जिल्ला समाचार

गुरु योजना निर्माण गर्न मुसिकोट नपाको बौद्धिक सम्मेलन, ७ बिशेषज्ञद्धारा कार्यपत्र प्रस्तुत

टोपलाल अर्याल
गुल्मी, ५ असोज । मुसिकोट नगरपालिकाले गुरु योजना निर्माण गर्न आयोजना गरेको बौद्धिक सम्मेलन ३५ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । यो सम्मेलनले“कृषि, पर्यटन, पूर्वाधार र रोजगार मुसिकोट समृद्धिको आधार” भन्ने नगरपालिकाले अगाडी सारेको नारा तथा गुरु योजना र कार्यक्रमका लागि मार्ग दर्शन सिद्धान्तको रुपमा काम गर्ने आयोजकको दावी रहेको छ ।

सम्मेलनमा मुसिकोट नगरपालिकासँग सम्बन्धित तथा यस क्षेत्रमा जन्मे हुर्केका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कार्यरत विद्धान, विशिष्ट व्यक्तिहरु र यस नगरपालिकाको विकासमा अनवरत रुपमा लागेका विशिष्ट समाजसेवीहरु झण्डै दुई सय जनाको सहभागीता रहेको थियो ।

सात बिशेषज्ञद्धारा कार्यपत्र प्रस्तुत
मुसिकोट नगरपालिकाले आयोजना गरेको दुई दिने बौद्धिक सम्मेलनमा विभिन्न सात बिद्यामा कार्यपत्र प्रस्तुत गरिएको थियो । जसमा पुल्चोक इन्जिनियरिङ्ग कलेजका प्राध्यापक डा. ज्ञानबहादुर थापाले मुसिकोट नगरपालिकाको सम्भावना र चुनौती, प्रध्यापक डा. जीवलाल सापकोटाले शिक्षा क्षेत्रको विकास, रसियामा अध्ययन गरेका इन्जिनियर विकास श्रेष्ठले जलस्रोत र उर्जा साथै सामाजिक विकासका बारेमा रेडमोडल कलेजका प्रमुख खिमलाल पौडेलले कार्यपत्र प्रस्तुत गरेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत घनश्याम न्यौपानेले बताए ।

मुसिकोट नगरपालिकाले आयोजना गरेको बौद्धिक सम्मेलनमा ३५ बुँदे घोषणा पत्र जारी गर्दे पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी ।

त्यस्तै अमेरिकी नियोक संस्थाका बरिष्ठ संयोजक कृष्णहरी सापकोटाले समृद्धिका आधार स्वास्थ्य क्षेत्रका पुर्वाधार, स्मार्ट सिटी अवधारणा र अभ्यासका बारेमा समाजशास्त्रका प्रध्यापक तथा अधिवक्ता रमेश काफ्ले र पुर्वाधार विकास र संस्थागत सुधारका बारेमा पुर्वाधार विकास बिशेषज्ञ राम बहादुर घिमिरेले कार्यपत्र प्रस्तुत गरेको प्रमुख प्रसासकीय अधिकृत न्यौपानेले बताए । सोहि अवसरमा नगर प्रमुख सोमनाथ सापकोटाले नगरभित्रका संभावना, चुनौती र अहिले संचालन भैरहेका क्रियाकलापको बारेमा बौद्धिक सम्मेलनमा जानकारी गराएका थिए ।

बौद्धिक सम्मेलनमा ७ उदेश्य
विभिन्न सात उदेश्यसहित मुसिकोट नगरपालिकाले बौद्धिक सम्मेलनको आयोजना गरेको हो । जसमा मुसिकोट नगरपालिकाको समृद्धिका संभावना र चुनौतीको पहिचान गरी योजना निर्माणका लागि पृष्ठपोषण प्राप्त गर्न,. विद्यमान प्राकृतिक स्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग मार्फत नविनतम विकासका दृष्टिकोण प्राप्त गर्ने र शहरी विकास, स्वच्छ बातावरण र सुशासनको क्षेत्रमा गर्नुपर्ने नितीगत व्यवस्था तथा कार्यक्रमका बारेमा विभिन्न उपायहरु पत्ता लगाउने रहेको बौद्धिक सम्मेलन मुल आयोजक समिति संयोजक प्रकाश काफ्लेले बताए ।

नगरपालिकाको दिगो, समाबेशी, जनसहभागिता मूलक र रोजगार उन्मुख सामाजिक तथा आर्थिक विकासका आधारहरु पहिचान गर्ने,. नगरपालिकाको आर्थिक विकासमा टेवा पु¥याउने मुख्य पूर्वाधार र परियोजनाहरु पहिचान गर्ने, नगर क्षेत्रको सामाजिक न्यायका र सामाजिक विकासका लागि शिक्षा, स्वास्थ्य र सशक्तिकरणका क्षेत्रमा गर्नुपर्ने महत्वपूर्ण क्रियाकलापहरुको पहिचान गर्ने उदेश्य पनि सम्मेलनको रहेको छ । त्यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिकामा रहनु भएका विद्धानवर्ग, समाजसेवी सँग निरन्तर सम्पर्कमा रही नगरपालिकाको समृद्धिमा हातेमालो गर्दै अगाडी बढ्ने अपेक्षा नगरपालिकाले लिएको संयोजक काफ्लेले बताए ।

३५ बुदे मुसिकोट घोषणा पत्र

मुसिकोट नगरपालिकाले आयोजना गरेको दुई दिने बौद्धिक सम्मेलनले ३५ बुँदे घोषणा पत्र जारी गरेको छ । पाँच शिर्षक र नौ उपशिर्षक रहेको घोषणा पत्रमा समाजिक विकास, आर्थिक विकास, पुर्वाधार, वन वातावरण तथा विपद् व्यावस्थापन, सामाजिक सेवा तथा सुशासनका विविध पक्षलाई घोषणा पत्रमा समावेश गरिएको छ । घोषणापत्रमा प्राविधिक शिक्षा, रुद्रावति क्याम्पसमा स्नाकोत्तर संचालन साथै सार्वजनिक पुस्तकालाय र प्रविधीमैत्री शिक्षा संचालन गर्ने, ऐतिहासिक, धार्मिक र सास्कृतिक, पुराताविक महत्तका वस्तुहरुको संरक्षणका निम्ति विस्तृत बस्तुचित्र सहितको नगरस्तरीय संग्राहलय स्थापना गर्ने उल्लेख गरिएको घोषणा निर्माण समितिका सदस्य प्रा.डा. ज्ञान बहादुर थापाले बताए ।
त्यस्तै प्रत्येक वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी र वर्षमा कम्तीमा एक पटक विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर र प्रत्येक विद्यालयहरुमा एक जना नर्सको व्यवस्था सहित नगरपालिकाभित्र कम्तिमा २५ शैयाको सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने गरि घोषणा पत्र तयार गरिएको घोषणा पत्र तयारी समितिका संयोजक प्रा.डा. तारा प्रसाद सापकोटाले बताए । त्यस्तै घोषणा पत्रमा विभिन्न पर्यटकीय स्थलमा सडक संजाल जोडने, प्रत्येक वडालाई जोड्ने पक्की सडकहरु निर्माण गर्ने, उपयुक्त ठाँउमा एउटा सुन्दर बालमैत्री पार्क निमार्ण गर्ने तथा प्रत्येक वडामा साना बाल उद्यानहरु निर्माण गर्ने कुरा उल्लेख गरिएको छ ।

एकगाँउ एक उत्पादन र सामुहिक खेती प्रणाली
आर्थिक विकासका लागि एकगाँउ एक उत्पादनको अवधारणा लागु गर्ने, सामूहिक खेती लागु गरी खेतियोग्य जमिनको सदुपयोग गर्ने, उत्पादकत्व बृद्धि गर्नका लागि उपयुक्त ढंगले सिंचाई सुविधा उपलब्ध गराउने, कफि उत्पादनलाई आँपचौरबाहेक अन्य संभावित स्थानहरुमा विस्तार गर्ने, जेटि, जेटिएको सुविधा सहित कृषि तालिमको व्यवस्था गर्ने र अर्गानिक तरकारी तथा फलफूल उत्पादनमा जोड दिने गरि घोषणा पत्र तयार भएको नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए । साथै स्थानीय कच्चा पदार्थमा आधारित लघु उद्योग स्थापना र जडिवुटिमा आधरारित एउटा औषधि उद्योग स्थापना गर्ने कुरा घोषणा पत्रमा समावेश गरिएको छ ।

वातावरण संरक्षणमा योगदान पुराउनेलाई पुरस्कृत

मुसिकोट नगरपालिका भित्रका वनजंगलहरुको उचित संरक्षण गर्ने र सालिमे दह, घाँकुर, करङखोला, ददल्का, उर्लेनीसम्मको जंगललाई जैविक विविधता संरक्षण क्षेत्र घोषणा गर्ने, वातावरण संरक्षणमा योगदान पुराउने व्यक्ति, समूह, संस्था र समुदायलाई वर्षेनी विश्व वातावरण दिवसका दिन पुरस्कृत गरिने छ ।

त्यस्तै प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापनको लागि कम्तीमा दुई÷तीन वटा उपयुक्त स्थानमा तत्काल राहतस्वरुप अस्थायी बसोवासको व्यवस्था गर्ने, नगरपालिकामा एउटा दमकल र एम्बुलेन्स व्यवस्था गर्ने र बडिघाट खोलामा आवश्यक ठाँउमा तटवन्ध गरी खेतियोग्य जमीनको संरक्षण गर्ने गरि घोषणा पत्र तयार गरिएको छ । साथै घोषणा पत्रमा मुसिकोटबाट बसाँइसराई गरेर देश विदेशमा गएका विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका मुसिकोट बाँसीहरु बिच सम्पर्क विस्तार गरी एउटा विज्ञसूचि तयार गर्ने उल्लेख गरिएको घोषणा पत्र निर्माण समिति सदस्य प्रा.डा. जीवलाल सापकोटाले बताए ।

बर्तमानदेखि पुर्वमन्त्री र सांसदहरुको जमघट
मुसिकोट नगरपालिकाले आयोजना गरेको बौद्धिक सम्मेलनमा बर्तमानदेखि पुर्व मन्त्री र सांसदहरुको जमघट रहेको थियो । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले उद्घाटन गरेको बौद्धिक सम्मेलनको समापन पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले गरे ।

सम्मेलनको उद्घाटन गर्ने परराष्ट्रमन्त्री ज्ञवाली र समापन गर्ने पुर्व उपप्रधानमन्त्री रायमाझीले यो सम्मेलन अत्यन्तै महत्वपूर्ण र देशकै नमुना भएको बताए । उनीहरुले गुरुयोजना निर्माणको पुर्व सन्ध्यामा आयोजना गरिएको यो बौद्धिक सम्मेलन र घोषणा पत्रले समृद्ध मुसिकोट बन्नेमा आफुहरु विश्वस्त रहेको प्रतिक्रिया दिए । साथै यस्ता बौद्धिक सम्मेलन स्थानीय अरु सरकार, प्रदेश र केन्द्रिय सरकारले समेत गर्नुपर्नेमा जोड दिए ।

साथै ५ नं प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बलालले यो सम्मेलन र घोषणा पत्रनै नगरपालिकाको अवको बाटो भएकाले ढुक्क र निर्धक्कका साथ ३५ बुँदा कार्यान्वयन गर्न आग्रह गरे । साथै कार्यक्रममा नवलपुरका संघिय सांसद तिलक महत, ५ नं प्रदेशमा बिशेषाधिकार समिति संयोजक कमलराज श्रेष्ठ, सांसदहरु खडग केशी र दिनेश पन्थी लगायतको सहभागीता रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D