जिल्ला समाचार

गुल्मीमा पनि निजामति सेवा दिवस मनाइयो, खेलकुद देखि सम्मान सम्म

टोपलाल अर्याल
गुल्मी, २२ भदौ । गुल्मीका विभिन्न कार्यक्रम गरेर निजामति सेवा दिवस मनाइएको छ । ‘सक्षम निजामती प्रशासन: विकास, समृद्धि र सुशासन’ यो बर्षको नारा रहेको थियो । निजामती सेवा दिवस मूल समारोह समिति गुल्मीको भदौ ११ गतेको बैठकले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको थियो । दिवसकै अवसरमा सरसफाई, खेलकुद प्रतियोगीता, सेवारत कर्मचारी मध्येबाट सबैभन्दा बढी राष्ट्रसेवा गरेका कर्मचारीलाई दिर्घसेवा सम्मान र सेवा निवृत्त निजामती कर्मचारी मध्येबाट सबैभन्दा जेष्ठ कर्मचारीलाई सम्मान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।

राष्ट्रसेवक महिला कर्मचारीबीचको म्यूजिकल चेयर प्रतियोगिताको प्रथम जिल्ला हुलाक कार्यालयमा कार्यरत जयन्ती पाण्डे र द्धतिय कोष तथा लेखा नियन्त्रणको कार्यालयकी लेखापाल सीता भण्डारी भएको मुल आयोजक समितिले जनाएको छ । त्यस्तै निजामती कर्मचारीहरुबीचको व्याडमिन्टन प्रतियोगिताको जिल्ला प्रशासन कार्यालयका जयश्वर पन्थी र गुल्मी अस्पतालका हुम बहादुर पल्ली प्रथम भएका छन् । मदन भण्डारी राजमार्गका चर्तुभुज पन्थी र सुनित केसी द्धतिय भएका छन् । भने जिल्ला प्रशासन कार्यालयका कृष्ण पन्थी र वन डिभिजन कार्यालयका नविन पन्थी, चन्द्रकोट गाउँपालिकाका शिव बस्नेत र सुन्तला जोनका कृष्ण प्रसाद भण्डारी तृतिय भएका छन् ।

राष्ट्रसेवक कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटवल खेल भएको थियो । दिवसकै अवसरमा सेवा निवृत्त कर्मचारीहरुमध्ये सबैभन्दा जेष्ठ निजामती कर्मचारी रेनपा वडा १ का ८९ बर्षीय केशर बहादुर थापा र सेवारत निजामती कर्मचारीहरु मध्ये सबैभन्दा बढी राष्ट्रसेवा गर्ने मालपोत कार्यालय तम्घास गुल्मीका कार्यालय सहयोगी मान प्रसाद सुवेदीलाई सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । साथै इस्मा गाउँपालिका ३ का रेशम कुमाललाई शैक्षिक सामग्री, पोशाक र खाजा रकम वितरण गरिएको छ । उनलाई नेपाल सरकारको एक विद्यार्थी भर्ना अभियान अन्तर्गत ट्रेड युनियन गुल्मीले गत वर्ष अभिभावकत्व लिएको थियो ।

मुल समारोह समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला न्यायधिश कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रममा अर्का प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै मालिका गाउँपालिकाको आयोजनामा अन्तराष्ट्रिय साक्षरता, निजामति तथा शिक्षा दिवस सम्पन्न भएको छ । बिद्यालयको विभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीलाई सम्मान, एसइइ परिक्षामा गाउँपालिकामा उत्कृष्ट हुने बिद्यार्थीलाई सम्मान, बिद्यार्थीद्धारा मार्च पास, सेवा निवृत शिक्षक र शिक्षा क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले निजामति सेवा र शिक्षा क्षेत्रको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । गाउँपालिका अध्यक्ष रित बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य राम मल्ल ठकुरी, गाउँपालिका उपाध्यक्ष देवा अर्याल, रेसुंगा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशी पन्थी, शिक्षा समन्वय इकाई प्रमुख तथा गाउँपालिकाका वडाध्यक्षहरु, विभिन्न पार्टीका प्रमुख प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन मालिका माविका शिक्षक कृष्ण अर्यालले गरेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D