जिल्ला समाचार

गुल्मीमा शिक्षकको धर्ना

हुमाकान्त पोखरेल
गुल्मी, ३० कार्तिक । नेपाल शिक्षक महासंघले विद्यालय बन्दसहितका एकमहिने आन्दोलनका कार्यक्रम घोषणा गर्दै शिक्षकहरु धर्नामा बसेका छन् । जिल्ला शिक्षा तथा समन्वय इकाईको कार्यालय गुल्मी अगाडी शुक्रबार शिक्षकहरु धर्ना बस्दा सेवा प्रवाहमा समेत असर पुगेको छ । आन्दोलनमा स्थायी, अस्थायी, राहात र करार सबै प्रकारका शिक्षक समावेश छन् । भने सबै संगठनका शिक्षकहरुले पनि आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । शिक्षक सँस्था र सरकारबीच विगतमा गरिएका सम्झौता कार्यान्वयन नगरिएकोले त्यसको कार्यान्वयनका लागि शिक्षकहरुले आन्दोलन सुरु गरेका हुन् । २६ बुँदामा फरक–फरक प्रकारका शिक्षकहरुका फरक–फरक मागहरु राखिएको छ ।

संविधानका धारा ७४ अनुसार आफूहरुले अधिकार पाउनुपर्ने शिक्षकहरुको माग छ । विज्ञापन गरी स्थगीत गरिएका अस्थायी शिक्षकहरुलाई स्थायी गर्न परिक्षा लिने, शिक्षकहरु प्रदेश तथा केन्द्र सरकार मातहतमा रहनुपर्ने, शिक्षकको स्थायीत्वको लागि सरकारले तत्काल पहल गर्नुपर्ने लगायतका माग अस्थायी शिक्षकका मागहरु रहेको बुद्ध माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षिका निर्मला पन्थीले जानकारी दिइन् । त्यस्तै विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहिअनुसारको पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहात शिक्षकहरुलाई दरबन्दीमा रुपान्तरण गर्नुपर्ने, स्थानीय तहले बनाएका जथाभावि शिक्षा ऐन खारेज गरिनुपर्ने, शिक्षकको तलब भत्ताको ब्यवस्था केन्द्र सरकारबाट हुनुपर्ने पनि माग गरिएको छ ।

कम्तिमा दश बर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामुहिक पदोन्नतिको ब्यवस्था गर्नुपर्ने, शिक्षकको बढुवामा पनि विशिष्ठ श्रेणीको व्यवस्था गर्नुपर्ने पनि माग गरिएको पाञ्चायन माध्यमिक विद्यालयका शिक्षक ऋषिराम पाण्डेले जानकारी दिए । तत्कालिन उच्च मावि मा कार्यरत शिक्षकहरुको दरबन्दीको प्रबन्ध गरी स्थायित्वको पक्रिया आरम्भ गर्नुपर्ने, आवश्यकताअनुसार बिषयगत दरबन्दी सिर्जना गरी राष्ट्रिय स्तरमा दरबन्दी मिलान गर्नुपर्ने, समयसापेक्ष तलबमा समायोजक गर्नुपर्ने पनि शिक्षकहरुका माग रहेका छन् । ‘राज्यको विकासका निम्ति महत्वपूर्ण सहयोग पु¥र्याउने तथा देशका कर्णधार बालबालिकाको भविष्य उज्ववल बनाउने शिक्षकहरु स्वयम् नै राज्यबाट चपेटामा परेका छौँ ।’ एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा धुर माविका शिक्षक लक्ष्मी खनालले भने, ‘हामि हाम्रा अधिकार प्राप्तिको लागि संघर्ष गरिरहेका छौ ।’

कक्षाकोठा बाहिरबाटै आन्दोलन

शिक्षकहरुले विभिन्न तिन चरणमा आन्दोलन गरिरहेका छन् । अहिलेको तेस्रो चरणको आन्दोलन हो । शिक्षकहरुलाई सामुहिक पदोन्नतीको माग समेत शिक्षकहरुले गरेका छन् । विद्यालय बन्द नै नगरेपनि पठनपाठनमा अवश्य बाधा पुगेको छ भने शिक्षा इकाईबाट कसैले पनि सेवा लिन पाएनन् । तर यसलाई शिक्षक माहसंघले भने पठनपाठनमा बाधा नपारेको जनाएको छ । ‘उदेश्य पठनपाठनमा बाधा पार्नु होइन र पारेका पनि छैनौ ।’ नेपाल शिक्षक महासंघ ५ नम्बर प्रदेशका अध्यक्ष प्रेमनारायण भण्डारीले भने, ‘केवल हाम्रा माग पुरा गराउनको लागि हामि धर्नामा बसेका हौँ ।’ तेस्रो चरणको कार्यक्रमसम्म धेरै शसक्त नभएपनि अब भने अझ शसक्त ढङ्गले लागिपर्ने उनले जानकारी दिए । त्यसका साथै आफूहरुका माग समयमै सम्बोधन नभए कक्षाकोठा बाहिरै रहेर भएपनि आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए । गुल्मीमा दिइएको धर्नामा जिल्लाभरका सबै विद्यालयका दुई सय भन्दा बढी शिक्षक÷शिक्षिकाहरु सहभागि छन् ।

माग जायज छन् : कार्यालय

यससम्बन्धमा कार्यालयले शिक्षकहरुका माग जायज भएको भन्दै सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । नाम नभन्ने शर्तमा कार्यालयका कर्मचारीले भने, ‘शिक्षक साथिहरुका माग जायज छन् । शिक्षाको गुणस्तर कायम राख्न मागहरु सम्बोधन गरिनु आवश्यक छ ।’ केहि दिनयता कर्मचारीले मिडियामा कार्यालयको आधिकारिक धारण बाहिर ल्याउदाँ सरकारले स्पष्टिकरण सोधेको भन्दै कोहि पनि कर्मचारीले आफ्नो नाम समाचारमा राख्न चाहेनन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D