जिल्ला समाचार

गुल्मीका तीन स्थानमा नागरिक सहायता कक्ष, २४ सै घण्टा सेवा

टोपलाल अर्याल
गुल्मी, १२ असोज । नजिकै आएका मुख्य चाडपर्व दशै, तिहार र छट पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्षको स्थापना गरिएको छ । रिडी बसपार्क, बुढाथोकी बसपार्क र उदिनढुङ्गन बसपार्क गरि तीन स्थानमा नागरिक सहायता कक्षकोे स्थापना गरिएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षको स्थापना गरेका हुन ।

दसै तिहारका बेला सदरमुकाम हुँदै धेरै यात्रु चाडपर्व मनाउन आ–आफ्ना घर जाने र यो समयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने भएकाले नागरिककै सजिलोको लागि सहयाता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए । यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मुल्य तिनुपर्ने समेतका घटनालाई मध्येनजर गरी नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।

नागरिक सहयता कक्षवाट सवै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैलाउने, सहज र सरल तरिकावाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्वन्धित यातायात ब्यवसायी संघ, संस्थासंग समन्वय गर्ने काम प्रहरीले गर्ने प्रहरी प्रमुख बस्नेतले बताए ।

चाडपर्वका बेला हुनसक्ने आपराधिक कृयाकलाप नियन्त्रण, लागुऔषध नियन्त्रण तथा सवारी साधनको अस्वस्थ प्रतिस्प्रर्धालाई रोक्न साथै सरल सहज यात्राका लागि पनि नागरिक सहायता कक्षवाट काम हुने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक शिव बहादुर खत्रीले बताए ।

बसपार्कमा स्थापना भएको सहायता कक्षमा चौविसै घण्टा प्रहरीहरुले सेवा प्रदान गर्ने र यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा माईकिङ गर्ने, आपराधिक गतिविधि नियन्त्रणका लागि योजना बनाउने, आपराधिक योजना भएका र भैरहेको ठाँउहरुको पहिचान गरि ती ठाँउहरुको निगरानी गर्ने, साथै सडकहरुमा पैदल गस्ती, मोबाइल गस्ती समेत गरिने खत्रीले बताए ।

नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु पनि राख्न सक्नेछन् । यो अवधिमा दुर्घटना हुने भएका सवारी चेक जाँच, ओभर लोड र मापासेलाई कडाइका साथ लैजाने जिल्ला ट्राफिक प्रमुख प्रहरी नायव निरिक्षक डोर बहादुर थापाले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D