जिल्ला समाचार

गुल्मीमा ट्राफिक सप्ताह सकियो: ओभर लोड देखे, एक हप्ता हल्टेज

टोपलाल अर्याल
गुल्मी, २० बैशाख । गुल्मीमा ट्राफिक सप्ताह सकिएको छ । जिल्ला ट्राफिक प्रहरीले कारबाहीको स्वरुप बदल्ने भएको छ । कार्यालयले अव ट्राफिकको काम रसिद काट्ने मात्रै नभएर गाडी छोपेर हल्टेज राख्ने र चालकलाई कानुन अनुसार कारबाही गर्ने योजना अगाडी सारेको छ । अहिले चालकहरुले ट्राफिकको लोकेशन बुझ्न चालक–चालक र चाकल–होटेलबिच दैनिक सुचना आदान–प्रदान गर्दछन् । चालकले चेक प्वाइन्ट नआउँदै यात्रु ओरालेर समेत प्रहरीको आँखा छल्ने र पछि पुन बोक्ने गरिरहेका छन् ।

नागरिकहरुको व्यावपक गुनासो आएपछि बाध्य भएर कारबाहीको स्वरुप थप गरिएको कार्यालयका निमित्त प्रमुख प्रहरी सहायक निरिक्षक नारायण खनालले बताए । अहिले मौका पाए प्राइभेट वा सार्वजनिक सवारी साधनले क्षमताभन्दा तेब्बर यात्रु समेत बोक्छन् । भने पछिल्लो समय सार्वजनिक सवारी साधनले भन्दा प्राइभेट गाडीेले यात्रु ओसार–पसार गरिरहेका छन् ।

‘रातो नम्बर प्लेट पारिवारीक मात्रै भएकाले यात्रु बोके गैरकानुनी हुन्छ’, एसपी दिपक कुमार वस्नेतले भने, ‘दुर्घटना भए यात्रु थप जोखिमा पर्छ ।’ उनले नागरिक समुदाय र चालक आफै सचेत नभएसम्म चोर प्रवृति अन्त्य गर्न प्रहरी एक्लैले नसक्ने बताए । सानो लाप्रबाहीले एक व्यक्ति मात्रै नमर्ने भएर त्यसका कारण परिवारमा पुग्ने क्षेति खतरनाक हुने भएकाले जहिले गम्भीर हुने बस्नेतले चालकहरुलाई आग्रह गरे । उनले रातो नम्बर प्लेटको बिकृति बढेकाले गाडीले मान्छे बोकेर सामान्य गल्ती गरेपनि नछोडने चेतावनी दिए ।

गुल्मीमा प्रत्येक बर्ष सवारी साधन बढ्दै छन् । कारबाही पनि रोकिएको छैन । प्रहरीको चेकिङ्ग स्र्पोट र कति तिर्ने, चालकलाई कठस्थ छ । यो बर्षौको प्रवृति हो । जसका कारण सवारी नियम उल्ङघन गर्ने दर घट्दै गएको छैन् । ‘ट्राफिक बाटोमा जरिवानाको रसिद लिएर बस्ने र चालक आएर निश्चत जरिवाना तिर्ने पुरानो प्रवृति कायम छ,’ रेसुंगा नगरपालिका ८ का इश्वरी कुवंरले भने,‘ सवारी कारबाही न्यूनिकरणमा सम्बन्धित निकाय कर्मकाण्डी मात्रै भए ।’ रसिद काटेरै दैनिक उम्कने प्रवृतिले कहिल्यै सवारी नियम उल्ङघन दर नघट्ने उनको भनाई छ । त्यस्तै नागरिक समाजका अध्यक्ष पदम प्रसाद पाण्डेले नागरिक समुदाय, व्यावसायीको सहयोग र प्रहरीको सक्रियता भए मात्रै यातयातको क्षेत्रमा देखिएको समस्याको समाधान गर्दै दुर्घटना न्यूनिकरण गर्न सकिने बताए । गुल्मी उद्योग बाणिज्य संघका महासचिव तारा भुसालले चालक र व्यावसायीहरुलाई पेसाप्रति बफादार भएर लाग्नुपर्ने सुझाव दिए ।

सदरमुकाम तम्घासको जनसंख्या धेरै छ । बजारका सडक अत्यन्तै साँघुरो छन् । त्यसैमाथी निर्माण सामग्री । दैनिक दुई÷तीन पटक ठुलै जाम हुने गरेको छ । सडक जाम हुने अवस्थालाई न्यूनिकरण गर्न दिउँसो ३ देखि साँझ ५ बजेसम्म सामान लोड–अनलोड नपाउने सम्झौता समेत जिल्ला प्रशासन कार्यालयमा गरिएको छ । त्यति मात्रै नभएर रेसुङ्गा नगरपालिकाले ‘नो पार्किङ’ को नीति समेत पारित गरेको थियो । तर प्रशासनको सम्झौता र नगरपालिकाको निर्णय अलपत्र परेको छ । ‘साँघुरो सडकनै प्रमुख समस्या हो, तत्काल बिकल्प पनि छैन त्यसमाथी सचेतले समेत टेर्दैनन,’निमित्त टा«फिक प्रमुख प्रहरी सहायक निरिक्षक नारायण खनालले भने,‘एकतर्फी सडक संचालनका बिषयमा सोचिरहेका छौ ।’

जिल्लामा बजार र सवारी साधनको बढ्र्दै गएका छन् । तर टा«फिक प्रहरीको दरबन्दी न्यून रहेको छ । अहिले जिल्लाका जिल्ला ट्राफिक प्रहरी कार्यालय र तीन अस्थायी पोष्ट १३ जनाको भरमा छन् । जिल्लामा नौ जनाको दरबन्दी भए पनि चार जना कागजमा गरि १३ जना रहेको प्रहरी सहायक निरिक्षक नारायण खनालले बताए । जस अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा छ , रिडि अस्थायी प्रहरी पोष्टमा तीन तथा जुहाङ्ग र श्रृङा अस्थायी दुई÷दुई जना प्रहरी रहेका छन् । प्रहरी सहायक निरिक्षक खनालले अहिलेको दरबन्दीनै अत्यन्तै न्यून भएकाले अझै १०÷१२ जना आवश्यक रहेको बताए । उनले अहिलेका बाहेक वामी, सिमलटारी, पुर्कोट र भुवाचिदी लगायतका बजारमा नयाँ पोष्ट आवश्यक रहेकाले जनशक्तिका कारण समस्या भएको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले नौ महिनामा करिव पाँच हजार सवारी साधन कारबाही गरेको छ । गत साउनदेखि चैतसम्म चार हजार सात सय ५७ सवारी साधन कारवाहीबाट २८ लाख ६४ हजार राजस्व समेत संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यो अवधिमा सबैभन्दा बढी दुई हजार ३८ मोटरसाईकल कारबाहीमा परेका छन् । जसबाट १३ लाख ३२ हजार राजस्व संकलन गरिएको हवल्दार देवी पौडेलले जानकारी दिए । साउनदेखि चैतसम्म सबैभन्दा बढी पुष महिनामा राजस्व संकलन भएको छ । पुषमा छ सय ४० सवारी साधनबाट कुल तीन लाख ७९ हजार राजस्व संकलन भएको छ ।
सप्ताहकै अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटनाबाट न्यूनिकरण गर्न सवारी चालक र सह–सह चालकको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । कुनै शारीरिक स्वास्थ्य समस्याको कारण दुर्घटना नसोस् भन्ने उदेश्यले बसपार्कमै ६० जना चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण गरेको हो ।

उनीहरुको आँखा, व्लड प्रेसर, टाउको दुख्ने लगायतका समस्याहरुको जाँच गरि औषधी प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार देवि पौडेलले जानकारी दिए । त्यस्तै ट्राफिक सप्ताहकै अवसरमा प्रहरीले विभिन्न चोक तथा बजार क्षेत्रमा सवारी चालक र पैदल यात्रु सम्बन्धी जनचेतना कार्यक्रम पनि संचालन गरिरहेको छ । ‘दुर्घटना न्यूनिकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने मुख्य उदेश्यका साथ सुरु भएको ट्राफक सप्ताह कार्यक्रम अन्तरगत जनचेतना मुलक कार्यक्रम सुरु गरिएको हो । सडक प्रयोगकर्ताहरुलाई सुरक्षित यात्राका लागि बजारका चोक–चोकमा सवारी चालकलाई सवारीको गति नियन्त्रण गराउने, यात्रुहरुलाई सडकको दाहिने किनारबाट हिड्न लगाउने, सीट क्षमताभन्दा बढी यात्रु नराख्न लगाउने कार्यहरु गरिएको ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D