गाउँघरका खबरजिल्ला समाचार

गुल्मीका गाउँबाट हराउँदै पानीघट्ट

टोपलाल अर्याल
गुल्मी, २३ पुस । कुनै समय कुटानी पिसानीका लागि महत्वपूर्ण मानिएको पानीघट्ट प्रविधिको विकाससँगै संकटमा पर्न थालेको छ । पानीको माध्यमद्वारा सञ्चालन गरिने पानीघट्ट ओझेलमा परेपछि सञ्चालक र उपभोक्तामा चिन्ता छाएको छ । मकै, कोदो, जौ, गहुँ, फापर पिस्न प्रयोग गरिने पानीघट्ट दुर्लभ बन्दै गएको मालिका गाउँपालिका–८ का कृष्ण घिमिरेले बताए । ‘मेसिनमा भन्दा जाँतो तथा पानीघट्टमा पिसेको खाना स्वादिष्ट हुन्छ,’ उनले भने, ‘मूल्य पनि कम नै पर्छ ।’

लामो समयदेखि जिल्लाको पश्चिमी क्षेत्र ह्वाङ्दी, अग्लुङ, अर्खवाङ, छापहिले, दलिङ, नेटा, बाँझकटेरी, सिर्सेनी, मरभुङलगायतका केही स्थानमा गाउँभरि नै पानीघट्टमार्फत कुटानी पिसानी गरिन्थ्यो । तर, पछिल्लो समय आधुनिकतासँगै ती हराउँदै गएका छन् । गाउँ–गाउँमा विद्युत्सेवा पुगेपछि अहिले मिलहरू सञ्चालनमा छन् ।
pani-ghata
जिल्लाको सबैभन्दा बढी पानीघट्ट मालिका गाउँपालिका–३ को हवाङ्दीमा थिए । उक्त गाउँमा दुई दर्जनभन्दा बढी पानीघट्ट भए पनि अहिले एकदुईवटा मात्र रहेको स्थानीय ५६ वर्षीय हरि अर्यालले बताए । ‘अहिले गाउँ–गाउँमा कुटानी पिसानी गर्नका लागि मिल आए,’ उनले भने ‘मान्छे सुखभोगी भएकाले पानीघट्टमा कोही जाँदैनन् ।’ अर्यालका अनुसार अहिले गाउँमा रहेका कुनै पनि पानीघट्ट सञ्चालनमा छैनन् ।

लामो समयदेखि पानी घट्टा सञ्चालन गरेका ह्वाङ्दीकै झमनसिंह बुढा मगरले पनि मान्छे आउन छाडेपछि पानीघट्ट चल्न छाडेको बताए । १० वर्षपहिले १२ हजार लगानी गरेर गाउँमा दुईवटा पानीघट्ट चलाएका उनले महिनामा १५–२० हजार कमाउँथे । तर, सबै स्थानमा आधुनिक मिल आएपछि पानीघट्ट बन्द गर्न बाध्य भएको उनले बताए ।

उनका अनुसार खोलाबाट पानी ल्याएर १० देखि १५ मिटरको उचाइबाट काठको डुँडमार्फत झारेको पानीले एक घन्टामा तीन पाथीसम्म खाद्यान्न पिस्ने गर्दछ । तर, मिलले एक घन्टामा तीन–चार मुरी पिस्ने भएकाले पनि पानीघट्ट संकटमा परेको हो । पहिले–पहिले गाउँमा डिजेलबाट चल्ने मेसिनहरू थिएनन् ।

त्यतिवेला पानीघट्टको माग र उपयोगिता पनि थियो । तर, अहिले धेरै स्थानमा बिजुली पुगिसकेकाले आधुनिक मेसिन आएको मानबहादुर विकले बताए । पाँचवटा पानी घट्ट नियमित सञ्चालन गर्दै आएका उनले एक वर्षयता आफ्नै घरका लागि मात्र पानीघट्ट प्रयोग गर्दै आएको बताए । उनले चार–पाँच वर्षअगाडिसम्म पानीघट्ट चलाएरै उनले मासिक १५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेकोसमेत बताए ।

‘पहिले–पहिले गाउँभरिको कुटानी पिसानी गरेर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गरिन्थ्यो,’ उनले भने ‘गाउ“लेहरूले पानीघट्टमा कुटानी पिसानी गरेबापत प्रतिपाथी पाँच रुपैयाँ दिन्थे, अहिले कोही पनि आउँदैनन् ।’ इस्मा गाउँपालिका–५ को फेदीफाँटमा एकतिर मेसिन र अर्कोतिर पानीघट्ट छ । दुवैमा मानिस कुटानी पिसानी गरिरहेका छन् । आँटो–पिठो स्वादिष्ट हुन्छ भन्ने मान्यता भएका मान्छेहरू अझै पानीघट्टमै आउने सञ्चालक कृष्ण विष्टले बताए । तर, छिटो–छरितो चाहनेहरू मेसिनमै जाने गरेको उनले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D