टोपलाल अर्याल
गुल्मी, ५ पुस । जिल्ला बाल संजाल र जिल्ला प्रशासन र प्रहरी र विभिन्न अधिकारीकर्मीहरुले अहिले सदरमुकाम तम्घासका विभिन्न होटेलमा छापा मारेर बाल श्रमिकको उद्धार गरिरहेका छन् । अभियानको चौतर्फी समर्थन र स्वागत भैरहेको छ । तर पुर्नस्थापना गर्ने कुनै सरकारी तथा गैरसरकारी संस्था नहुँदा प्रहरी प्रशासनदेखि न्यायकर्मीहरु समस्यामा छन् ।
जसका कारण उद्धार गरिएका बालबालिका पुन होटल मालिककै पछि लगाए पठाउनु पर्ने अवस्था सृजना भएको छ । अहिले गुल्मीमा कुनै हिंसा र घटनामा उद्धार गरिएका महिला तथा बालबालिका पुर्नस्थापना गर्ने बिकल्प संजाल, प्रहरी प्रशासन वा अधिकारकर्मी कसैसंग छैन् । बिडम्बना पीडितले थप जोखिम मोल्नुपर्ने बाध्यता रहेको सृजनशिल सामुदायिक विकास केन्द्रका मानव अधिकार अधिकृत गणेश श्रेष्टले बताए ।
जिल्ला बाल संजाल र प्रहरी र प्रशासन र सृजनशिलको पहलमा बाल श्रमिकलाई कामबाट मुक्त गर्ने अभियान जारी छ । एक हप्तादेखि संचालन गरिएको अभियानमा २० जना होटेलमा काम गर्ने १२ देखि १८ बर्ष बालबालिका उद्धार गरिएको छ । भेटिएका बालबालिका धेरै नपढेका र केहि बिचमै छोडेका छन् । भेटिएका १० जना बालबालिकालाई परिवारमा हस्तान्तरण गरिएको जिल्ला बाल संजालका अध्यक्ष सुमन पन्थीले बताए । होटेलमै हस्तान्तरण गरिएका बालबालिकाको हकमा १८ बर्ष नपुग्ने बेलासम्म पढाउने र काम नगराउने सहमती भएको पन्थीले बताए ।

त्यस्तै १७ बर्षसम्मका बालबालिकालाई नाबालकको नामा बैंक खाता खोल्ने र पारिश्रमिक खातामा राख्ने, बिहान बेलुका होटेलमा सहयोग गर्ने र दिउँसोमा स्कुल जाने निर्णय गरिएको छ । होटेलका बालश्रमिक ५० प्रतिशत प्युठानका, ३० प्रतिशत बाग्लुङ्ग र बाँकी गुल्मीका रहेको संजालका अध्यक्ष पन्थीले जानकारी दिए । बालश्रम निषेध तथा नियमित गर्ने ऐन विपरीत बाल श्रमिक राखिरहेकाले संजालको पहलमा उद्धार र परिवारमा पुर्नस्थापना अभियान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक ज्ञान बहादुर कुवंरले बताए ।
हिंसा पीडित महिला तथा बालबालिकाहरू कानुनी उपचारको लागि आउँदा न्याय निरुपण नहुँदासम्म सुरक्षित आवास आवश्यक पर्छ । जसका कारण उनीहरूले न्यायिक लडाईं बिचैमा छाड्ने समस्या आउँदैन । जिल्ला अदालत गुल्मीका श्रेष्तेदार दुर्गा बस्यालले संरक्षण गृह नहुँदा न्याय प्रणालीमा समेत समस्या रहेको बताए । उनले पीडित महिला बालबालिका र उनीहरूका साक्षी गाउँमा फर्किएर जाँदा आरोपित पक्षबाट पीडित माथी धम्की र प्रलोभन आउने, पीडित र उनीहरूका साक्षीले वयान फेर्ने तथा कतिपय अवस्थामा मुद्दा नै छाडेर म्याद समाप्त गरिदिने जोखिम रहेको बताए ।
गुल्मीमा बाल इजलास भए पनि बाल संरक्षण गृह नहुँदा बालबालिका समबन्धि घटनाको अनुसन्धान, अभियोजन र निणर्य प्रकृयामा प्रभाव परेको न्यायकर्मीहरुले बताएका छन । अहिले बालबालिकाको हकमा सुधार गृह पठाउने गरिए पनि अन्यका लागि भने निकै समस्या रहेको छ ।
महिला तथा बालबालिका माथी भएका कतिपय घटनामा परिवारका सदस्य र आफन्तहरु बिचमा हुन्छन् । उनीहरूका विरुद्ध उजुरी गरेपछि घरमा फर्कने वातारवण सहज नहुने भएकाले संरक्षण दिएर राख्ने स्थान जिल्लामा अपरिहार्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए । विभिन्न किसिमका हिंसामा पर्ने पीडित व्यक्तिहरुको संख्या बढ्दै गएको भएपनि दिर्घकालिन पुर्नस्थापना केन्द्र नहुँदा हिंसामा परेका व्यक्तिहरुलाई राख्न गैरसरकारी संघ संस्थासंग बिन्ती बिसाउनुपर्ने अवस्था रहेको बस्नेतले बताए । ‘पीडित र पीडिकलाई प्रहरी चौकीमै राख्ने कुरा भएन, अहिलेसम्म अम्मरकल्याणलाई गुहारेका छौ,’उनले भने,‘त्यहाँ पनि दुई रात राख्ने अवस्था छैन् ।’
पुर्नस्थापना केन्द्र नै समस्यामा
अमरकल्याण बहु–उदेश्य महिला सहकारी संस्थामा संचालन भइरहेको ‘पुनस्थापना सेवा केन्द्र’ जिल्लामै एक हो । जो आफै समस्या छ । उक्त केन्द्रमा बढीमा पाँच जनासम्मलाई सेवा दिन सकिन्छ । तर त्यो भन्दा बढी पीडित आएमा संस्थाले थेग्न सक्दैन । कार्यालयमा फर्निरचको पनि अभाव छ । सहकारीको व्यावस्थापक अन्जु पन्थीले केन्द्रको भौतिक व्यावस्थापनसंगै आफुहरुलाई तालिम र कानुनी शिक्षा आवश्यक रहेको बताइन् । ‘हामीलाई कानुनी तालिम छैन, जसले गर्दा पीडितहरुलाई उचित सल्लाह दिन सकिरहेका छैनौ,’ पन्थीले भनिन्, ‘आर्थिक सहयोग र तालिम भए केन्द्र व्यवस्थापनमा सहयोग पुग्थ्यो ।’
जिल्लामा अमरकल्याण बहु–उदेश्य महिला सहकारी संस्थामा मात्रै आपत्कालिन पुर्नस्थापना केन्द मात्रै हो । २०७३ सालबाट तत्कालिन महिला तथा बालबालिका कार्यालयको सामुदायिक सेवा केन्द अन्तरगतको सहकारीमा ‘पुर्नस्थापना केन्द्र’ संचालन गरेको हो । जसमा अशं मुद्धा, विचल्लीमा परेका बालबालिका, गाली बेइज्यती, घरेलु तथा महिला हिसां लगायतका समस्यामा परेका महिला तथा बालबालिकाको संरक्षण गरिन्छ ।
जिल्ला बाल संजालको नेतृत्वमा तम्घासका होटेलबाट उद्धार गरिएका बालबालिका अभिभावक र होटेल मालिकलाई नै हस्तान्तरण गरिदै ।