जिल्ला समाचार

गाउँगाउँ नागरिकता बितरण, बिकट र बिपन्न नागरिकले बल्ल राज्यको अनुभुति गर्दै

टोपलाल अर्याल
गुल्मी, ९ चैत्र । गुल्मीको कालीगण्डकी गाउँपालिका ६ खडगकोटकी पविकला थापाले १०१ बर्षमा नागरिता पाइन् । त्यो पनि गाउँमै । पविकला खडगकोटको पनि अझै बिकटमा बसोबास गर्छिन् । उनको छोराहरु छैनन् । गाउँमै घुम्ति शिविर आउने चाल पाएपछि नाति प्रकाशले बोकेर ल्याए । टोली प्रमुख जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले नागरिता दिए ।

गाउँमा पहिले पनि टोली पुग्थ्यो । तर पविकला आफै आउने अवस्थामा थिएन् । ‘पहिले बोकेर ल्याउने कोहि भएन, अहिले मैले डोकोमा ल्याएँ,’उनले भने,‘ तम्घास जान सम्भवनै थिएन् ।’ प्रशासकीय अधिकृत पाण्डेले अज्ञानताकै कारण उर्जाशिल समयमा नागरिकता नबनाए पनि अहिले सामाजिक सुरक्षा भत्ताकै लागि मात्रै नागरिकता बनाएको बताए ।

त्यस्तै चन्द्रकोट गाउँपालिका २ विसुखर्कका दल बहादुर गुरुङ्गले पनि ७५ बर्षमा बल्ल नागरिता पाए । उनलाई टोली प्रमुख तथा प्रशासकीय अधिकृत गोपाल प्रसाद पाण्डेयले नागरिकता दिए । नागरिकताकै लागि उनी पहिले सदरमुकाम पुगेनन् । गाउँमै टोली गएका बेला पनि छुटे । अहिले गाउँमै नागरिकता पाउँदा गुरुङ्ग दङ्ग छन् । अब भत्ता पाउने भएपछि खुसी नहुने कुरै भएन् ।

चन्द्रकोट गाउँपालिका ६ दिब्रुङ्ग राम बहादुर विकले श्रीमतिको नागरिकता बनाउन पहिले पनि धेरै जुङ गरे । सदरमुकाम जाउ आउ गर्न पैसा भएन् । उनलाई शिविर सौभाग्य बन्यो । श्रीमति लिएर गाउँपालिका आए । नागरिकता मात्रै बनाएनन स्वास्थ्य परिक्षण पनि गरे । भने कृषिबाट बिउपल बोकेर घर फर्किए । ‘पहिले धेरै पटक तम्घास जाने भनेपनि पैसा भएन, गाउँमै पाउन लेखेको रैछ,‘उनले भने,‘ गरिव दुखीलाई खुवै राहत भयो ।’

नागरिकता बनाउँनै आएकी चन्द्रकोट ४ की बिष्णु माया सुनार खर्च जोगिदा खुसी छन् । ‘क्रृण खोजेर नागरिकता बनाउन गइएन, अहिले मौका छोपियो,’उनले भनिन,‘अड्डानै पुग्न पाँच हजारले पुग्दैन् ।’
जिल्ला प्रशासन कार्यालयको आयोजनामा अहिले गाउँपालिकाहरुमा एकिकृत घुम्ति शिविरमा संचालन भएको छ । शिविरमा सेवाग्राहिहरुको निकै भीड हुने गरेको छ । जिल्लाका धेरै कार्यालयको सेवा गाउँमै पाउँदा नागरिकले राहत महसुस गरेका छन् । ‘शिविर अत्यन्तै फलदायी रह्यो, नागरिकता बनाउन सदरमुकाम पुग्दा कम्तीमा तीन हजारले पुग्दैन,’ चन्द्रकोट गाउँपालिका ४ का तेजेन्द्र थापाले भने,‘ बृद्धा र बिपन्न परिवारले राज्यको अनुभुति बल्ल पाए ।’

अहिले जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका चार स्थानीय तहमा एकिकृत घुम्ति शिविर संचालन गर्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । उनले राज्यको सेवा गाउँघरमै र बिपन्न एवं अशक्तहरुलाई महसुस बनाउनकै लागि शिविर आयोजना गरिएको बताए । चन्द्रकोट गाउँपालिका प्रमुख द्रोण बहादुर खत्रीले शिविरले बिपन्न र असाहय परिवार बढि लाभाम्बित भएकाले आगामी दिनमा पनि प्रशासन कार्यालयको सहयोगमा शिविर संचालन गरिने बताए ।

कालीगण्डकी गाउँपालिकामा २२ र २३ फागुनमा र चन्द्रकोट गाउँपालिकामा ७ र ८ चैत्रमा शिविर सकिएको छ । दुवै शिविरमा पाँच सय ३७ महिला र तीन सय ३१ पुरुषले नागरिकता पाएका छन् । त्यस्तै छ सय ४३ जनाले मतदाता परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सुचना अधिकृत लक्ष्मण पाण्डेयले बताए । शिविरमा चार सय ४४ जनालाई कृषि सम्बन्धी परामर्श र निःशुल्क बिउबिजन वितरण गरिएको छ । भने गुल्मी अस्पतालबाट करिव पाँच सय बिरामीको स्वास्थ्य परिक्षण गरिएको पाण्डेयले बताए । सोहि अवसरमा औषधी निशुल्क वितरण गरिएको थियो ।

अव मदाने गाउँपालिका र मालिका गाउँपालिकामा एकिकृत घुम्ति शिविर संचालन गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत गोपाल प्रसाद पाण्डेयले बताए । एकीकृत घुम्ती शिविरमार्फत जिल्ला प्रशासनले नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन कार्यालयले फोटो सहितको नामवली संकलन, गुल्मी अस्पतालले स्वास्थ्य परिक्षण तथा औषधी वितरण, कृषि ज्ञानकेन्द्र मार्फत कृषिजन्य बिउबिजन लगायतका विभिन्न सेवाहरु उपलब्ध गराइएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D