जिल्ला समाचार

कर्मचारी अभावले सरकारी कार्यालयमा ताल्चा, सेवाग्राही धाउँदै फर्किँदै

हुमाकान्त पोखरेल
गुल्मी, ०३ चैत । कर्मचारी अभावले गुल्मीको एक सरकारी कार्यालय बन्द भएको छ । ५ नम्बर प्रदेश अन्तरगत रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाको सम्पर्क केन्द्र फागुन २८ गतेदेखि बन्द भएको हो ।

कार्यालय प्रमुख डिल्लिराज मरासिनी कार्यालय नै बन्द गरेर सामाग्री हस्तान्तरणका लागि विभिन्न स्थानीय तहमा गएसँगै कार्यालय बन्द अवस्थामा छ । फागुन २८ र २९ गते इस्मा गाउँपालिकामा सामाग्री हस्तान्तरण गर्ने भएकोले कार्यालय बन्द रहने सुचना बाहिर गेटमा टाँसेपनि त्यसयताको कुनै सुचना टाँस गरिएको छैन । जसले गर्दा सेवाग्राहि कार्यालय धाउदैँ–फर्कदै गर्न बाध्य छन् ।

कार्यालयमा हाल गोबर जाँच लगायतका प्राविधिक काम हुन्छन् । तर कर्मचारी नै ताल्चा लगाएर हिडेपछि सेवाग्राहि मर्कामा परेका छन् । ‘भैँसीको गोबर जचाँउन आएको त कार्यालयको गेटमै ताल्चा लागेको रहेछ ।’ सेवा लिन पुगेकी रेसुङ्गा नगरपालिका ४ रैदीकी मिना मरासिनीले भनिन्, ‘आशा लिएर आएको निराशा बोकेर फर्किनुप¥र्यो ।’

सोहि ठाउँकी सारदा पन्थीले पनि कार्यालयमा ताल्चा लाग्दा आफु निराश भएको बताइन् । ‘बाख्राको लागि औषधी लिन आएको, यहाँ त ताल्चा पो रहेछ ।’ उनले भनिन्, ‘कर्मचारी जो भएपनि ताल्चा चाँहि नलगाउनुपर्ने हो ।’ सरकार र कार्यालयको यस्तो गलत हर्कतले आफुजस्ता धेरै सेवाग्राही मर्कामा परेको उनले गुनासो गरिन् ।

कार्यालय प्रमुख मरासिनीले कार्यालयमा आफू एक्लै भएकोले कार्यालय नै बन्द गर्नुपर्ने हिडेको प्रतिक्रिया दिए । ‘कार्यालयमा म एक्लै छु, सबैतिरको काम सक्नुपर्छ ।’ उनले भने, ‘म कतै हिड्नुपरे कार्यालय बन्द गर्नुपर्ने बाध्यता छ ।’ केहि दिनको सुचना निकालेर आफू बाहिर गएपनि धुर्कोट र मदाने जाँदा बिर्सेर सुचना ननिकालेको उनले बताए । उनले आफु सामाग्री हस्तान्तरणको लागि विभिन्न स्थानीय तहमा गएको बताए । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ बरिष्ठ चिकित्सक चन्द्र बहादुर रानाले कर्मचारी अभावले यस्तो समस्या सिर्जना भएको बताए ।

‘सबै ठाउँमा कर्मचारी अभावले समास्या छ ।’ उनले भने, ‘समायोजनपछि समस्याको केहि हदसम्म समाधान होला ।’ त्यसका साथै उनले अहिले सबै सेवा स्थानीय तहमा गइसकेकोले कार्यालयमा धेरै काम नहुने समेत स्पष्ट पारे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D