जिल्ला समाचार

गुल्मपति कार्कीको बर्थ डे स्पेशल, खेलाडीदेखि अपाङ्गसम्म

टोपलाल अर्याल
गुल्मी, २४ बैशाख। बिरभद्रजंग गुल्म, गुल्मीका गुल्मपति मेजर जनमत बहादुर कार्कीले जन्मदिन मनाउने नयाँ तरिका अपनाएका छन् । उनले आफ्नो जन्मोत्सवका अवसरमा खेलाडीदेखि अपाङ्गलाई सहयोग गरेका छन् । उनले सोमबार बिहान जन्मोसवको अवसरमा खेलाडीहरुलाई सम्मान तथा खेल सामग्री प्रदान गरेका छन् । भर्खरै पोखरामा संचालन भएको भिमकाली कप क्षेत्रिय फुटवल प्रतियोगीतामा सहभागी भएका गुल्मी युनाइटेड क्लवका खेलाडीलाई सम्मान गर्दै विभिन्न सामग्री समेत प्रदान गरेका छन् ।

गुल्ममा एक कार्यक्रमको आयोजना गरि गुल्मी युनाइटेड क्लवको तर्फबाट प्रतियोगीतामा सहभागी कप्तान त्रिदेव कार्की सहितका खेलाडीलाई सम्मान गर्दै फुटवल र जर्सी लगायतका सामग्री प्रदान गरिएको हो । राष्ट्रिय फुटवल खेलाडी समेत रहेका मेजर कार्कीले व्यारेकमा एक हप्ता प्रशिक्षण दिई आफ्नै पहलमा खेलाडीलाई प्रतियोगीतामा सहभागी गराउन पोखरा पठाएका थिए । आफुले यो बैशाख महिनालाई जन्मोत्सवको महिनाको रुपमा लिएकाले स्वतस्फूर्त रुपमा खेलाडी सम्मान तथा सामग्री वितरण गरेको कार्कीले बताए । ‘यो सैनिक नागरिक सम्बन्ध मात्रै हो,’उनले भने,‘गुल्मीको खेल क्षेत्रको विकासका निम्ती मैले कुनै कसुर बाँकी राख्ने छैन् ।’ उनले जन्म दिनको अवसरमा बैशाख २६ गते आशा अपाङ्ग केन्द्रलाई पनि आवश्यक सामग्री वितरण गर्ने कार्यक्रम राखेका छन् । साथै जिल्लामा आफैले पुरस्कार प्रयोजन गरेर थुप्रै प्रतियोगीता संचालनको तयारीमा रहेको उनले बताए । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारीले राज्यले खेल क्षेत्रमा सोचे अनुसारको बजेट नदिँदा खेलाडीका रहर र क्षमता सडेर गइरहेको बताए ।

उनले अहिले स्थानीय तहहरुसंग समन्वय र सहकार्य भैरहेकाले गाउँगाउँबाट खेलाडी उत्पादन र प्रोत्साहनमा आफुले कुनै विकल्प बाँकी नराख्ने बताए । त्यस्तै क्लवका संयोजक रमेश कुवंरले क्षेत्रिय स्तरको खेलमा सहभागी हुँदा समेत क्रृण खोजेर खेलाडी पुग्नुपर्ने बाध्यता खेल क्षेत्र र खेलाडीका त्यो भन्दा ठुलो दुर्भाग्य केहि नहुने बताए । उनले अब खेलाडी उत्पादन, सम्मान र प्रर्वद्धन गर्ने जिम्मा नगर र गाउँपालिकामा आएकाले योजनाबद्ध रुपमा अगाडी बढ्नुपर्नेमा जोड दिए । कार्यक्रमका अनुभव राख्दै कप्तान त्रिदेव कार्कीले ठुलो प्रतियोगीतामा सहभागी हुन पाउँदा अत्यन्तै खुसी र उर्जा मिलेको बताए । ‘यो खेल हाम्रो सिकाई हो, थप उर्जा बोर फर्कियौँ,’उनले भने,‘ सिक्ने र अघि बढ्ने अवसर पाए सफलता नजिक छ ।’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D