जिल्ला समाचार

गुल्मीका पत्रकार अर्याल र सेजनलाई यस बर्षको एनआरएनए पत्रकारिता पुरस्कार

काठमाडौं, असौज २६ । गैरआवासीय नेपाली संघ वेलायतको सकृयतामा स्थापना गरिएको यस वर्षको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार गुल्मी चन्द्रकोट ८ स्थाई घर भई बेलायतमा सक्रिय पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

गैरआवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेले शनिबार एक वक्तव्य जारी गरी एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९ पत्रकार अर्याल र सेजन लाई दिने घोषणा सार्वजनिक गरेका हुन् ।

१ लाख रुपियाँ राशीको एनआरएनए पत्रकारिता पुरस्कार हरेक दुई वर्षमा नेपाल तथा नेपालबाहिर रही नेपाली पत्रकारितामा सक्रिय एकएक जना पत्रकार वा संस्थालाई प्रदान गरिंदै आएको छ ।

यस वर्ष नेपालबाहिरबाट बेलायतमा सक्रिय पत्रकार अर्याल एवम नेपालबाट आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई दिइने भएको हो ।

पुरस्कारका लागि छनोटमा परेका पत्रकार अर्यालले पछिल्लो एक दशकदेखि बेलायतमा रहेर पनि सक्रिय रुपमा पत्रकारिता गर्दै आएका छन् । बेलायतबाट प्रकाशन हुने नेपालीपत्रमा उनी सम्पादक छन् ।

विगतमा एबिसी टेलिभिजन, नेपाली टिभी लगायतका मिडियामा रहेर पत्रकारिता गरेका उनले अहिले नेपालको राष्ट्रिय दैनिक अन्नपुर्ण पोष्टका लागि समेत काम गर्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिको सिफरिसअनुसार पुरस्कार विजेताको निर्णय गरिएको हो ।

घोषित एनआरएनए पत्रकारिता पुरस्कार काठमाडौंमा आयोजना हुने एनआरएनएको नवौं विश्व सम्मेलनको समापनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रदान गरिने गैरआवासीय नेपाली संघ (एनआरएनए) का समाचार संयोजक चिरन शर्माले जानकारी दिए

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D