जिल्ला समाचार

गुल्मीमा नापी कार्यालय आफ्नै भवन छोडेर भाडामा, कार्यालय प्रमुख र ठेकेदारको जुहारी

सन्तोष महतारा
असोज १६, गुल्मी । गुल्मी जिल्लामा रहेको नापी कार्यालय अहिलेसम्म भाडा तिरेर निजी घरबाट सेवा प्रवाह गर्दै आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घासमा रहेको नापी कार्यालयले मासिक १२ हजार ६ सय ५० भाडा तिर्दै आएको कार्यालयले जनाएको छ ।
२०७३ सालमा निर्माण कार्य सुरु भएको नापी कार्यालयको आफ्नै भवनले भने अहिलेसम्म पनि पूर्णता पाएको छैन । भवन निर्माणको बिषयमा निर्माणको जिम्मा पाएको निर्माण कम्पनी र कार्यालय प्रमुख बीच जुहारी चलेको छ । नापी कार्यालय गुल्मीका प्रमुख चुन्न प्रसाद ज्ञवाली र निर्माणको जिम्मा पाएको डि.एन.डि निर्माण कम्पनीका संचालक धनिश्वर गौतमले एकअर्कालाई दोष देखाउँदै आएका छन् । भौतिक रुपमा सम्पन्न भएको नापी कार्यालयको भवनमा केही सामान्य काम मात्रै बाँकी रहेको र कार्यालय सरेपनी काम गर्न सकिने निर्माणको जिम्मा पाएका धनीश्वर गौतमले बताए ।

निर्माणको जिम्मा लिएका गौतमका अनुसार कार्यालयले नै कार्यालय सार्न नचाहेको आरोप लगाए । निर्माण भएको नयाँ भवनमा कार्यालय नसर्दा कर्मचारीहरु निजी घरको साँघुरो कोठामा बसेर सेवा प्रवाह गर्न बाध्य भएका छन् । त्यती मात्रै होइन सेवाग्राही त बाहिर पिँडीमा साथै सडकमा नै बसेर, उभिएर सेवा लिन बाध्य बनेको एक कर्मचारीले बताए । कोरोनाको बहानामा सेवा लिँदा घण्टौं सम्म पीँडी र सडकछेउमा बस्नुपर्ने बाध्यता रहेको त्यहाँ सेवा लिन पुगेका सेवाग्राहीले गुनासो गर्ने गरेका छन् ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष तथा त्यहाँ सेवा लिन पुगेका सेवाग्राही टिका बहादुर जिसीले नापी कार्यालय आफ्नो भवनमा नसर्दा सेवाग्राही दिनभर सडकपेटीमा बसेर सेवा लिन बाध्य भएको बताए । साँघुरो घरबाट सेवा प्रवाह, त्यसैमाथि कोरोना संक्रमणको जोखिमका कारण सेवाग्राहीले दुखदायी स्थितीबाट सेवा लिनु परेको स्पष्ट पारे ।
त्यस्तै जिल्लाको धुर्कोट गाउँपालिका २ पिपलधाराका वडासदस्य समेत रहेका सेवाग्राही बाबुराम केसीले २ दिनसम्म सेवा लिन बसेको बताए । २ दिनसम्म बस्दा नयाँ भवनको निर्माण सम्पन्न भएपनी कार्यालय सर्न नखोजेको अनुभव ब्यक्त गरे । वडासदस्य केसीले साँघुरो घरबाट सेवा प्रवाह गर्दा आफुहरु पिँडीँ मै बस्नुपर्ने बाध्यता रहेकोले नयाँ भवनमा कार्यालय सार्न अनुरोध समेत गरेका छन् । अधिकांश स्थानियहरुले कार्यालयप्रमुखले कार्यालय सार्न नचाहेको धारणा ब्यक्त गरे ।

नापी कार्यालयका गुल्मीका प्रमुख चुन्न प्रसाद ज्ञवालीले भने निर्माण कम्पनीले भवनको काम सम्पन्न नगरेको जानकारी दिए । निर्माण कम्पनीले समयमा काम नसक्दा आफुहरु समस्यामा परेको कार्यालय प्रमुख ज्ञवालीको भनाई छ । निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले भवन निर्माणको प्रतिवेदन आफुलाई नबुझाएकोले कार्यालय सार्न नमिलेको नापी कार्यालय प्रमुख ज्ञवालीले जानकारी दिए ।

कार्यालय प्रमुखले भवन कार्यालय पाल्पालाई दोष देखाउँदै आएका छन् । नापी कार्यालय प्रमुखले नै भवन कार्यालय पाल्पाको विषयमा म बोल्दिनँ भन्दै पछाडी सर्न खोज्नुले कार्यालय प्रमुखको नै निर्माण कम्पनीसँग मिलेमोतो हो कि भन्ने समेत आशंका उब्जिएको छ । नयाँ भवनको निर्माण सम्पन्न नभएको कारण कार्यालय नसरेको भन्ने प्रतिक्रिया दिने कार्यालय प्रमुख ज्ञवालीले निर्माणको जिम्मा लिएको कम्पनीको म्याद सकिएको लामो समयसम्म पनि चुपचाप बसेको छन् ।

नापी कार्यालयको भवन २०७४ भाद्र २० गते २ करोड १९ लाख लागतमा निर्माण सुरु भएको थियो । भवन निर्माण सुरु भएको ४ वर्ष वितिसक्यो । निर्माण सुरु गरिएको १८ महिनाभित्र भवनको निर्माण सम्पन्न गर्नुपर्ने थियो । ४ वर्ष वितिसक्दा पनि कार्यालय प्रमुख र निर्माण कम्पनीका संचालक बीच चलेको जुहारीले भवन अलपत्र परेको छ । निर्माण कम्पनीले भवन सम्पन्न भएको भनेर दाबी गर्ने, कार्यालय प्रमुख यस बिषयमा चुप लागेर बस्नुले लज्जास्पद बनाएको छ ।

भवनको निर्माण सम्पन्न भएको भए कार्यालय सर्नुपर्ने , निर्माण सम्पन्न नभएको भए निर्माण कम्पनीलाई दबाब दिनुपर्ने कार्यालय प्रमुख नै चुप बस्नुले आशंका उत्पन्न गरेको छ । निजी घरको साँघुरो कोठाबाट सेवा दिएर स्थानीयलाई पिँडीमा राखेर कष्टकर रुपमा सेवा दिएका कार्यालय प्रमुखले नापी कार्यालयका कुनै कर्मचारीलाई कोरोनाको संक्रमण नभएकोमा गर्व गरे । त्यसो त नापी कार्र्यालय आफ्नै नयाँ भवनमा सर्ने हो भने सेवाग्राहीले पनि सास्ती खेप्नुपर्ने थिएन । साथै कोरोनाको संक्रमणबाट पनि बच्न सहज हुने सेवाग्राहीको भनाई छ । जिम्मेवार निकायबीच जुहारी चल्दा सेवाग्राहीलाई सास्ती पुगेको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D