बिचारमुख्य हेडलाईन

गाउँमा गल्दै र ढल्दै ‘बा’ हरु

टोपलाल अर्याल
गुल्मी, १७ फागुन। केहि दिन अघि एक जना बा सदरमुकाम कै गल्लीमा ढले । देख्नेले सज्जन भन्थेनन् । किन भने उनले मागेर गुजारा गर्थे, दारी कपाल पालेका थिए। हर नछोडेका झुत्रे कपडा । मैले पनि त्यहि भन्थेँ । अनुहार हेर्दा बाँच्लान भन्ने धर्सो आशा थिएन । गत फागुन ११ गते बाल मन्दिरमा अचेत भेटिएका थिए उनि । केहि मनकारीले अस्पताल पनि पुराए । ‘बजारका साहुहरुकोमा भिख माग्ने बिचरो ! कसको लागि र के को आशले बाँचुन’ । अस्पतालले मृत घोषणा ग¥योे । बा अहिले मुर्दा घरमा मुढा जस्तै पल्टिएका छन् । त्यो घरमा कैयन बसेका छन् । उनीहरुका संगै रुने मान्छे पनि हुन्थे । गुन बैगुन सम्झन्थे । कठै बा ! तिमीलाई न बाँच्दा रोजे, न मरेर खोजे । एक हप्ता सम्म पहिचान भएको छैन् । खै कहिले घर छोडे । पक्कै परिवारमा छोराछोरी थिए । के कुरामा मन मिलेन् । कहिलेदेखि घर परिवार र गाउँ छोडे । कसले सोध्नु ? त्यो अब माथी नै हिसाब-किताव होला ।

शुक्रबार नयाँगाउँको जंगलमा पनि आर्का एक बा ढले । त्यो तस्विरले म पनि बिक्षिप्त छु । देख्दा ७० बर्ष माथीका बा, परिवारको संरक्षणमा मिठो मसिनो खाएर बस्नु पथ्र्यो । को हुन ? कहाँबाट कहिले कसरी आए र जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिए ? त्यो प्रहरी अनुसन्धानको बिषय बन्ला । तर उनको शवको पनि पहिचान भएको छैन् । गुल्मी अस्पतालको मुर्दा घरमा दुई बाको बेवारिसे शव छन् ।

माथी उल्लेख गरिएका दुइ पात्र र परिवेश उदाहरण मात्रै हुन् । गाउँको बुढो घरमा बुढाबुढी बाहेक कोहि छैनन् । काम गर्ने खेत बारीमा दुम्पाती उम्रिएका छन् । कसम ! गाउँमा काल र राति कुरिरहेका बृद्धबृद्धा मात्रै छन् । नेतादेखि कार्यकर्ता, हाकिमदेखि पियन, गल्फदेखि युरोप छिर्नेहरुका बा आमाहरु गाउँमा एक्लै छन् । एक पटक मनन गर्नुस् । आफ्ना बालाई सम्झिनुस् । घरमा एक्लै छन् । झोँकी छन् । कतै घर छोड्छन् की ? बा र आमा दुवै भए तै बिषेक । अझ कहिलेकाहीँ बुढाबुढी नै त मिल्दैन् भने छोरा परदेश, बुहारीसंग बा अथवा आम कसरी मिल्छन् ? छोरा र बुहारीसंगै भएका बा र आमाहरु पनि रुदै हिडेका कैयन उदाहरण छन् । त्यतिकै पनि बुढेशकाल, पट्यार लाग्ने भएकाले उनीहरुको चित्त बुझाउन गाह्रो पर्छ ।

मैले देखेको बुढेशकालको शाहारा छोरा बुहारी नभएर नातिनातीना रहेछन् । बुढाबुढी भुलाउने केटाकेटी हुन् र बुढाबुढीलाइ भुलाउने पनि तिनै नातिनातिना हुन् । तर आजकल त ति नातिनातिना पनि बजार झरेका छन् । बुहारीसंगै भएकाहरुको पनि अपवाद बाहेक राम्रो सम्बन्ध छैन । बुढाबुढी सपाङ्ग र सम्बन्ध राम्रो भएकाहरुले जेनतेन उमेर धकेलेका छन् । तर अपाङ्ग भएका र श्रीमान–श्रीमति वा छोरा बुहारीसंग सम्बन्ध राम्रो नभएका कैयन बा आमाले पशु सरह जीवन कटाएका छन् । त्यहि कारण कैयन बा आमाको मन बिक्षिप्त छ । चित्त बुझाउने र समय कटाउने कुनै माध्यम छैनन् । बा आमाका सोच बिग्रिएका छन् । सोच बदल्ने कोहि छैनन् गाउँमा । त्यसैले कतिपय बाहरुले घर छोडेका छन् । जंगल र गल्लीहरुमा बेवारिसे बनेका छन् । आत्महत्या गर्न बिवस छन् । ८५ बर्षसम्मका बाले समेत आत्महत्या गरे ।

अधिकांश बा आमाको सिरानीमा औषधीका पोका छन् । डाक्टरले दिएको समय तालिका अनुसार औषधी खान सक्दैनन् । घरमा बताइदिने कोहि छैनन्, त्यसैले नजानेर उल्टो औषधी खान बाध्य छन् । अस्पताल पु¥याउने कोहि नभएकाले बा र आमा बिसन्चो लुकाउन बाध्य छन् । फलस्वरुप त्यहि रोग काल बनेको छ ।

त्यसैले,
खै शहर गाउँ कहिले फर्केला र ? अझै गाउँ नै शहर झरेको छ । खै युवा गाउँ कहिले फर्केला र ? अहिले गाउँका युवा परदेश फर्केका छन् । तसर्थ: अझै बर्षौ ‘बा आमा’ एक्लिनु नै पर्नेछ । सोच्नुस छोराछोरीको अक्षरका खातिर आफुले अक्षर नचिनेका बाआमा घरमा छन् । त्यहि छोराछोरीको अक्षरको खातिर औला फुटाएका बाआमाको औलाले मोवाइलको किवर्ड राम्रोसंग दवाउँदैनन् । प्रत्येक दिन तपाई नै फोन सम्पर्क गर्नुस् । शहर, बजार र परदेशका आफन्तको फोनको प्रतिक्षामा छन् उनीहरु । आफैले फोन गर्ने खुबी छैन, उनीहरुसंग । घरमा टिभी र इन्टरनेटको सुविधा थपौ । स्वदेशबाट सकेसम्म फुर्सद मिलाएर छिटोछिटो भेट्न घर पुगौ । नसके छिमेकीसंग कोशेली भए पनि पठाउँ । पठाएको छु भनेर फोन गरौ । उनीहरुलाई छोराछोरी आए जस्तै लाग्ने छ । उनीहरुलाई निराशा होइन आशा जगाऊँ । छिमेकीसंग पनि नियमित सम्पर्कमा बसौ । बा आमालाई मात्रै नभएर छिमेकीसंग पनि फोन गरेर सन्चो बिसन्चो सोध्ने बानी बसालौ ।

लेखकको प्रस्ताव
मैले व्यक्तिगत रुपमा सुविधा सम्पन्न ‘एक स्थानीय तह – एक जेष्ठ नागरिक दिवा सेवा वा मनोरञ्जन स्थल/कार्यक्रम’ को अपरिहार्यता देखेको छु । यो बेलैमा राज्यले सोच्नुपर्ने भएको छ । वा वडा स्तरमा पनि स–साना जेष्ठ नागरिक बिश्राम वा मनोरञ्जन स्थल बनाउनुपर्छ । जहाँ उनीहरु खाना खाएर भेला हुन्छन्, विभिन्न धर्म ग्रन्थ पढ्छन्, टिभी र इन्टरनेट मार्फत प्रवचन, भक्ति संगित र गीत संगित हेरुन र सुनुन् । बाध्य-बाधनका सामग्री भए आफै बजाएर र गाएर नाँच्न सकुन् । त्यहि ठाउँबाट इन्टरनेटमा छोरा बुहारी र नातिनातीनासंग भिडियो हेरेर कुरा गरुन् । उमेर ढल्किएका आमाहरुले त्यहि बसेर बक्ति काट्ने गरुन् । अब यसको विकल्प गाउँमा छैन् । अल्ली रुखो भएर बोले मुर्दा घर जस्तै आफ्ना घरमा उनीहरुलाई दिन बिताउन मुस्किल परेको छ । यो योजनामा सरकारको मात्रै नभएर छोराछोरीहरुको पनि लगानी आवश्यक छ । अहिलेकै अवस्थामा गाउँका दरवार जस्ता घरहरुमा उमेर ढल्किएका बा आमामात्रै भेटिने हो भने १० बर्षमा ७० प्रतिशत डिप्रेशनको सिकार बन्नेछन् । अनि त्यस्तै, अहिले जस्तै । माथी उदाहरणमा प्रस्तुत गरे जस्तै । छोराछोरीले अनलाइनमा बेवारिसे शवको समाचार पढ्ने छन् । घोरिएर फोटो हेर्दा अन्तिममा आफ्नै बाबाआमा भएपछि घोक्रो फुलाएर १३ दिने नौटंक गर्नुको बिकल्प हुने छैन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker