जिल्ला समाचार

गुल्मीमा लागु पदार्थ नियन्त्रणका लागी ठाउँठाउँमा चेक प्वाइन्टहरु राखिएको छ: प्रहरी निरिक्षक खड्का

रमेश विश्वकर्मा
गुल्मी, असार २८ । जिल्लामा लागु पदार्थ दुव्र्यसनीको नियन्त्रणका लागि बाहिर जिल्लाबाट प्रवेश हुने नाकाहरुका ठाउँठाउँमा चेक प्वाइन्टहरु राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काले खुलासा गरेका छन् । जिल्लाको सदरमुकाम तम्घास स्थित रेसुङ्गा माविमा आयोजित लागु औषध दुर्ब्यसन विरुद्ध सचेतना तथा सरफाई अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण दिँदै खड्काले सो कुरा खुलासा गरेका हुन् ।

खड्काले जिल्लामा लागु पदार्थ दुव्र्यसनीको अवस्था भयावह नभए पनि हुन सक्ने जोखीमतालाई न्युनिकरणका लागि यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए । जिल्लामा लागु पदार्थ दुव्र्यसनीको नियन्त्रणका लागि बाहिर जिल्लाबाट प्रवेश हुने नाकाहरुका ठाउँठाउँमा चेक प्वाइन्टहरु राखिएको खुलासा पनि गरे । उनले भने, ‘प्रहरीको सक्रियतामा समय–समयमा गाँजा फडानीसँगै जिल्लाका विभिन्न विद्यालयहरुमा पुगी यस सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिएको छ ।’

रेसुङ्गा नगरपालिका वडा नं. २ को आर्थिक सहयोगमा सञ्चालन भएको अभिमुखिकरण डायमण्ड युवा क्लब तम्घास गुल्मीको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नं. २ का वडाध्यक्ष उदय बहादुर थापाले डायमण्ड युवा क्लब प्रशिक्षित भएपश्चात वडाको प्रत्येक टोल–टोलमा पुगेर प्रशिक्षण गर्ने बताए । डायमण्ड युवा क्लबको माध्यमद्वारा प्रत्येक टोल–टोलमा पुगेर लागु औषध दुव्र्यसन विरुद्ध सचेतना तथा सरफाईका बिषयमा जानकारी गराउने बताए । उनले भने – ‘स्वस्थ नगरपालिका र हराभरा नगरपालिका बनाउन डायमण्ड युवा क्लबको मद्दत रहने छ ।’

कार्यक्रममा सरसफाई सम्बन्धी अभिमुखिकरण रेसुङ्गा नगरपालिका वातावरण शाखा प्रमुख शंकर गौतमले प्रशिक्षण दिदै सहभागीहरुलाई नगरपालिकाभित्र औसतमा फोहोर उत्पादन ०.२५ के.जी रहेको बताए । शहरी क्षेत्रको ७५ प्रतिशत फोहोर घरबाट उत्पादन हुने गर्दछ, फोहोर उत्पादन दर प्रति व्यक्ति ०.३४ के.जी रहेको छ र यसकोे सही व्यवस्थापन गर्न सके फोहोरलाई मोहरमा रुपान्तरण गर्न सकिने उनको भनाई थियो । यसको लागी नगरपालिका निरन्तर प्रयासरत रहेकाले हातमा हात मिलाएर लाग्न उनले आग्रह समेत गरे ।
कार्यक्रममा रेसुङ्गा माध्यामिक बिद्यालयका प्रधानाध्यापक प्रेमनारायण भण्डारी, रेसुङ्गा नगरपालिका वडा नं–२ का वडासदस्यहरु कृष्ण बहादुर थापा, शेरबहादुर विश्वकर्मा, गंगा थापा, नारायणी विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षक, बिद्यार्थीहरु लगायतको सहभागीता रहेको कार्यक्रम डायमण्ड युवा क्लबका अध्यक्ष तिलक पन्थीको अध्यक्षता तथा सचिव शुलभ भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D