रमेश विश्वकर्मा
गुल्मी, फागुन १० । गुल्मीमा लिफ्टिङ्ग खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा पर्ने भुवनपानी कुटी बृहत लिफ्टिङ्ग खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष हिमलाल पन्थीले जानकारी दिए ।
विद्युतको साहयताले बस्तीदेखि तल सिस्नेहार भन्ने स्थानमा रहेको मुहानबाट कुटी भन्ने स्थानमा रहेको ट्याङ्कीसम्म पानी ल्याईएको छ । उक्त लिफ्टिङ्ग खानेपानी आयोजनाको सफल परिक्षण गरिएको छ । खानेपानीको सफल परिक्षण भएपछि स्थानीयमा निकै खुसीयाली छाएको र आयोजना केही दिन भित्रै सञ्चालनमा ल्याउने अध्यक्ष पन्थीले बताए ।

खानेपानीको तीन ठाउँमा ट्याङ्की निमार्ण गरिएको उपभोक्ता समितिका सचिव माधवराज पन्थीले बताए । उनका अनुसार एउटा ट्याङ्की सिस्नेहार मुहान नजिकै निर्माण गरिएको छ । त्यस्तै एउटा पातल भन्ने स्थान र अर्को कुटी भन्ने स्थानमा ट्याङ्की निर्माण गरिएको सचिव पन्थीले जानकारी दिए ।
रेसुङ्गा नगरपालिका भित्र रहेका वडा नं. ५, ६ र ७ का जनताले यो लिफ्टिङ्ग खानेपानीको उपभोग गर्ने उपभोक्ता समितिका सह–सचिव उमाकान्त पन्थीले बताए । त्यस्तै सोही नगरपालिकाकै वडा नं. ४ का केही जनताहरुले पनि उक्त पानीको उपभोग गर्न पाउँने सह–सचिव पन्थीले जानकारी दिए । झण्डै १२ सय घरधुरी यो बृहत लिफ्टिङ्ग खानेपानी आयोजनाबाट लाभान्वित हुने बताईएको छ ।
झण्डै ६ करोडको लगानीमा उक्त आयोजनाको निर्माण भएको अध्यक्ष पन्थीले बताए । २०७२ सालमा संविधान सभा सदस्य डा. चन्द्र भण्डारीले यो आयोजनाको शिलान्यास गरेका थिए ।
यहाँका जनताहरुले पहिले जसरी निकै नै टाढा घण्टौँ हिँडेर पानी बोकेर ल्याउन पर्थ्यो अब त्यसको अन्त्य भएको नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले बताए । “यहाँ पहिले खानेपानीको निकै नै अभाव थियो”, नेता पन्थीले भने, “अब यहाँका जनतालाई पहिले जस्तो पानीको समस्या हुँदैन ।’ यो आयोजनाको प्राविधिक काम सकिएपछि केही दिन मै जनताका घरघरमा यो लिफ्टिङ्ग खानेपानी पुग्ने नेता पन्थीले बताए ।
पर्याप्त बजेट नहुँदा यो आयोजनाको काम गर्न निकै नै समस्या भएको थियो । निकै लामो समय लगाएर पटक–पटक मन्त्रालय धाएर पर्याप्त बजेट ल्याई यो आयोजनाको निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याईयो नेता पन्थीले भने । उनले आयोजनाको निर्माण कार्यमा खटिने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।