जिल्ला समाचार

गुल्मीमा प्रहरीको देउँसी भैलो, समुदाय र प्रहरीबिचको सम्बन्ध प्रगाढ बन्ने विश्वास

टोपलाल अर्याल
गुल्मी, २६ कार्तिक। नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार भर्खरै सकिएको छ । तर बजार र गाउँका गल्ली अनि चोकहरुमा बल्ल तिहारको छनक देखिन्छ । असार शुरु भएपछि दशैसम्म तीज र तिहार सकिएको महिना दिनसम्म देउसी भैलोले नेपाली समाजलाई छोप्ने गरेको छ । जसका कारण तम्घासमा दैनिक एक दर्जन बढी देउसी भैलो समुहहरु देउँसी भैलो खेलिरहेका छन् ।

त्यसैमध्ये एउटा नेपाल प्रहरीको टोली पनि देउँसी भैलो खेलिरहेको छ । सधै सुरक्षार्थ खटिने नेपाल प्रहरी सदरमुकाम तम्घासमा देउँसी भैलो खेल्न थालेपछि नागरिक समेत अचम्म परेका छन् । मनोरञ्जनसंगै प्रहरी र स्थानीयको सम्बन्ध अझै निकट बनाउने उदेश्यका साथ देउँसी भैलो खेल्न थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए ।
प्रहरी प्रमुख बस्नेतले संस्कृतिको संरक्षण, मनोरञ्जनसंगै नागरिक र प्रहरीको सम्बन्ध स्थापित हुने भएकाले भर्खरै शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई थप बल पुग्ने विश्वास गरे । जिल्ला प्रहरी कार्यालय गुल्मीको भैलो टोलीले प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल गुल्म गुल्मी, अस्पताल लाइन, नेपाली सेनाको व्यारेक र सदरमुकाम तम्घासका विभिन्न स्थानमा भैलो खेलिरहेको छ ।
आफ्नै गीत संगित र बाध्यबादनमा केहि साझा र केहि कार्यालयकै पोशाकमा प्रहरीको देउँसी भैलो समुह छ । उनीहरुको मनोरञ्जनमा स्थानीय समेत सामेल भएपछि भैली समुह अझै उत्साहित देखिन्थ्ये । देउँसी भैलोको रमाइलोले मुख्य चाड पर्वमा जागिरमै रहेर जनताको शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी, प्रमुख जिल्ला अधिकारी र अन्य सुरक्षा निकायका प्रमुखहरुलाई खुसी र घरकै आभास दिलाएको पत्रकार शिव सुवेदीले बताए ।
देउँसी भैलोमा निकै लामो समय नाचेर र गाएर मनोरञ्जन गरेका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दिपक वस्नेत, सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझी लगायतले नेपाली चाडपर्व र कला संस्कृति सवै वर्ग समुदायको सम्पति भएकाले जसले जसरी मनाए पनि फरक नहुनेमा जोड दिए ।

कुरुप बन्दै मौलिक देउँसी भैलो

तम्घासमा दैनिक एक दर्जन बढी देउसी भैलो समुहहरु देउँसी भैलो खेल्छन् । बजारका मात्रै हैनन, अहिले गाउँका आगनीसम्मका सबैजसो देउसी भैलोहरुहरु कुरुप देखिएका छन् । पश्चिमी संस्कृतिको प्रभावले मौलिक देउँसी भैलो चपेटामा परिरहेको स्थानीय बयोबृद्ध डिलाराम अर्यालले बताए । देउँसी भैलोको पहिलो प्रभाव नै भट्याउने कला हो । तर अहिले मान्छेले भट्याउँदैनन, साउण्ड सिस्टम भए पुग्छ । जसका कारण मौलिकताको झल्को मेटिएको छ ।
अधिकांश भैली समुहहरुले र नेपाली चलचित्रका गीत र उस्तै परे हिन्दी गीतसंगितसंग नेपाली मौलिकता बेचिरहेको राष्ट्रिय लोक दोहरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्तले बताए । अहिले मादल भन्दा स्पिकर बोक्ने धेरै छन् । मुरली र खैजडी दुर्लभ नै भए । ठुला साउन्ड सिस्टम बजाएर क्यासेटबाट गरिने अभियन मौलिक देउँसी नभएर हल्ला मात्रै भएको प्रतिष्ठानका अध्यक्ष पन्तले बताए ।
इश्मा गाउँपालिका ४ दोहलीका दुर्गा बहादुर गन्दर्भलाई अहिलेको देउँसी भैलोले आनन्द भन्दा चिन्ता थप्ने गरेको छ । बैसमा मारुनी र पुरुसुङ्गेसंगै कैयौ दिन र रात बिताएका दुर्गा बहादुरलाई अहिलेको देउँसी भैलो र पुस्ता देखेरै मन कुडिन्छन् । ‘अहिलेको पुस्ता र देउँसी भैलोमा न सुर न ताल छ, हल्ला गरेरै पैसा उठाउँछन्,’उनले भने,‘मौलिक देउँसी भैलोमा मान्छे प्रभावित गर्ने आफ्नै कला र मेलो हुन्छ ।’ उनी देउँसी भैलोका पुराना डर लाग्दा  कलाकार हुन् ।
पहिले आफै भट्याएर खेलिने देउसी भैलोको छुट्टै मजा थियो । हेर्नेलाई पनि रमाइलो लाग्थ्यो । तर आज भोलिका भैली समुहहरु उफ्रिने र कराउने मात्र गर्छन । यस्तै हो भने केहि वर्षपछि लोकवाजा र भैलीको मोलिकता हराउने निश्चित भएको गुल्मी भार्सेमा पदम बहादुर रजालीले बताए । ‘बजार, बजारनै भैहाल्यो, अहिले गाउँका आगनीहरु पनि पश्चिमेली बनाइएका छन,’उनले भने,‘ गाउँहरुमा देउसी भैलो खेल्नेहरुको गीत, पोशाक र नृत्यमा कतै नेपाली पन देखिदैन् ।’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D