टोपलाल अर्याल
गुल्मी, १८ असार। बढ्दै गएको शहरीकरणका कारण तम्घास बजारमा खानेपानी संकट जटिल बन्दै गएको छ । तम्घासमा अघिल्ला बर्षहरुमा चैतदेखि जेठसम्म खानेपानी समस्या हुने गथ्र्यो । तर अहिले असोज/कार्तिक महिनाबाटै खानेपानीको समस्या देखिएपछि झनैै समस्या थपिएको छ ।

खानेपानी संकट भएपछि होटल व्यावसायी, घर भाडामा बसेका नागरिक, अस्पताल, ठुला कार्यालय र जिल्ला कारागारमा समेत खानेपानी संकट प¥योे । खानेपानी संकट बल्झिदै गएपछि अहिले जिल्लामा विभिन्न स्थानमा डीप बोरिङ मार्फत खानेपानी संकलन तथा वितरण थालिएको छ । छोटो समयमै खानेपानी प्राप्त हुने भएपछि सदरमुकामदेखि गाउँसम्म डीप बोरिङ्गबाट पानी निकाल्ने क्रम बढि रहेको छ । जसका कारण यो प्रविधीको प्रयोगले नागरिकमा क्षणिक उर्जा मिलेको छ ।
एक हजार घरधुरीलाई राहत
खानेपानीको ठुलो संकट रहेको रेसुङ्गा नगरपालिका ९ को उपल्लो तम्घासमा डीप बोरिङ्गको पहिलो परिक्षण गरिएको थियो । त्यो परिक्षण सफल भएपछि नगरका अन्य स्थानमा पनि डीप बोरिङको प्रयोग गरिएको वडाध्यक्ष नारायण बरालले बताए । अहिले उपल्लो तम्घासमा दुई स्थानबाट पानी तानिएको छ । जसका कारण पाँच सय २१ उपभोक्ता प्रत्यक्ष लाभाम्बित भएका छन् । खानेपानीको सहज आपूर्ति र पिउनयोग्य देखिएपछि वडा नं ८ को बसपार्क र खानीगाउँमा पनि डीप बोरिङ मार्फत खानेपानी वितरण थालिएको छ । वडा नं ८ सहित अन्य वडा गरि तत्काल चार सय २२ घरधुरीमा समेत खानेपानी व्यावस्थापन गरिएको वडाध्यक्ष भरत भलामीले बताए ।
बजार थेग्ने मुल नै सुके
प्रयाप्त पानी हुने सदरमुकाम तम्घासका पँधेरा पनि अहिले सुक्दै गएका छन् । जसका कारण पँधेरा पुगे पनि पानी पाइदैन् । बजारका धेरैलाई खानेपानी थेग्ने तीन धारा, चारी खोला र चिदिचौरका खानेपानी मुहानले सुक्दै गएका छन् । खानेपानी सुक्दै गएपछि रेसुङ्गा नगरपालिकाले बजार क्षेत्रमा ट्याङकर मार्फत खानेपानी वितरण ग¥यो । रेसुङ्गा नगरपालिकाले ट्याङकर मार्फत नागरिकलाई प्रति लिटर ५० पैसाका दरले खानेपानी वितरण गरेको नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतमले बताए । अहिलेसम्म करिव एक सय ५० ट्यांकर पानी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
सुख्खाग्रस्त क्षेत्र घोषणा
खानेपानी संकट समाधान गर्न रेसुंगा नगरपालिकालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरि तीन चरणका योजना अगाडी सारेको नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । नगरपालिकाले दिर्घकालिन समाधानका रुपमा मजेङ खानेपानी योजना अगाडी बढाएको छ । यो लिफ्टिङ खानेपानीको डिपिआरका लागि दुई करोड बिनियोजन गरिएको भुसालले बताए । मजेङ खानेपानी योजना सफल भए नगरपालिकाका सवै स्थानमा खानेपानी पुग्ने अपेक्षा गरिएको छ । भने बैकल्पीक समाधानको लागि डीप बोरिङ, मुल व्यावस्थापन र ट्याङर मार्फत खानेपानी वितरण लगायतका काम भएको उनले जानकारी दिए । आफु निर्वाचित भएदेखिनै नगरको खानेपानी संकटको बिषयमा गम्भिर भएकाले कार्यकालभित्रै त्यो सपना पुरा गर्ने मेयर भुसालले बताए ।
नदि किनारमै खुसी
कालीगण्डकी नदि किनारको रिडि बजारमा बर्षौदेखि खानेपानी संकट रह्यो । व्यापारिक केन्द्र र ठुलो धार्मिक स्थलमा खानेपानी संकट भएपछि धेरैलाई समस्या रहेको थियो । तर अहिले डीप बोरिङ मार्फत घर–घरमै खानेपानी आएपछि स्थानीय खुसी भएका छन् । करिब २४ लाख रुपैयाँको प्रारम्भिक बजेबाट योजना निर्माण सुरु गरिएको थियो । बाँकी बजेटको व्यावस्था पनि प्रदेश सकारले उपलब्ध गराउने छ । खानेपानी संचालन भएपछि रिडि बजारमाका करिब दुई सय ५० घरधुरी लाभान्वित भएका छन् । यो आयोजनाको पानी रिडि बजार, लामाचौपारी तथा बिष्णु पन्जर लगायतको क्षेत्रमा वितरण गरिने रुरु संयुक्त खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष फर्सुराम पौडेले बताए ।