जिल्ला समाचार

गाउँमा स्वास्थ्य चौकी बनाउन निःशुल्क पाँच रोपनी जग्गा, १ करोड ५७ लाखमा भवन निर्माण हुँदै

जनार्दन घिमिरे
गुल्मी, फागुन ०५ । स्वास्थ्य चौकी अभावमा समस्या भोग्दै आएका गुल्मीको चन्द्रकोट गाउँपालिकाको रुपाकोटका स्थानीय अहिले निकै खुसी बनेका छन् । स्वास्थ्य चौकी बनाउन जनप्रतिनिधिहरु जग्गाको खोजीमा भौतारिरहेको अवस्थामा स्थानीय दुई जनाले निःशुल्क पाँच रोपनी जग्गा उपलब्ध गराएपछि रुपाकोटमा स्वास्थ्य चौकी निर्माण गर्न लागिएको होे ।

रुपाकोट घर भइ रोजगारीको सिलसिलामा बेलायत रहँदै आएका मोतीराज भण्डारी र तारानाथ भण्डारीले गएको वर्ष सात लाख रुपैयाँमा स्थानीयसँग खरिद गरेको जग्गा स्वास्थ्य चौकी बनाउन उपलब्ध गराएका हुन् ।

रोजगारीको सिलसिलामा विदेशमा रहे पनि आफ्नो जन्म ठाउँ फर्कँदा कहिले गोठमा, कहिले वडा कार्यालयको साँघुरो कोठाबाट बिरामीहरुले सेवा लिएको देखेपछि जग्गा दान गर्ने निर्णय गरेको मोतीराज भण्डारीले बताउनुभयो ।

स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोर्णबहादुर खत्रीले भण्डारीद्वयले जग्गा दान गरेर समाजमा उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा गाउँपालिकाको पहिलो प्राथमिकता रहेको भन्दै भवन बनेपछि बिरामीहरुको उपचारमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

जग्गा दान गरेका भण्डारीद्वयले भवन बनेपछि त्यसका व्यवस्थापनका लागि आवश्यक सामग्री, एम्बुलेन्सलगायतमा समेत सहयोग गर्दै जाने बताएका छन् ।

भवन निर्माणको जिम्मा पाएको डी एण्ड डी पुष्पाञ्जली जेभीका प्रमुख सञ्जय पन्थीले तोकिएकै समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ । जग्गा उपलब्ध भएपछि कम्पनीले चन्द्रकोट गाउँपालिका ७ को रुपाकोटमा एक करोड ५७ लाख रुपैयाँको लागतमा भवन निर्माण सुरु गरेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D