टोपलाल अर्याल
गुल्मी, २९ पुस । मालिका गाउँपालिकामा आठ वटा वडा छन् । दुई वडामा सचिव छैनन् । गत असोजदेखि एउटा सचिवले आलोपालो काम गर्दै आएका छन् । मालिका गाउँपालिका ३ र ४ का सचिव रविन्द्र अर्याललाई एकैदिन दुई वटा वडामा पुग्नुपर्ने बाध्यता छ । ‘दुवै ठाउँ महत्वपूर्ण काम हुँदा निकै समस्या हुन्छ’ उनले भने, ‘एउटा मान्छे कहाँ कहाँ पुग्ने, हप्तामा दिन बाँडेर काम र्गै आएको छु ।’
उनले बिदा बाहेक वडा नं ४ अर्खबाङमा बिहान साँझ तथा दुई दिन र वडा नं ३ ह्वाङदीमा चार दिन पुग्ने गरेको बताए । आफु स्थानीय भएकाले सकेसम्म नागरिकलाई सेवा दिने उदेश्य रहेको अर्यालले बताए । त्यस्तै सोही गाउँपालिकाको ७ र ८ वडामा पनि एक जना सचिवले काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलले बताए ।
दुई वडामा भोट बहादुर केसीले पनि आलोपालो गरेर काम गरिरहेका छन् । उनले वडामा मात्र नभएर गाउँपालिकामा पनि एक जना सुब्बाको काँधमा चार पाँच वटा जिम्मेवारी रहेको बताए । ‘गाउँपालिकामा एक जना मात्र सुब्बा छन्, स्टोरदेखि योजनासम्म उनकै काँधमा छ’ उनले भने, ‘जसोतसो सेवा अवरुद्ध गरेका छैनांै ।’
मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले कम्प्युटर अपरेटरदेखि स्टोरसम्मका सबै काम आफँै गर्छन । जसका कारण काम गर्ने इच्छाशक्ति भएर पनि चाहेजति काम गर्न नसकेको उनले गुनासो गरे । ‘गाउँपालिकादेखि वडा कार्यालय सम्मको अवस्था उस्तै छ’ भण्डारीले भने ‘काम गर्ने कर्मचारी नै नभएपछि जनताका काम समयमै कसरी हुन्छन ?’
प्राविधिक फाटँका कर्मचारीहरु नहुँदा तयार भएका योजनासमेत पूरा गर्न झन कठिनाई भएको उनले बताए । गुल्मी जिल्लामा रहेका दुई नगरपालिकासहित १० गाउँपालिकामा दरबन्दी अनुसारका कर्मचारी छैनन् । जिल्ला समन्वय समिति र स्थानीय तहले संघीय मामिला तथा स्थानीय मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी माग गरिरहे पनि अहिलेसम्म कर्मचारी आएका छैनन् ।
गुल्मी दरबार गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हरिमाया पौड्यालले पनि कम्प्युटर अपरेटरदेखि सबै काम आफै गर्छिन । उनले भनिन्, ‘मेरो रहर हैन वाध्यता हो । वडादेखि गाउँपालिकादेखि विषयगत र प्राविधिक फाँटमा कर्मचारी छैनन, जनताका माग र अपेक्षा अत्यधिक छन् ।’
चन्द्रकोट गाउँपालिकामा सात कर्मचारी र चार वडासचिव खाली छ । कम्प्युटर अपरेटर र प्राविधिक फाटँमा कर्मचारी करारमा नियुक्ति गर्ने प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए । उक्त गाउँपालिकामा चार वडा सचिवले आठ वडाको काम पालैपालको बाडेर र्गै आएका छन् ।
सत्यवती गाउँपालिकाको पनि अवस्था पनि फरक छैन । आठ वडामध्ये पाँच वडामा सचिव छन् । ‘कर्मचारी नहुदा गाउँपालिकाको स्टोरदेखि प्रशासनको जिम्मा वडा सचिवलाई नै दिएको छु,’ क्रृषिराम पन्थीले भने ‘कम्प्युटर अपरेटरको कामदेखि अन्य सवै म आफै गदै आएको छु ।’ इस्मा गाउँपालिकामा पाँच जना कर्मचारी अभाव छ । पशु, महिला, शिक्षा लगायतका विषयगत कार्यालयमा कर्मचारी आएका छैनन् । प्रमुख प्रशासकीय अधिकृत सरोज पोखरेलका अनुसार छ वडामध्ये दुई वडा सचिव छैनन ।
जिल्लाको पुरानो नगरपालिका रेसुङ्गा नगरपालिकामा पनि प्रयाप्त कर्मचारी छैनन । ‘पुरानो भन्ने मात्र हो, कर्मचारी छैनन्, आवश्यक कर्मचारीहरु व्यवस्था गरेर काम गदैछौ, उनले भने,‘नापी लगायतका केही फाँटमा कर्मचारी छैनन ।’
मुसिकोट नगरपालिकामा पनि दरबन्दी अनुसार कर्मचारी नभएको प्रमुख प्रशासकीय अधिकृत घनश्याम न्यौपानले बताए । कर्मचारी नहुँदा जिम्मेवारी अनुसारको काम गर्न सकेका छैनौ, उनले भने,‘वडामा समेत सचिव छैनन, बल्लतल्ल काम चलाएका छौ ।’ उनका अनुसार इन्जिनियर, ओभरसेयर र सवओभरसियर पद खाली छन । रुरु, छत्रकोट, कालीगण्डकी, धुर्कोट गाउँपालिकामा पनि दरवन्दी अनुसारका कर्मचारी नहुदाँ काम गर्न कठिन भएको गाउँपालिकाहरुले जनाएका छन ।
जिल्लाका स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई छ । तर, उनले माथिल्लो निकायहरुमा कर्मचारी माग गरिएको भएपनि समयमै नआएकाले व्यवस्थापन गर्न नसकिएको बताए । ‘संघीय मामिला तथा स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी माग गरेका छौ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने ‘निर्वाचन लगायतका कारण केही ढिलाई भएको हो ।’ इस्मा गाउँपालिका ३ दर्लामचौरका बिष्णु अधिकारीले चार, पाँच पटक गाउँपालिका धाउँदासमेत सेवा लिन नसकिएको बताए ।