जिल्ला समाचार

गुल्मीमा खुल्ला दिसामुक्त क्षेत्र कार्यान्वयनमा समस्या

हुमाकान्त पोखरेल
गुल्मी, २३ वैशाख । २०७२ साल असार २६ गते तत्कालिन उपराष्ट्रपति परमानन्द झाले गुल्मीलाई खुल्ला दिसामुक्त तथा पूर्ण साक्षर जिल्ला घोषणा गरे । गाउँदेखि जिल्लासम्म धेरैले मस्ती गरे, लाखौँ रुपैयाँ पनि खर्च भयो । तर गाउँका केहि बस्तीहरुमा पुग्दा खुल्ला दिसामुक्त कागजी घोषणा मात्रै छ । जिल्लाका धेरैजसो दलित र विपन्न घरहरुमा चर्पीको व्यावस्थापन राम्रो छैन् ।

गुल्मीको धुर्कोट गाउँपालिका २ पिपलधारा र ७ वाग्लाको दलित पुग्दा गुल्मीलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न अझै केही बर्ष लाग्छ । ‘जिल्ला घोषणा भएको तीन बर्ष भएपनि मानिसमा चेतना आउन सकेन,’इस्मा गाउँपालिका ५ का नारायण पैयाँनीले भने,‘चर्पी बनाउन दिएका साइफन आँटीमै छन् ।’ धुर्कोट गाउँपालिकाको २ को पिपलधारामा मात्रै ४७ परिवारको चर्पी ब्यवस्थित नभएको गाउँपालिकाका वास संयोजक छविलाल विश्वकर्माले बताए । गाउँपालिकाका अन्य वार्डहरुमा पनि कम्तिमा १५ देखि २५ घरपरिवारको चर्पी ब्यवस्थित नभएको उनले बताए । चर्पी नै नबनाएका घरहरु पनि भेटिने गरको विश्वकर्माले बताए ।

toilet in gulmi
गुल्मीको धुर्कोट गाउँपालिका २ पिपलधारामा प्रयोगबिहिन भएको शैचालय

त्यस्तै इस्मा गाउँपालिकाका ४, ५ र ६ वडामा पनि चर्पीको प्रयोग नगर्ने र नबनाउनेहरुको समेत रहेको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना इस्मा गाउँपालिकाका संयोजक हरी घिमिरेले बताए । घिमिरेका अनुसार इस्मा गाउँपालिकामा १५ प्रतिशत परिवारको घरमा ब्यवस्थित चर्पी छैन । भने पाँच प्रतिशत परिवारले चर्पी नै बनाएका छैनन् ।

मुसिकोट नगरपालिका जनसङ्ख्याको हिसाबले सबभन्दा ठूलो नगरपालिका हो । त्यस नगरपालिकामा पनि धेरै अब्यवस्थित चर्पीहरु रहेका छन् । नगरपालिकाका वास संयोजक सीता भुसालका अनुसार एक वार्डमा न्यूनतम ५०-६० घरका चर्पी ब्यवस्थित छैनन् । ‘नगरपालिकामा चर्पी नबनाएका मानिस कम छन्,’ उनले भनिन्, ‘तर व्यवस्थित नहुनेको संख्या भने बढि छ ।’ जसका कारण नगरपालिकालाई पूर्ण सरसफाई युक्त नगरपालिका घोषण गर्न समस्या परेको उनले बताइन् । मुसिकोट नगरपालिकामा मात्रै पाचँ सय भन्दा बढी परिवारका चर्पी ब्यवस्थित छैनन् । चर्पीमा ढोकाहरु नराखेको, फोहोरो बढी रहेको जस्ता समस्याहरु रहेको भुसालले बताइन् ।

कालिगण्डकी गाउँपालिकामा पनि पाँच प्रतिशत भन्दा बढी परिवारले चर्पी ब्यवस्थित नबनाएको गाउँपालिकाका वास संयोजक शंकर नेपालीले बताए । भुर्तुङ्गका एक सय ५० घरमा पूर्ण सरसफाईयुक्त भएको भन्दै हरियो स्टिकर समेत टाँसिएको नेपालीले बताए ।

जिल्लाकै कतिपय विद्यालयमा चर्पी नै छैनन् । भने भएकाले पनि व्यवस्थित तरिकाले संचालन गर्न सकेका छैनन । भने जिल्लाका विभिन्न विद्यालयहरुमा चर्पी जाँदा नाक छोपेर भित्र पस्ने र फकर्नुपर्ने बाध्यता छ । ‘विद्यालयको चर्पी जाँदा नि नाक छोपेर जानुपर्ने अवस्था रहेछ,‘ स्थानीय एक बिद्यालय पुगेर फर्केका धुर्कोट गाउँपालिका ४ जैसिथोकका कमल कुँवरले भने, विद्यालयमा नै त्यस्तो फोहोर भए अन्त कस्तो होला ?’

चेतना र खानेपानी नै प्रमुख चुनौती

गुल्मी जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएपनि चेतना र खानेपानीका कारण कार्यान्वयनमा समस्या देखिएको छ । अझैपनि जिल्लाका अधिकांश गाउँमा खानेपानीको समस्या बिकाराल छ । ‘खानेपानी पिउने की चर्पीमा प्रयोग गर्ने, एक घण्टामा एक गाग्रो पानी आउँदैन,’इस्मा गाउँपालिका २ दर्लामचौरी माया पछाईले भनिन,‘पानी नभएकाले मान्छे खोल्सामा चर्पी जानुपर्ने बाध्यता छ ।

बिद्यालयहरुको अवस्था पनि उस्तै छ । बिद्यार्थीको संख्या धेरै भएको बिद्यालयमा पिउने पानीको समेत समस्या भैरहेको छ । ‘शौचालय त्यतिकै फोहोर हुने भए, विद्यालयमा पनि पिउनेपानी बेला–बेलामा बोकेर खुवाउनुउँछौ,’ पाञ्चायन मावि जैसिथोकका प्रध्यानाध्यापक कृष्ण चन्द पन्थीले भने, ‘जसोतसो गुजारा चलाएपनि चर्पी भने सफा राख्ने प्रयास गरेका छौँ ।’

गुल्मीका १२ स्थानिय तहका ९३ वडामध्ये करिब ७० वडाका नागरिकहरु खानेपानीको सहज पहुँचमा छैनन् । जिल्लाका रेसुंगा र मुसिकोट नगरपालिका सहित इस्मा, मदाने, मालिका, गुल्मी दरबार, छत्रकोट र रुरु गाउँपालिकाका अधिकांश गाउँमा खानेपानीको समस्या रहेको छ । त्यस्तै नागरिकमा जनतेतनाको अभावले गर्दा चर्पी नबनाएको र बनाएकोले पनि ब्यवस्थित तरिकाले प्रयोग नगरेको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई योजनाका जिल्ला संयोजक विनोद लोहारले बताए । ‘केहि मात्रामा पानीको समस्या भएपनि चर्पी बनाउन आर्थिक विपन्नता खासै छैन्,’ उनले भने, ‘अझै मानिसमा चेतनाको अभाव छ ।’

वाससँग सहकार्य गर्दै स्थानिय तह

गुल्मीमा हाल चार स्थानिय तहहरुमा पश्चिम नेपाल खानेपानी तथा ग्रामिण सरसफाई परियोजना लागु भएको छ । परियोजनाले खानेपानी तथा सरसफाइ सम्बन्धि काम गरिरहेको छ । खानेपानी आयोजना पूर्ण रुपले निर्माण गर्न वासले विभिन्न चार चरणमा काम गर्दै आएको छ ।

जस अन्तरगत पहिलो चरणमा योजना तर्जुमा, दोस्रो चरणमा तालिम, गोष्ठि संचालन, तेस्रो चरणमा निर्माण कार्य सम्पन्न गर्ने र चौथो चरणमा योजना दीगो बनाउने योजनाको विषयमा छलफल गर्ने मुसिकोट नगरपालिका वास इकाई सहजकर्ता राजन घिमिरेले बताए । त्यस्तै समाजलाई पूर्ण सरसफाईयुक्त क्षेत्र बनाउने सम्बन्धमा पनि योजना बनाउने काम वासले गर्दै आएको छ । वाससँग सहकार्य गरी पूर्ण सरसफाईयुक्त क्षेत्र बन्ने प्रयासमा जिल्लाका स्थानिय तह छन् ।

जिल्लाको धुर्कोट, इश्मा र कालिगण्डकी गाउँपालिका तथा मुसिकोट नगरपालिकाले वाससँग सहकार्य गरी खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गरिरहेका छन् । चर्पीको व्यावस्थापनको लागि सरसफाई र पानी प्रमुख तत्व भएकोले वाससँग सम्झौता गरी काम थालिएकोले केहि समयमा अब्यवस्थित चर्पीहरुको व्यावस्थापन गरिने धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

धुर्कोटमा ७८ लाख १५ हजार र इश्मा गाउँपालिकामा ६० लाख ३० हजार, त्यस्तै कालिगण्डकी गाउँपालिकामा ४४ लाख र मुसिकोट नगरपालिकामा दुई करोड छ लाखमा वासले खानेपानी तथा सरसफाई सम्बन्धि काम गरिरहेको वास जिल्ला संयोजक विनोद लुहारले बताए । अन्य स्थानिय तहमा पनि केहि खानेपानीका योजनाहरु भइरहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D