्दिरको छानो पनि पित्तलले छाइएको छ । जसले गर्दा मन्दिरमा थप आकर्षण बढेको थापाले बताए । दशैँ सुरु भएपछि कुल १६ जना पुजारी मन्दिरमा बस्छन् ।

किन हुन्छ मध्यान्नसम्म मेला

करिब छ–सात बर्ष पहिलेसम्म जिल्लाका विभिन्न स्थानहरुमा साझँको समयमा सरायँ सुरु हुन्थ्यो । जसले गर्दा बढी मात्रामा झै–झगडाका घटना हुन्थे । केहि बर्षअघिमात्र हालको धुर्कोट गाउँपालिकामा रहेको नयाँगाउँ प्रहरी चौकिका एक प्रहरी जवानले सरायँ नाचकै बेला युवाहरुको झगडामा परि ज्यान गुमाए । त्यसको अर्को बर्षदेखि जिल्ला प्रशासनले बेलुकाको समयमा कुनै पनि साँस्कृतिक कार्यक्रमको आयोजना नगर्ने र सरायँ नाच पनि बेलुका बढीमा ६ बजेसम्म मात्र खेल्न पाइने नियम बनायो ।

तर नेपाली सेनाको व्यारेकभित्र भने मध्यानसम्म पनि हतियार पदर्शन गरी सरायँ र पट्टा नाच खेल्ने गरिन्छ । विरभद्र जगं गुल्म, गुल्मीका सेनानी रविन्द्र महर्जनले कडा सुरक्षाका बिच मध्यान्नसम्म मेला गराइएको प्रतिक्रिया दिए । ‘सेनाको व्यारेकभित्र सुरक्षा व्यवस्था कडा हुन्छ, यहाँ आउने भक्तजनले सुरक्षाको कुनै चिन्ता लिनुपर्दैन ।’ उनले भने, ‘आवश्यक सबै तयारीका साथ मेला सुरु हुन्छ ।’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D