जिल्ला समाचार

गुल्मीका बोटे माझीलाई नयाँ घरको आश, त्रिपालमुनीको बास

टोपलाल अर्याल
गुल्मी, असार ७ । गुल्मी दरवार गाउँपालिका–१ की ६१ वर्षिया कृष्ण कुमारी बोटेलाई यस वर्षको वर्षामा नयाँ घरमै बसिन्छ भन्ने विश्वास थियो । तर उनी असारको पहिलो हप्तासम्म पनि पालमुनी कष्टकर जीवन बिताइरहेकी छन् । घरमा बुढावुढी मात्र रहेको माझी परिवार आठ महिनादेखि प्लाष्टिकको पालमुनि कष्टकर जीवन बिताइरहेको छ । नयाँ घरमा बस्ने आशा पालेको तर पालमुनी जीवन गुजारा गरिरहेको माझी परिवार एउटा उदाहरणमात्रै हो ।

गुल्मीको बोटे माझी समुदाय नै पालमुनीको कष्टकर जीवन गुजार्न बाध्य छ । उक्त गाउँमा गत मसिंरदेखि नेपाल सरकारको जनता आवास कार्यक्रम अन्तर्गत घर निमार्णको काम भैरहेको छ । पाँच महिनाभित्रमा घर निमार्ण हुने आशामा पालमुनि बसेर जीवन गुजारा गरिरहेका उनीहरुको अझै नयाँ घरको ठेगान छैन । नयाँ घर कहिलेसम्म बन्ने भन्ने अझै अनिश्चित रहेको दुखेसो गर्छन् स्थानीय कृष्ण माझी ।

नेपाल सरकारको जनता आवास कार्यक्रमअन्र्तगत वोटे माझीगाउँका ५० घर ०७५ असार मसान्तभित्र निर्माण गर्ने सम्झौता भएको छ । तर धेरै घरको डिपिसीमात्रै सम्पन्न भएको छ ।

धेरै परिवारलाई घर निर्माणका लागि आवश्यक काठ, वालुवा, गिटी, ढुङगा लगायत सामाग्री आफैँले जुटाउनुपर्ने भएकाले पनि समयमै काम सम्पन्न नभएको बताउँछन् स्थानीय शंकर माझी । पालमुनि वसेको लामो समय भएपनि आफुहरुको अवस्था बुझ्न अहिलेसम्म कुनै सरकारी निकाय नआएको उनले गुनासो गरे ।

उपभोक्ता समिति र कार्यालयबीच भएको सम्झौताको कार्यान्वयन व्यवस्थित नभएकाले वोटे माझीहरुका घर समयमै बन्न नसकेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए ।

विपन्न नागरिकको घर बनाउन सरकारले रकमउ पलब्ध गराएको भएपनि आवास तथा सहरी विकास डिभिजन कार्यालय पाल्पाले अनुगमन नगरेकाले यस्तो अवस्था आएको उनले बताए । पराजुलीले नीति नियम विपरित ठेक्कापट्टा हुँदासमेत कार्यालय मौन बसेको बताए ।

उपभोक्ता समितीका अध्यक्ष होम माझीले असारमा २० घरको मात्र निर्माण कार्य सम्पन्न हुने बताए । उनले घरहरु निर्माण गर्न ठेक्का दिएकाले भदौ अन्तिमसम्म ३५ घरको निर्माण सम्पन्न गर्ने बताए ।

आवास तथा सहरी विकास डिभिजन कार्यालय पाल्पाका कार्यालय प्रमुख इन्जिनियर रमेश थपलियाका अनुसार कार्यालयबाट भएको सम्झौता अनुसार काम नभए भुक्तानी रोकिने बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D