जिल्ला समाचार

उपभोक्ता सचेत बनाउदै मालिका गाउँपालिका

टोपलाल अर्याल
गुल्मी, ५ पुस । गत बर्ष प्रक्रियाका कारण उपभोक्ता समिती र गाउँपालिकामा समेत समस्या भएपछि मालिका गाउँपालिकाले सचेतना कक्षा सम्पन्न गरेको छ । अहिले योजना सम्झौता अगाडीनै उपभोक्ता समितिलाई योजना सम्झौता र भुक्तानी प्रक्रियाका बारेमा अनुशिक्षण संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए ।

गत बर्ष बैंक पनि गाउँमा नभएको र झन्झटिलो भुक्तानी प्रक्रियाकै कारण ५० हजारको योजनाको भुक्तानी लिन धेरै उपभोक्ता समितिले सास्ती खेपे । सोही कुरालाई मध्ये नजर गर्दै योजना सञ्चालन गर्ने समयदेखि अन्तिम समयसम्म उपभोक्ता समितिहरुलाई अप्ठ्यारो भएकोले पुन तालिम प्रदान गरिएको पोखरेलले बताए । गाउँपालिका प्रमुख रित बहादुर थापाले राम्रो काम गर्ने उपभोक्ता समितिलाई सम्मान तथा पुरस्कृत गर्ने तथा काम नगर्ने समितिलाई कारबाहीको प्रक्रियामा लगिएको बताए । उनले उपभोक्ता समितिका पदाधिकारी पनि निर्वाचित जनप्रतिनिधि जस्तो जनताबाट छनोट हुने भएकाले काममा गुणस्तरीयता र पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै उपप्रमुख देवा अर्यालले सानो लोभमा आफ्नो र गाउँपालिकाकै इज्जत धुमिलो गराउने काम नगर्न उपभोक्ता समितिका पदाधिकारीलाई अनुरोध गरिन । गाउँपालिकाका सब इन्जिनियर डिल्लीराज खनालले प्राबिधिकको सुझाव र इस्टिमेट बिना काम गरेर बिग्रेपछि गुहार माग्ने प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताए । उनले आफुले गाउँपालिकाका उपभोक्तालाई थप सजिलोका लागि इस्टिमेट समेत नेपालीमा बनाउन थालिएको बताए ।

उपभोक्ता समितिहरुका अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा सम्बन्धित वडाका वडाध्यक्षसहितका जनप्रतिनिधीलाई प्राविधिक पक्ष तथा योजनाको गुणस्तर, समन्वय, कागजी प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको हो । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, इन्जिनियर र लेखा शाखाको टोलीले योजना सम्झौतादेखि भुक्तानी प्रक्रियासम्मको बारेमा जानकारी दिएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D