जिल्ला समाचार

गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला शुरु

मेला अवधीभर धार्मिक प्रवचन र भक्तिसंगित

टोपलाल अर्याल
गुल्मी, १ साउन। गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुङ्गामा विगतका वर्षहरुमा जस्तै मंगलबारदेखि साउने मेला शुरु भएको छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकिय दृष्टिकोणबाट निकै महत्वपूर्ण मानिने तपोभूमि रेसुङ्गामा हरेक बर्ष साउने सक्रान्ति देखि साउन महिनाभरनै साउने मेला लाग्ने गरेको छ । साउन महिनामा रेसुङ्गामा रहेको पोखरीमा स्नान गरेमा सम्पूर्ण पापहरु नष्ट भएर पूण्य तथा समृद्धी प्राप्त हुने धार्मीक जनबिश्वास रहेको पण्डित लक्ष्मण रिजालले बताए ।

रेसुंगा स्थित पोखरी जहाँ दर्शनार्थीले नुहाउने गर्छन।

चार धामवाट ल्याएको जल (पानी) रेसुङ्गाको पोखरीमा मिसाईएकोले रेसुङ्गा पोखरीमा स्नान गरेमा पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । रेसुङ्गा पोखरीमा स्नान गरी यज्ञशालाको दर्शन गर्ने दर्शनार्थीहरुको विहानै देखि घुईँचो लागेको छ । मेला भर्नको लागी गुल्मी अर्घाखाँची, पाल्पा, स्याङजा, प्युठान, बाग्लुङ्ग लगाएतका जिल्लाबाट दर्शनार्थीहरु आउने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।

मेला अवधीभर धार्मिक प्रवचन र भक्तिसंगित

यसबर्ष मेला अवधिभर धार्मिक प्रवचन, भक्तिसंगित, सामुहीक रुद्री, ग्रहजप लगायतका कार्यक्रम गरिने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भु्सालले बताए । त्यसैगरी वेद चण्डी, रुद्री, गीता पाठ, पाञ्चायन देवता पुजन, हवन, गरुण पुराण बाचन लगाएतका कार्यक्रम नियमीत रुपमा सञ्चालन हुने समितीले जनाएको छ । रेसुङ्गामा रहेको भ्यु टावरबाट तराईका विभिन्न जिल्लाको समेत अवलोकन गर्न सकिने भएकोले रेसुङ्गाको महत्व अझ वढी छ । हिम श्रृङखला तथा तराईका फाँटहरु अवलोकन गर्न सकीने भएकाले रेसुङ्गा क्षेत्रको भ्रमण आन्तरिक पर्यटकहरुको लागी रोजाई बन्ने गरेको छ ।
यो क्षेत्र धार्मिक दृष्टिले महत्वपुर्ण हुनुका साथै जैविक विविधताले पनि महत्वपुर्ण रहेको छ । यहाँ विभिन्न किसिमका जडिवुटी, वनस्पति, चराचुरुङ्गी तथा प्रसस्त जैविक खानीहरु रहेका छन् । विभिन्न दृष्टिकोणले प्रसस्त संभावना रहेपनि प्रचारप्रचारको अभावमा यो क्षेत्र ओझेलमा परेको तिर्थयात्री पूर्ण बहादुर मगरले बताए । यस क्षेत्रमा एक सय १६ जातका वन्यजन्तु, ३१ प्रजातिका वनस्पति र एक सय ४५ जातिका जडिवुटी पाईने रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।

रेसुङ्गाको पौराणिक गाथा

गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुङ्गामा साउने मेला भर्नेको घुइँचो ।

रेसुङ्गाले सिङ्गो सदरमुकामलाई काखमा राखेको छ । जिल्ला बाहिर जो सुकैले आफ्नो परिचय संगसंगै त्यहि पहाडलाई जोड्छन् । जहाँ महाप्रभु लक्ष्मीनारायणले गुल्मी र अर्घाखाँचीका जनताहरुको सहयोगमा बनाएको ठूलो पोखरी छ । विभिन्न तीर्थस्थलहरुबाट जल र बालुवा ल्याई मिसाएर पोखरीको निर्माण गरिएको छ । रेसुङ्गाको पोखरी प्राचीन कालदेखि नै पवित्र तीर्थस्थलको रुपमा रहेको छ । यदुकानन्दले वि.सं. १९८३ मा बनाएको यज्ञशाला रेसुंगामा छ । सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रेसुङ्गाकै सबैभन्दा ठूलो मन्दिर भएको संरक्षण समितिका पुर्व अध्यक्ष रुद्र बहादुर भुजेलले बताए । यो आन्तरिक तथा बाह्य पर्यटकको लागी निकै आर्कषक रहेको छ ।
यज्ञशाला भित्र भएको हवन कुण्डमा यद्यापि अखण्ड धुनी प्रज्वलित छ । त्यस्तै रेसुंगाकै सवैभन्दा पुरानो सिद्धको मन्दिर देख्न सकिन्छ । त्यस्तै स्वामी शशिधरको समाधी स्थल विष्णु पादुका र लक्ष्मीनारायणको समाधि स्थल पनि रेसुंगामा रहेको त्यससंग जानकारी एवं रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख शशी पन्थीले बताए । रेसुङ्गाको पश्चिमपट्टी रेसुङ्गासँग आम्ने साम्ने उभिएको अर्जुन डाँडाले पनि तम्घास पहिलो पटक आउने अचम्मित हुन्छन् । यो डाँडा अत्यन्तै रमणिय रहेको छ । पाण्डवहरु महाभारतको युद्धपछि स्वर्गद्वारी जाने क्रममा एक भाई अर्जुन माथि डाँडामा गई वसेकोले डाँडाको नाम अर्जुन रहन गएको भन्ने किम्वदन्ती छ । त्यहाँ अर्जुन भगवतीको बिशाल मन्दिर छ । मन्दिरमा वडा दशै, चैते दशै, हरेक आईतवार र मंगलवार पुजा गरिन्छ । अर्जुन डाँडाको दक्षिण पाखामा एउटा रमणिय गुफा छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D