जिल्ला समाचार

एउटै विद्यालयमा दुईजना प्रध्यानाध्यापक

हुमाकान्त पोखरेल

गुल्मी, ३१ भदौ । सुन्दा अचम्म लाग्न सक्छ, एउटा विद्यालयमा दुईजना प्रध्यानाध्यापक छन् भनेर । तर जिल्लाको महेन्द्र नमुना माध्यमिक विद्यालयमा दुईजना प्रध्यानाध्यापक रहेका छन् । केशर बहादुर थापा पहिलेदेखि नै कामकाज गर्दै आएका प्रध्यानाध्यापक हुन । भने युवराज ज्ञवाली विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेका प्रध्यानाध्यापक । थापा शिक्षा नियमावली २०५९ को दफा ९३ अनुसार २०६५ असौज ९ गते व्यद्यालय व्यवस्थापन समितिको सिफारिसमा तत्कालिन जिल्ला शिक्षा कार्यालयको नियुक्तिमा प्रध्यानाध्यापक भएका थिए । भने ज्ञवाली गत साउन ९ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकबाट प्रध्यानाध्यापकमा नियुक्ति भएका थिए ।

केशर बहादुर थापा

ज्ञवालीलाई प्रअ बनाउने निर्णयलत्तै विद्यालय व्यवस्थापन समितिको निर्णयविरुद्ध शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिका सदस्यले नै नगरपालिकामा उजुरी दिएका थिए । नगरपालिकाले विद्यालय व्यवस्थापन समितिले प्रक्रिया विपरित ज्ञवालीलाई प्रध्यानाध्यापक बनाउने निर्णय बदर गर्दै केशर बहादुर थापालाई नै पुर्नबाहली गर्ने पत्र पठाएको थियो । तर विद्यालय व्यवस्थापन समितिले नगरपालिकाको निर्णयलाई अस्विकार गरेपछि विद्यालयमा दुईजना प्रध्यानाध्यापक भएका हुन् । विद्यालयको कामकाज युवराज ज्ञवालीले गरेपनि थापालाई उपलब्ध गराइएको पत्रमा भने हाललाई थापा नै प्रध्यानाध्यापक हुने उल्लेख छ ।

युबराज ज्ञवाली

महेन्द्र माध्यमिक विद्यालय २०७४ साल असार २५ गते नमुना विद्यालयमा रुपान्तरण भएको थियो । नमुना विद्यालय भएबापत विद्यालयले शैक्षिक तथा भौतिक क्षेत्रमा पाचँ बर्षमा ७५ करोड भन्दा बढी रकम खर्च गर्न पाउनेछ । जसमध्ये गत बर्ष डेढ करोड खर्च भइसकेको छ । यसै विषयलाई लिएर पछिल्लो समय महेन्द्र नमुना मावि विवादमा परेको छ ।

यसरी सुरु भयो विवाद

विधान र कानुन विपरित विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफु निकटको व्यक्तिलाई प्रध्यानाध्यापकमा नियुक्त गरिएको भन्दै शिक्षक अभिभावक संघका सदस्य कुलदिप थापा र विद्यालय व्यवस्थापन समिति सदस्य विजय लक्ष्मी बस्नेतले रेसुङ्गा नगरपालिकाको कार्यालयमा उजुरी दिएका दिए । नमुना माध्यमिक विद्यालय संचालन निर्देशिका २०७४ को सशोंधन २०७५ मा करारमा शिक्षक नियुक्त गर्न पाउने सम्बन्धी व्यवस्था छ । त्यसको लागि विद्यालय व्यवस्थापन समिति निर्देशन परिच्छेद ८ अनुसार प्रध्यानाध्यापक नियुक्त गर्दा तीन जनाको छनोट समिति बनाउनुपर्ने व्यवस्था छ । छनोट समितिले विद्यालय प्रस्ताव आह्वान गर्छ । त्यसमा उम्मेद्धार बन्ने व्यक्ति ५ बर्ष स्थायी सेवा गरेको, विकास प्रस्ताव र व्यक्तिगत विवरण गरी न्युनतम ७० अकं आएको हुनुपर्छ । तर सो नियमविपरित प्रध्यानाध्यापकमा ज्ञवालीलाई नियुक्त गरेको भन्दै नगरपालिकाले निर्णय बदर गरेको नगरप्रमुख डिल्लिराज भुसालले जानकारी दिए ।

आफैले हस्ताक्षर गरी प्रअ

महेन्द्र नमुना माविमा शिक्षक प्रतिनिधिसहित कुल ९ सदस्यिय विद्यालय व्यवस्थापन समिति छ । कुनै पनि व्यवस्थापन समितिमा प्रध्यानाध्यापक नियुक्त गर्दा बहुमत अनिवार्य हुनुपर्छ । उक्त निर्णयमा प्रअ हुने व्यक्तिले गरेको हस्ताक्षर मान्य हुँदैन । तर ९ गतेको बैठकमा विद्यालयका प्रध्यानाध्यापक थापा विदामा थिए । शिक्षक प्रतिनिधिको रुपमा ज्ञवालीले नै हस्ताक्षर गरे र अध्यक्षसहित पाचँ जनाको बहुमत बनाई ज्ञवाली प्रध्यानाध्यापक बने । अर्का प्रध्यानाध्यापक विदामा भएकोले उनले पनि राजिनामा दिएका थिएनन् । ज्ञवालीलाई प्रध्यानाध्यापक बनाउदा समितिमा उपस्थित अन्य तीन जना कम्युनिष्ट पार्टीमा आस्था राख्ने सदस्यले बैठक नै बहिस्कार गरेका थिए । पछि व्यवस्थापन समिति अध्यक्ष चुरामणी पन्थी, सदस्य अखिलेश्वर प्रसाद पाण्डे, घनश्याम पाण्डे र पार्वती गौतमले हस्ताक्षर गरी ज्ञवालीलाई प्र.अ. बनाएका थिए ।

उच्च अदालतमा रिट निवेदन

थापालाई प्रध्यानाध्यापक बनाउने नगरपालिकाको निर्णयलाई अस्विकार विद्यालय व्यवस्थापन समितिले ज्ञवालीलाई नै प्रध्यानाध्यापकमा कायम राख्यो । अर्का प्रध्यानाध्यापक थापाले भने आफु प्रध्यानाध्यापक हुन पाउने माग राख्दै उच्च अदालत बुटबलमा रिट निवेदन दर्ता गरेका छन् । रेसुगां नगरपालिका, जिल्ला शिक्षा तथा समन्वय इकाई, प्रअ ज्ञवाली, विद्यालय व्यवस्थापन समिति, छनोट समिति र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई विपक्षि बनाएर आफुले रिट निवेदन दर्ता गरेको थापाले बताए । उनले निवेदनको सुनुवाई असौज १ गते हुँदैछ । नगरपालिकालाई आफुले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको भनी विपक्षि बनाइएको छ । समन्वय इकाईलाई विद्यालयमा अन्याय हुँदा मुखदर्शक बनेको, व्यवस्थापन समिति, छनोट समिति र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई गलत प्रक्रियाबाट आफुलाई हटाइएको तथा ज्ञवालीलाई गलत प्रक्रियाबाट प्रध्यानाध्यापकमा नियुक्त भएको रिट निवेदनमा उल्लेख छ । यससम्बन्धमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुडा पन्थीले अदालतमा रिट निवेदन परेकोले आफुले कुनै प्रतिक्रिया नदिने बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D