कोरोनाजिल्ला समाचार

गुल्मीमा गाउँ–गाउँका क्वारेन्टाइन भरिए, ४ दिनमा भारतबाट २ हजार बढि जिल्ला भित्रिए

टोपलाल अर्याल
गुल्मी, १७ जेठ । गुल्मीमा भारतबाट पछिल्लो चार दिनमा मात्रै दुई हजार ३६ जना गाउँ आएका छन् । प्रत्येक स्थानीय तहमा कम्तिमा एक हजार नागरिक भारतबाट आउने प्रारम्भिक अनुमान गरिएको छ । अहिलेसम्म धुर्कोट गाउँपालिकामा सवैभन्दा बढि तीन सय ३० जना भारतबाट आएको धुर्कोट गाउँपालिकाको कोरोना बिशेष सूचना अधिकारी डिल्लीराज पराजुलीले जानकारी दिनुभयो । गाउँपालिकाका ७ वटै वडामा सवै तहका बिद्यालयमा क्वारेन्टाइन वेड निर्माण गरेर व्यावस्थापनको काम भइरहेको छ ।

गाउँपालिकाले संक्रमण सुरु भएदेखि अहिलेसम्म क्वारेन्टाइनमा बसेका ८४ जनाको आरडिटी र ५९ जनाको पिसिआर पद्धतिबाट कोरोना परिक्षण गरिएको पराजुलीले बताउनुभयो । धुर्कोट गाउँपालिकामा आहिलेसम्म दुई जनाको कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै इस्मा गाउँपालिका दुई ३९ जना भारतबाट आएका छन् । गाउँपालिकामा अहिलेसम्म स्वदेश तथा भारतबाट आएका तीन सय ३८ जना क्वारेन्टाइनका बसे । भने ७७ जनाको आरडिटी परिक्षण गरिएको गाउँपालिकाका सूचना प्रविधी अधिकृत बाबुलाल थापाले जानकारी दिनुभयो । गाउँपालिकाले २० स्थानमा क्वारेन्टाइन निर्माण गरेको छ । आफुहरुले पुर्व तयारी गरेका वेडहरु सवै भरिएकाले स्थानीयसंग सहयोग मागेर नजिकैको बिद्यालयमा व्यावस्थापन गर्नुपर्ने अवस्था रहेको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताउनुभयो ।

मदाने गाउँपालिकामा भारतबाट पछिल्लो समय एक सय ३१ जना आएका छन् । गाउँपालिकाले १८ स्थानमा क्वारेन्टाइन बेड निर्माण गरेर व्यावस्थापन गरिरहेको सूचना अधिकारी क्रृषिराम पोख्रेलले जानकारी दिनुभयो । उहाँले शुक्रबार एक जना कोराना संक्रमितको सम्पर्कमा आएका २३ जनाको स्वाब संकलन गरेर रुपन्देहि पठाएको बताउनुभयो । मुसिकोट नगरपालिकामा तीन सय २६ पुरुष र २७ महिला गरेर तीन सय ५३ जना भारतबाट आएका छन् । उनीहरुको व्यावस्थापन गर्न नगरपालिकाका ४७ स्थानमा क्वारेन्टाइन निर्माण गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिनुभयो । वडाहरुमा पहिलेबाटै बिद्यालयमा क्वारेन्टाइन निर्माण गरिएकाले अहिलेसम्म सहज व्यावस्थापन भएको मेयर सोमनाथ सापकोटाले जानकारी दिनुभयो । उहाँले आफुहरुले वडा–वडामा वडाध्यक्षसहित सम्पर्क व्यक्तिहरु तोके विभिन्न माध्यमबाट सूचना जारी गरेकाले सम्पर्क गरेर आए भारतका नाकाबाट गाउँसम्म कुनै समस्या नरहेको बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाकामा दुई सय ९० जना भारतबाट आएकाहरुलाई बिद्यालय र क्याम्पस गरेर आठ ठाउँमा व्यावस्थापन गरिएको छ । अझै भारतबाट आउनेहरुको संख्या बृद्धि भइरहेकाले वडाहरु क्वारेन्टाइन बनाउने काम भइरहेको स्वास्थ्य संयोजक बोम अर्यालले बताउनुभयो । मालिका गाउँपालिकामा एक सय १४, गुल्मी दरवार गाउँपालिकामा एक सय ५९, रुरु क्षेत्र गाउँपालिकामा एक सय १३, सत्यवति गाउँपालिकामा एक सय २६ र कालिगण्डकी गाउँपालिकाका २२ जना भारतबाट आएका छन् । त्यस्तै छत्रकोट गाउँपालिकामा दुई सय २० जना भारतबाट आएकाले १४ स्थानमा क्वारेन्टाइन बेड निर्माण गरेर व्यावस्थापन गरेको स्वास्थ्य संयोजक पुण्यप्रसाद पौडेलले जानकारी दिनुभयो ।

चन्द्रकोटमा पनि भारतबाट आउनेहरुको दैनिक बृद्धि भइरहेको छ । अहिलेसम्म एक सय ९ जना भारतबाट आएकाले गाउँपालिका भित्रका सम्पूर्ण सरकारी तथा सामुदायिक भवनहरुमा उनीहरुको व्यावस्थापन गरिएको छ । क्वारेन्टाइनले थेग्ने अवस्था नभएकाले समुदाय स्तरमा थोरै–थोरै संख्यामा राख्न थालिएको गाउँपालिका प्रमुख दोर्ण बहादु खत्रीले जानकारी दिनुभयो । उहाँले धेरैको संख्यामा राख्दा सक्रमण हुने, अनेक बिचार उत्पन्न हुने र थोरै जनशक्तिले व्यावस्थापन गर्न पनि गाह्रो हुने भएकाले समुदायलाईनै सक्रिय बनाउँदै गाउँ–गाउँमा व्यावस्थापन गरिएको बताउनुभयो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D