टोपलाल अर्याल
गुल्मी, २ असोज । अहिले गुल्मीमा विभिन्न उदेश्य राखेर महायज्ञ गर्नेको लहर नै चलेको छ । यो महिनामा मात्रै जिल्लाका दुई बिद्यालयले धार्मिक महोत्सव तथा महायज्ञको आयोजना गरेका छन् । भने एक स्वास्थ्य संस्थाले फागुनमा महायज्ञ गर्ने निर्णय गरेको छ । जस अनुसार उपल्लो तम्घास मावि रेसुङ्गा नगरपालिका ९ मा महायज्ञ संचालन भएको छ ।
कृषी प्राविधिक शिक्षा संचालनसंगै स्मार्ट बिद्यालय बनाउन ३० भदौबाट महायज्ञ संचालन भएको बिद्यालयका प्रध्यानाध्यापक राममणी पन्थीले बताए । धार्मिक महोत्सवको उद्घाटन ५ नं प्रदेशका सांसद कमलराज श्रेष्टले गरेका थिए । भने भागवत मधुकर पण्डित पुरुषोतम शरण शास्त्रीले कथा प्रवचन गरिरहेका छन् । उपल्लो तम्घास माध्यमिक विद्यालय रेसुङ्गा नगरपालिका ९ तम्घास गुल्मीमा शनिबारदेखि धार्मिक महायज्ञ चलिरहेको छ ।
बिद्यालयमा प्राविधिक शिक्षा संचालन गर्ने उदेश्यले बिद्यालयमा महायज्ञको आयोजना गरिएको हो । धार्मिक महोत्सवमा भागवत मधुकर पण्डित पुरुषोत्तम शरण शास्त्रीले कथा प्रवचन गरिरहेका छन् । महायज्ञमा सोमबारसम्म १५ लाख २६ हजार तीन सय रुपैयाँ संकलन भएको छ । अहिलेसम्म एक लाखभन्दा माथी रेसुंगा नपा ९ का वडाध्यक्ष नारायण सुनारले एक लाख ११ हजार एक सय ११, सोहि स्थानका टोप बहादुर सुनारले एक लाख एक हजार एक सय ११ रुपैयाँ बिद्यालयलाई प्रदान गरेको बिद्यालयका लेखापाल हिमालय केशीले जानकारी दिए । उपल्लो तम्घास माविमा फरक क्षमता भएका ३२ जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । २०३१ सालमा स्थापना भएको यो बिद्यालय फरक क्षमता भएका बिद्यार्थीलाई अध्यापन गराउने जिल्लाको एक मात्र बिद्यालय हो ।
यसैबिच पालुखा माध्यमिक बिद्यालय इस्मा गाउँपालिका २ ले पनि महायज्ञ गर्ने निर्णय गरेको छ । बिद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्ने उदेश्यले यहायज्ञ गर्ने निर्णय गरेको छ । उच्च शिक्षा सञ्चालन गर्नको लागि बिद्यालयको आर्थिक अबस्था कम्जोर भएपछि महायज्ञको आयोजना गरिएको पालुखा माबिका प्रधानाध्यापक बावुराम खत्रीले बताए । २२ देखि ३० असोजसम्म महायज्ञ गर्ने निर्णय गरेको प्रधानाध्यापक खत्रीले बताए । भेलाले महायज्ञ सञ्चालन तथा व्यावस्थापनको लागि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं इस्मा गाउँपालिका २ का वडा अध्यक्ष टिकाबहादुर रेश्मीको संयोजकत्वमा तीन सय ५१ सदस्य रहेको मुल आयोजक समिति र २३ वटा उपसमिति समेत गठन गरेको छ ।
नौ दिनसम्म पालुखा माबिको छल्दीमा सञ्चालन हुने महायज्ञमा बाल योगेश्वर महाराजबाट कथा प्रवचन गर्ने बिद्यालयले जनाएको छ । २०३५ सालमा स्थापना भएको बिद्यालयमा लामो समय सम्म कक्षा ५ सम्म सञ्चालन हुदै आएको थियो । आर्थिक अबस्था कम्जोर हुँदाहुँदै पनि अहिले कक्षा १० सम्म पठनपाठन हुदै आएको छ । बिद्यालयले आगामी वर्षदेखि कक्षा ११ को पठनपाठन शुरु गर्ने योजना बनाएको छ ।
त्यस्तै मालिका गाउँपालिका ६ अर्जे स्वास्थ्यचौकीको आयोजनामा फागुनमा मालिका धार्मिक महामहोत्सव तथा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको छ । २०५४ सालमा स्थापना भएको अर्जे स्वास्थ्यचौकीको स्तर उन्नती साथै धर्म संस्कृतिको संंरक्षणका लागि महायज्ञको आयोजना गर्ने योजना रहेको स्वास्थ्यचौकी व्यावस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष शोभाखर गिरीले बताए ।
२३ असोजदेखि गर्ने धार्मिक महोत्सव तथा महायज्ञ व्यावस्थापनको चुनौतीका कारण फागुनमा सारिएको गिरीले बताए । महायज्ञ संचालन गर्न बालयोगेश्वर पाउण्डेशन र अर्जेका सर्वपक्षिय सरोकारवालाको बैठकले धार्मिक महोत्सव तथा महायज्ञ गर्ने निर्णय गरेको हो । धार्मिक महोत्सव तथा यज्ञ सम्पन्न गर्नका लागि वडाध्यक्ष शोभाखर गिरीको संयोजकत्वमा एक हजार आठ सदस्य रहेको मुल आयोजक समिति गठन गरिएको थियो ।