जिल्ला समाचार

गुल्मीमा योजना तर्जुमामा नागरिक सहभागिता बढ्दै

अनिल खत्री
२ जेठ, गुल्मी । गुल्मीमा स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा नागरिकको सहभागिता बढ्दै गएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । एकीकृत ग्रामीण विकास समाज गुल्मीले इस्मा गाउँपालिका वडा नं. ३ दर्लामचौरमा विकासमा नागरिक सहभागिता र योजना तर्जुमाका चरणहरुको बारेमा राखेको कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् ।

समाजले स्थानीय सभाका सदस्य र नागरिकलाई जानकारी गराउन आयोजना गरेको अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । महिला विकास समुहकी अध्यक्ष तेजमाया अर्यालले बस्तीस्तरको योजना छनौट गर्दादेखि नै महिलाहरुका समस्या र उक्त समस्याको आधारका योजना माग गर्दै आएको बताइन् ।

कार्यक्रमका सहभागी लालबहादुर नेपालीले दलित समुदायको लागि आवश्यक योजनाहरु छान्दा उक्त समुदायमा छलफल गरी छनौट गर्ने अभ्यासको सुरुवात भएको बताए । उनले स्थानीय जनताको जीवनस्तर सुधार गर्नका लागि स्थानीय सरकार थप जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।

वडाध्यक्ष तोयनाथ सापकोटाले आगामी आर्थिक वर्षको लागि बस्तीस्तरका योजनाहरु छानेर प्राथमिकीकरणको क्रममा रहेकोले महत्वपूर्ण योजना तथा मागहरु छुटेको भएमा वडा कार्यालयमा जानकारी गराउन नागरिकलाई आग्रह गरे । एकीकृत ग्रामीण विकास समाज गुल्मीले पारस्पारिक जवाफदेहिता परियोजनाअन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज गुल्मीका कार्यसमिति सदस्य ओम कार्कीले योजना छनौटका ७ चरण र नागरिकको सहभागिताका विषयमा सहजीकरण गरेका थिए । पारस्परिक जवाफदेहिता परियोजनाका संयोजक हीरा कुवँरले विकास र योजनाको अवधारणा, सामाजिक समावेशीकरणमा आधारित विकास र विकासमा जनसहभागिताको विषयमा सहजीकरण गरेकी थिइन् ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले वडातहमा हुने विकासका काममा नागरिकको सहभागिता बढाउनका लागि आफुहरुले थप पहल गर्ने बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D