काठमाण्डौं, १० साउन । गुल्मीको सत्यवती गाउँपालिका–४ लुम्पेक र लिम्धामा मङ्गलबार गएको पहिरोमा परेकालाई सहयोग गर्नका लागि काठमाडौँमा रहेका गुल्मेली राहत सङ्कलनमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट गुल्मी–काठमाडौँ सम्पर्क मञ्चले एक भेला गरी राहत सङ्कलनमा जुट्न आग्रह गरेको हो ।
भेलाले श्रीप्रसाद पाण्डे र शङ्कर भण्डारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । भेलाले सरकारलाई राहत उपलब्ध गराउन, दीर्घकालीन व्यवस्था गर्न र काठमाडौँमा रहेका गुल्मेलीलाई राहत सङ्कलनमा गर्न आग्रह गरेको नेकपाका गुल्मी इञ्चार्ज एवं प्रदेश सांसद दिनेश पन्थीले जानकारी दिए ।
भेलामा रु सात लाख सङ्कलन गरिएको राजेन्द्र अर्यालले जानकारी दिएका छन् । भेलामा पूर्वसांसद फतिक थापाले विपद्को घडीमा सबैले सहयोग गर्नुपर्ने बताए । मङ्गलबार गएको पहिरोमा परी १३ जनाको ज्यान जानुको साथै ६०० घरपरिवार विस्थापित भएका छन् ।