जिल्ला समाचार

खुकुरी बचाउन साइकल यात्रा

हुमाकान्त पोखरेल

गुल्मी, २६ मंसिर । पछिल्लो सयम युवापुस्ताहरुमा आफ्नो धर्म सँस्कृति तथा जन्मठाउँप्रतिको मोह हराउदैँ गएको छ । तर देशमा केहि यस्ता युवापनि हुन्छन्, जसले आफ्नो केहि सङ्घर्षबाट आफ्नो ठाउँ र केहि सँस्कृति बचाउन चाहान्छन् । तिनैमध्येका एक हुन्, भोजपुर नगरपालिका ११ आम्तेक पितौलाका तेज प्रसाद पराजुली ।

भोजपुरको खुकुरी बचाउनको लागि उनी अहिले नेपाल भ्रमणमा निस्किएका छन् । गत वैशाख ९ गतेबाट साइकल यात्रा सुरु गरेका पराजुली अहिले ५५ औँ जिल्लाको रुपमा गुल्मी आइपुगेका छन् । ‘भोजपुरको खुकुरी बचाऔँ’ अभियान लिएर २१ बर्षिया पराजुली देश भ्रमणमा निस्किएका हुन् । ‘भोजपुरको खुकुरी बनाउने सीपयुक्त जनशक्ति घटिरहेको छ, जसले गर्दा खुकुरी पनि लोप हुने अवस्थामा छ ।’ उनले भने, ‘नयाँ पुस्तालाई त्यसको महत्व बुझाउन तथा खुकुरीप्रति प्रेरण जागृत गर्ने उदेश्यले देशब्यापी भ्रमणको सुरुवात गरेको हुँ ।’

गत बैशाखमा गौतम बुद्ध जन्मस्थल लुम्बिनी पुग्दा उनीसँग एकजना टर्की पर्यटकको भेट भयो । कुराकानी हुँदै गर्दा ‘म टर्कीदेखी आएको हुँ, तिमि आफ्नै देशको पनि भ्रमण गर्न सक्दैनौँ ?’ भनी प्रश्न समेत गरे । त्यसपछि पराजुली साइकल यात्रामा निस्कएका हुन् । वैशाखबाट यात्रा सुरु गरेका उनले आउदो वैशाखसम्म ७७ वटै जिल्लाको भ्रमण पुरा गर्ने लक्ष्य लिएका छन् ।

अहिलेसम्म गोरखाको गोरख कालिकाको मन्दिर र ताप्लेजुङको पाथीभरा माई संरक्षण समितिले आफ्नो स्थानमा आउने पहिलो साइकल यात्री भनी प्रमाण पत्र समेत दिएको उनले जानकारी दिए । यात्रामा हुने खर्च सामान्य सहयोगबाट चलेको छ । खान र बस्नको लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जहाँ अनुकुल हुन्छ, त्यहि हुने गरेको छ ।

साइकल फिर्ता गर्नु बाबुआमा गुमाए जस्तै हो
उनले यात्रा गरिरहेको साइकलको मूल्य एक लाख १८ हजार रुपैँया पर्ने उनले दाबी गरे । उक्त साइकल काठमाडौस्थित पञ्चअष्ट नारायण साइकल स्टोर्स, जमलका संचालक टेक मानन्धरले प्रदान गरेका हुन् । तर यात्रा सम्पन्न भएपछि साइकल फिर्ता गर्नुपर्ने उनले बताए ।

‘नेपाल भ्रमणमा सघाउने यो साइकल फिर्ता गर्नु भनेको बाबुआमा गुमाएजस्तै हो ।’ उनले भने, ‘सकेसम्म यसको मूल्य दिन पाए हुन्थ्यो ।’ आफूसँग त्यो रकम नभएकोले दाताको अपेक्षा गरेको उनले बताए । उनी कक्षा १२ मा पढ्दै छन् ।

भोजपुरमा खुकुरीको ब्यापार राम्रोसँग हुने गरेको छ । उनका अनुसार सक्कली खुकुरीले डलर सिक्का काट्दा पनि खुकुरीको धार मेटिदैँन । तर पछिल्लो सयम भोजपुरमा नक्कली खुकुरीको विगविगि छ । त्यहि विगविगिलाई हटाई स्वस्च्छ खुकुरीको निर्माण र प्रचार गर्ने उदेश्यले उनी साइकल यात्रामा निस्किएका हुन् । ‘पढ्दै गर्दा मलाई आफ्नै जिल्लाको नाम र खुकुरी चिनाउन मन लाग्यो ।’ आफूसँग भएको खुकुरी देखाउदैँ भने, ‘यो खुकुरी अहिले लोप हुन थालेको छ, यसलाई बचाउने मेरो उदेश्य हो ।’ ‘नेपाल पिस साइकल टुर’ लेखिएको ब्यानर साइकलमा टाँसेर उनी नेपाल भ्रमणमा निस्किएका छन् ।

एक दुर्घटना
तेह्थुमको आठराई गाउँपालिका २ भोटेखोसिमा साइकल नराम्ररी दुर्घटना भएको उनी स्मरण गर्छन । ‘बाटोबाट म करिब २० मिटर तल र मबाट साइकल करिब २० मिटर तल झ¥र्यो ।’ उनले स्मरण गर्दे भने, ‘स्थानीयले उद्धार गरी प्रहरीले उपचार गरायो ।’

१५ पर्यटकिय ठाउँको प्रचार
एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा सकेसम्म हाइवेभन्दा गाउँको बाटो हिड्ने गरेको उनले बताए । यात्राका क्रममा उनले आफ्नो मोबाइलमा रहेको भोजपुर जिल्लाका पर्यटकिय स्थलको फेटो देखाउदैँ त्यसको बर्णन गरेका छन् ।

यात्रामा भेटिएकालाई उनले भोजपुर घुम्न जान भनी आग्रह समेत गर्छन । उनले १५ वटा पर्यटकिय ठाउँको नाम लेखेर प्रचार–प्रसार गरिरहेका छन् । सिलिचुङडाँडा, साल्पा, सिलिचुङ दोभान, हतवागढी रानीबास, नागछाया, कटुञ्जे झरना, अरुण भ्याली, देहरवादी बुद्धविहार, बुद्धविहार टक्सार, भोजपुर दिइला, सिद्धिकाली मन्दिर र तीनधाराको प्रचार गर्दै हिडेका छन् । भोजपुरमा शेर्पा नाच, तामाङसेलो, मगरनाच, लाखेनाच, साखेवा नाच, गुरुङ नाच लगायतका नाच समेत प्रचलित रहेको उनले बताए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker