जिल्ला समाचार

गुल्मीमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध अन्तरक्रिया सम्पन्न

रमेश विश्वकर्मा
गुल्मी, जेठ २४ । गुल्मीमा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सबैका लागि घर–घरमा मानव अधिकार शान्ति र विकासको मुल आधार” भन्ने नाराका साथ जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार भन्ने विषयमा राष्ट्रिय मानव अधिकार आयोगको ललितपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा दलित अधिकारकर्मी गणेश विश्वकर्माले गुल्मीमा भएको जातीय भेदभाव तथा छुवाछुतको बारेमा जानकारी गराए । उनले दलित समुदायलाई अरु गैर दलितलाई जस्तै समान व्यवहार गर्नुपर्ने बताए । दलितले पनि गैर दलितले जस्तै आफ्नो हक अधिकार खोजेका छन उनले भने –“दलित समूदाय बच्चाहरुलाई दलित र छुवाछुत भन्ने शब्द नसुनाउने ।” पछिल्लो समय देशव्यापी रुपमा दलितको नाममा धर्म परिवर्तन गराएको, दलित समूदायमा अत्याधिक मात्रामा भ्रम छर्ने काम भईरहेको बताउँदै हामीले यो विषयमा हामीले गम्भीर भएर सोच्नुपर्ने बताए ।

त्यस्तै जातीय भेदभाव तथा छुवाछुत दलितको मात्र समस्या नभएर सिंगो राष्ट्रको नै समस्या हो, यस्तो समस्या शासक वर्गहरुबाट नै भएको बताए ।

दलित अधिकारकर्मी रोम विश्वकर्माले धर्मको नाममा गैर दलितले दलितलाई विभेद गरेको बताउँदै मन्दिर सबैको साझा हो, निर्माण कार्य दलित समूदायबाट हुन्छ तर दलित समूदायलाई प्रवेश निषेध गरिन्छ, किन भन्दै प्रश्न गरेका थिए ।

दलित अगुवा ईश्वरी परियारले समाजमा सबैलाई समान व्यवहार गरेमा मात्र यो जातीय भेदभाव तथा छुवाछुत हट्ने बताईन् । त्यस्तै धुर्कोट गाउँपालिका वडा नं। ३ निवासी दयासागर विश्वकर्माले दलित समूदायको हकहितका लागि विभिन्न राजनीतिक दल पनि सक्रिय भएमा यो जातीय विभेद हट्ने बताए ।

नेपाल बार एसोसिएसन गुल्मीका अध्यक्ष गोपाल खनालले भित्री रुपमा जातीय भेदभाव भएको लुकेर बसेको भित्र पिडा देखिएको तर यसलाई दलित समूदायबाट नै बाहिर निकाल्न नखोजिएको बताए । नागरिक समाजका अध्यक्ष पदम प्रसाद पाण्डेयले नेपालमा जातीय विभेद सबैको समस्या हो, समस्या दलित गैरदलित दुबैमा भएको हुनाले यसलाई समाधान गर्ने तर्फ लाग्नुपर्ने बताए ।

विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष शुरेसचन्द्र भुसालले हिन्दु धर्मले कसैलाई पनि विभेद गर्नुपर्छ भनेर भनेको छैन । कसैले गर्यो भन्दैमा त्यस्को सबै दोष हिन्दु धर्मलाई दिन मिल्दैन् भन्दै अहिले आर्थिक प्रलोभनमा पारेर विपन्न वर्गलाई धर्म परिवर्तन गराउने कुप्रथा भित्रिएको बताए ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले जातीय विभेद गर्नु हुँदैन भन्ने थाहा सबैमा हुँदाहुँदै पनि व्यवहारिक कार्यान्वयनमा कठिनाई देखिएको बताए । स्थानीय सरकारले जनचेतना मूलक कार्यक्रम गर्नुपर्छ, पछिल्लो समय विस्तारै सुध्रदै गएको छ । यस्तो विभेद हुने मूख्य कारण अशिक्षा भएको भन्दै शिक्षा तथा जनचेतना मूलक कार्यक्रममा विशेष जोड बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख दिपक कुमार बस्नेतले समाजमा रहेका दलितहरुको चेतना र जीवनस्तरलाई उकास्नका लागि राज्यले उनीहरुमा लगानी गर्नुपर्ने बताए । आर्थिक विपन्नताका कारण कतिपय दलितका बच्चाहरु शिक्षा लिनबाट बञ्चित भएको भन्दैे उनले ‘बिहान साँझ के खाउँ भन्ने समस्याकै कारण दलित अभिावकले बालबच्चाको शिक्षामा ख्याल गर्न नसकिरहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले अधिकांश समस्या आर्थिक विपन्नता कै कारण देखिएकाले आर्थिक रुपले उकास्न जरुरी रहेको बताए । उनले कानुनी र संवैधानिक रुपमा जातीय विभेद्को अन्त्य भएपनि न्याय प्राप्तिको प्रक्रियामा कहाँ र कसरी जानुपर्छ भन्ने बिषयमा नै आयोग केन्द्रित भईरहेको बताए ।

जिल्ला अदालत गुल्मीका न्यायाधीश राम प्रसाद न्यौपानेले वर्तमान समयमा ज्ञान नै शक्ति भएको बताउँदै अहिलेको समय भनेको ज्ञानको प्रतिस्पर्धा गर्ने समय हो । अब पनि यस्ता विभेद्मा कोही अल्झीन नहुने भन्दै यसको सुरुवात सामाजका अग्रजबाटै गनुपर्ने बताउँदै यस्तो समस्या भए पनि पीडितहरु न्यायको ढोका सम्म आउन नसकेको बताए । अन्तरक्रियामा कार्यक्रममा वक्ताहरुले जातीय छुवाछुत तथा भेदभाव अत्यधिक हुनुको मुख्य कारण अशिक्षा, आर्थिक विपन्नता र गरिबी भएको बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D