जिल्ला समाचार

असार बित्नै लाग्दा पनि गुल्मीमा खानेपानीको समस्या

सन्तोष महतारा
असार २०, गुल्मी । असार लागेसँगै बर्षायाम पनि सुरु भयो । तर बर्खा लागे पनि गुल्मीका केही ठाउँमा भने खानेपानीको चरम समस्या हुदै आएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तीघाट बजारमै पनि खानेपानीको चरम समस्या रहिआएको छ । त्यति मात्रै होइन त्यस क्षेत्र आसपासमा खानेपानीको समस्या नै रहेको छ ।

त्यस्तै गुल्मीमा इस्मा गाउँपालिका , मालिका गाउँपालिका तथा रेसुङ्गा नगरपालिकाका केही विकट ठाउँमा पनि अझै खानेपानी डोको र गाग्रोमा बोक्नुपर्ने अवस्था रहेको छ ।

गुल्मीमा १२ वटै स्थानीय तहका अलिक बिकट मानिने ठाउँमा खानेपानीको समस्या हुँदै आएको छ । असारको अन्तिम बर्खामा पनि कुनै ठाउँका डोको र गाग्रोमा पानी बोकेर खानुपर्ने अवस्था रहेको छ । कुनै ठाउँमा आकाशेपानी ट्याङ्कीमा राखेर बर्षौँ त्यही पानी प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । गुल्मीको सदरमुकाम तम्घासमा पनि चाहिएजति पानी खर्चिन सक्ने अवस्था अझै रहेको छैन ।

केहीतल नदि छ, तर बजारमा खानेपानी समस्या

गुल्मीको कालीगण्डकी गाउँपालिकामा भने पानी नभएको भने होइन,तर ब्यबस्थापन भने हुन सकेको छैन । पुर्तीघाट स्वास्थ्य चौकी प्रमुख कमला सुनादी मगरले केही तल नदि नै बगेको छ तर बजारमा खानेपानी समस्या हुनु निकै दुखद बिषय बनेको बताउनुभयो । उहाँले स्वास्थ्य चौकीमा बिरामीलाई खानेपानी बोकेर लिएर खुवाउनु पर्ने अवस्था रहेको बताउनुभयो । साथै त्यहाँका स्थानियहरुले केहि तल नदी बग्नु,बगेको आवाज पनि सुनिनु तर बजारमा खानेपानी समस्या हुदाँ आक्रोस ब्यक्त गरेका छन् ।

तर कालीगण्डकी गाउँपालिकाले भने खानेपानी समस्या समाधान गर्न आफुहरु लागि परेको प्रतिक्रिया दिएको छ ।

गाउँपालिकाले आफ्नो कार्यालयमा पनि खानेपानी समस्या नै भएकोले ध्यानाकर्षण भएको बताएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्र बहादुर थापाले खानेपानीको समस्या समाधान गर्न गाउँपालिका लागि परेर अगाडि बढ्ने बताए ।

गुल्मीका केही ठाउँमा मात्रै बर्खामा पनि खानेपानीको समस्या हुँदै आएतापनि हिउँदमा भने अधिकांश ठाउँमा खानेपानीको समस्या रहँदै आएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D