जिल्ला समाचार

ईस्मा गाउँपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

हुमाकान्त पोखरेल, गुल्मी
२७ फागुन । इस्मा गाउँपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा सुकर्म मिडिया प्रा.लि.को सहजिकरणमा आइतबार सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले यसै आर्थिक बर्षको कुल योजना, सम्झौता भएका योजना, भुक्तान भइसकेका योजना तथा सम्झौता र भुक्तान हुन बाँकि योजनाहरुको बारेमा जानकारी गराएका थिए । उपस्थित सेवाग्राहीले भने गाउँपालिकाको विकास निर्माण, जनप्रतिनिधीका आचरण, गाउँपालिकाको शिक्षा, स्वास्थ्य लगायतका बिषयमा जिज्ञासा राखेका थिए ।

‘गाउँपालिकाले चुरा बनाउने, सिलाईकटाई लगायतका थुप्रै सिपमुलक तालिम संचालन ग¥र्यो, तर एउटै व्यक्ति धेरै तालिममा सहभागि भए ।’ इस्मा गाउँपालिका ५ का रामप्रसाद पन्थले भने, ‘उनीहरुले न त व्यवहारमा सिप उतार्न सके, न त अरुलाई नै अवसर दिए ।’ अबदेखी गाउँपालिकाले एक व्यक्तिलाई एउटा मात्र सिपमुलक तालिममा सहभागि गराउनुपर्ने नीति बनाउन आग्रह गरे । इस्मा गाउँपालिका २ का कुल बहादुर कुमालले चुनावी प्रतिवद्धता पुरा गर्न आग्रह गरे ।

‘चुनावताका भाषण गर्दा एक घर–एक धारा भन्नुहुन्थ्यो, तर अझै पनि एक गाग्रो पानी लिन एक घण्टा लाग्छ ।’ उनले भने, ‘निर्वाचनमा दिएका आश्वासन पुरा गर्नुप¥र्यो ।’ इस्मा १ का शेर बहादुर कुँवरले रेडक्रसलाई गाउँपालिकाले ओझेलमा पारेको गुनासो गरे ।

त्यसका साथै उनले विकास निर्माणमा उचित प्रणालीको अभाव भएको समेत आरोप लगाए । त्यस्तै चन्द्र बहादुर महतले जनप्रतिनिधीहरु डोजरमा संलग्न भएको, आयुर्वेदीक औषधीमा मिति बिनाको औषधी बाँडिएको जस्ता अनियमितता भएकोले सहज हुन आग्रह गरे । सुनुवाईमा उठेका जिज्ञासाहरुको गाउँपालिका अध्यक्ष लक्षमण विष्ट, उपाध्यक्ष बिमला खत्री तथा सम्बन्धित वडाका वडाध्यक्षहरुले जवाफ दिएका थिए ।

अध्यक्ष विष्टले ‘एक घर–एक धारा’ अभियान संचालन भइरहेकोले आफ्नो कार्यकालभित्र सबै घरमा स्वच्छ पिउनेपानीको धारा पुग्ने आश्वासन दिए । त्यस्तै गाउँपालिकाले महिला लक्षित कार्यक्रम ल्याएपनि महिलाहरुले नै तालिम लिन इच्छ्या नदेखाएकोले अधिकाशं दोहोरीएको प्रतिक्रिया दिए । उनले आगामी एक बर्षपछि गाउँपालिकाका सबै करार तथा निजि शिक्षकहरु हटाउने, मदिरा नियन्त्रणमा गाउँपालिका थप कडाईका साथ लाग्ने पनि प्रतिवद्धता व्यक्त गरे । त्यसका साथै आयुर्वेदीक औषधी, जनप्रतिनिधीको डोजरमा संलग्नता लगायतका गम्भिर बिषयमा आफुको ध्यान गएको भन्दै छिटै त्यस्ता समस्याको समाधान गरिने पनि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सबै वडाका वडाध्यक्षहरु, गाउँपालिकाका विषयगत शाखाका प्रमुखहरु लगायत स्थानीय बुद्धिजिवी तथा सेवाग्राही नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम गाउँपालिका प्रमुख विष्टको अध्यक्षता तथा सुकर्म मिडिया प्रा.लि.को तर्फबाट शिव सुवेदी, टोपलाल अर्याल र हुमाकान्त पोखरेलको सहजिकरणमा सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker